भुल
शारीरिक यौवनले हृष्टपुष्ट भएकी उसलाई सबैले
बिन्दिया भनेर बोलाउँछन्। सबैकी बिन्दिया थिई। एक गरिब परिवारमा जन्मिएकी भए
पनि गाउँका सबै युवाहरुले बिन्दिया भनेपछि नचिनेको कसैले हुँदैनथ्यो। उसको
सुन्दरताको कारण सबैजनाको नजर बिन्दियामा परेको थियो।
सबैको आकर्षण, यौवनले भरिपूर्ण थिई। उसलाई सबैजनाले देख्ने बित्तिकै आकर्षित हुन्थे। सबैसँग हाँसेर बोल्ने गर्थी। आर्थिक सङ्कट र गरिबीले गर्दा माध्यमिकसम्म मात्रै उसको पढ़ाइ सीमित रह्यो। कलेज पढ्ने उसको चाहना अधुरो थियो। गाउँघरमै घाँस-दाउरा काटेर जीविकोपार्जन गर्न विवश बनेकी थिई।
विवाह गरेर पराइ घर जाने सपना पनि उसको अधुरो थियो। घरमा बुबा-आमालाई हेर्ने कर्तव्य पनि उसको थियो । सङ्गैका साथीहरू चिटिक्क परेर हिँड्ने गर्थे । सिङ्गार-पटारमा सजिएर हिँड्ने गर्थे। तर विडम्बना उसँग सिङ्गारका सामानहरु थिएनन्। सिङ्गार-पटार नगरेपनि अरु युवतीभन्दा राम्री देखिन्थी। राम्रो खानु-लाउनु रहर त सबैलाई हुन्छ। तर पनि मेलापात गएर आएको पैसाले हात मुख जोर्न पनि साह्रो परेको थियो ।
गाउँघरका युवतीहरु फिल्म हेर्न जान्थे। उ पनि लुकिछिपी साथीहरूको सङ्गतमा लागेर फिल्म हेर्न जान्थी। साथीहरुको सङ्गतले उसलाई उताउली बनाइसकेको थियो। अरुले लगाएर हिँड़दा फेशनवाला लुगाहरुले उसलाई मोहित बनाउने गर्थ्यो। आफ्नो शरीर हेर्दै ऐना हेरेर लजाउँथी । उसलाई पनि बैसालु यौवनले छोएको भान हुन्थ्यो ।
यस्तैमा एकदिन घरबाट पर जङ्गलमा घाँस काटन गएकी थिई। प्राकृतिक दृश्यहरु अनि उसको बैसालु मनको गुनगुन आवाजले जङ्गल सङ्गीतमय भएको थियो। अचानक! गाउँको जमिन्दार साहेबका छोरा रमेश पनि काठमाडौंबाट त्यही बाटो भएर फर्किरहेको थियो ।
यो सुनसान जङ्गलमा सुन्दरी
बिन्दिया देख्दा कसको मन मोहित नहोला र! उ चुपचापसँग बिन्दियातिर बढ़न थाल्यो। एकछिन थकाई मार्ने बहानामा उसँग जिस्किनु थाल्यो।
बिन्दियाले सोधी - "काठमाडौंमा बसाई कस्तो भयो नि ......? "
रमेश ले भन्यो - "राम्रो भयो नि!"
बिन्दिया पनि के कम मस्कीमस्की रमेशसँग कुरा गर्न थाली।
"अनि यसरी जङ्गलमा एक्लै घाँस काटन आउनु तिमीलाई डर लाग्दैन.....?" जिस्काउँदै सोध्छ रमेश ।
"मलाई खानुको लागि ठूलो आँट पनि हुनुपर्छ नि!" नशालु ओँठ चलाउँदै बोली बिन्दिया।
"ठूला ठूला मान्छेहरू कहिले आउँछन् । कहिले थाहा हुँदैन । हामीलाई हैन ! बिन्दिया म विन्टरको छुट्टीमा आफ्नो गाउँ आएको नि। तर तिमीलाई त म सधैँ सम्झिरहन्थेँ नि!" उसको नजिकै गएर रमेश बोल्यो।
"हैन, मुखले किन चेपारो पारेको होला नि?" बिन्दिया नशालु बन्दै गई। फेरि बोली - "अनि सम्झिएको भए हुन्थ्यो अनि खोई मलाई मायाको चिनो?"
बालपनदेखि उनीसँगै जन्मे हुर्केकी तर परिस्थितिले रमेशसँग छुट्टिनु पर्यो। आर्थिक अवस्था कमजोरको कारण बिन्दियाले पढ़न सकिन।
अनि रमेशले भन्छ - "मैले तिमीलाई मायाको चिनो ल्याइदिएको छु । तिमी आँखा बन्द गर न त!"
आँखा बन्द गरिसकेपछि रमेशले उसलाई अङ्गालोमा बाँधेर गालामा चुम्मा खान्छ।
"छ्या,यो रमेश ! कसैले देखेको भए.....!" रातो पिरो भएर बिन्दिया बोल्छे।
"माया त साटा साट गर्नु पाइन्छ नि, म तिमीलाई हृदयबाट माया गर्छु" रमेशले भन्छ।
तब बिन्दिया बोल्छे नशालु ओँठ चलाउँदै - "माया पनि यसरी गर्ने त .......!"
"अनि कसरी गर्ने नि!" अङ्गालोमा बेह्र्दै रमेश बोल्छ।
"कुनि त मलाई के थाहा? शहर बस्नेलाई पो थाहा हुन्छ।" बिन्दिया बोल्छे।
अनि दुईजनाबीच मायाको होड़बाजी नै चल्छ। रमेश पनि भर्खरै यति राम्री बिन्दिया पाएकोमा फेरि उसलाई अङ्गालोमा बाँधेर छातीमा टाँस्छ।
केही क्षणपछि रमेशले केही सोच्यो। गोजीबाट एक हजार रुपैयाँको नोट निकालेर बिन्दियालाई हातमा दिन्छ र बिन्दियाको हात छोड़ी आफ्नो बाटो लाग्छ।
दिनहरु बित्दै जान्छन्। उसको घाँस-दाउरा मेलापात गर्दै दिन बित्छ । उसलाई याद आउँछ। रमेशले माया गरेको याद आँखामा झलझली आउँछ। मनमनै कल्पना गरेर सधैँभरि यस्तै हुन पाए भन्दै मस्किन्छे ।
अचानक! बिन्दियाको बानी व्यवहारमा पनि परिवर्तन हुन्छ। एककान दुईकान हुँदै गाउँका युवाहरुले यो कुरा चाल पाउँछन्। युवाहरुले पनि उसको शिकार गर्नु पुग्छन् । उसको आफ्नो रहरहरू पनि पूरा हुँदैछन्। यस्तै समयको परिवर्तनसँगै उसको आफ्नो व्यवसाय देहव्यापार हुन पुग्छ । गाउँघरतिर सबैजनाले उसलाई हेला गर्छन्।
उसलाई थाहै भएन-बैसालु मन अनि यौवन सन्तुष्टिको चाहनाले आज उसको व्यवसाय नै देहव्यापार हुन पुगेछ। यादै भएन एउटा सानो भुलले आज उसको जीवन बेहाल भएको छ। कर्कलाको पानी जस्तै जीवन चलिरहेको छ ।

No comments:
New comments are not allowed.