15 Aug 2026

अमर सेनानी शहीद दलबहादुर गिरी




 
अमर सेनानी शहीद दलबहादुर गिरी

दलबहादुर गिरी दार्जिलिङ क्षेत्रका एक साहसी, राष्ट्रप्रेमी तथा भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय योगदान पुर्‍याउने स्वतन्त्रता सेनानीका रूपमा स्मरण गरिन्छ। उनी राजनीतिक आन्दोलनका सहभागी , समाजमा राष्ट्रिय चेतना फैलाउने, युवाहरूलाई स्वतन्त्रताको अभियानमा प्रेरित गराउने व्यक्ति थिए। उनको राजनैतिक सोचलाई कदर गर्दै त्यसताक उनलाई पहाड़ी गाँधी भनी सम्बोधन गरिन्थ्यो।  

दलबहादुर गिरीको जन्म सन् 1887-मा चोक बजार, दार्जिलिङमा भएको हो।उनी अल्पभाषी, मेहनती, अनुशासित र मिलनसार स्वभावका थिए। सानैदेखि उनको शिक्षाप्रति झुकाउ थियो र नै इन्ट्रेंस परीक्षा उतीर्ण हुनेबित्तिकै आफ्नै स्कूलमा केही समय शिक्षिकको रुपमा काम गरे। शिक्षकको पेशापछि जलपहाड़मा गोर्खा स्टेसन स्टाफ अस्पतालमा क्लर्क भए। उनले कामबाट फर्केर यताउता नबराली गोर्खा युनियन लाइब्रेरीमा मन्त्री भएर सेवा गरे। केही समय सिक्किमलाई कर्म क्षेत्र पनि बनाएका थिए। त्यहाँको एकजना कर्मचारीको अभद्र व्यवहारले उनको स्वाभिमानमा चोट पुऱ्याएकोले उनी आफ्नो ठाउँमा फर्के।  

त्यतिबेला भारत ब्रिटिश शासनको अधीनमा थियो। विदेशी शासनका कारण जनताले अनेक प्रकारका आर्थिक, सामाजिक र राजनीतिक विभेद सहनुपरेको अवस्था थियो। उनले महात्मा गाँधी, नेताजी सुभाषचन्द्र बोस, जवाहरलाल नेहरू तथा अन्य नेताहरू भारत स्वतन्त्रताको आन्दोलनमा सक्रिय भाग लिइरहेका थिए। तिनीहरूको विचारबाट उनले पनि स्वतन्त्रता सङ्ग्राममा सहभागी हुने प्रेरणा पाए। दार्जीलिङ, कालिम्पोङ र वरपरका क्षेत्रमा पनि स्वतन्त्रताको लहर फैलिरहेको थियो। विशेषगरी उनलाई गाँधीको अहिंसात्मक सत्याग्रहको सिद्धान्तले आकर्षित पारेको थियो। उनी कलकत्ता अधिवेशनमा सामेल भए। त्यहाँबाट फर्केर दार्जीलिङमा काङ्ग्रेसको सक्रिय प्रचारक भएर उनले स्वतन्त्रता आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे। उनले गाउँ–गाउँमा गएर जनतालाई विदेशी शासनको वास्तविकता बुझाउने, स्वदेशी वस्तुको प्रयोग गर्न प्रेरित गर्ने तथा स्वतन्त्रताको महत्त्वबारे सचेत गराउने कार्य गरे।उनले पेदोङमा जिल्ला कङ्ग्रेस कमिटिको प्रमुख कार्यालय स्थापना पनि गरेका थिए।

भारतीय राष्ट्रिय आन्दोलन तीव्र बन्दै जाँदा उनले विभिन्न सत्याग्रह, विरोध प्रदर्शन, जुलुस तथा जनसभाहरूमा सक्रिय भूमिका निर्वाह गरे। ब्रिटिश सरकारको दमनकारी नीतिको विरोध गर्दा धेरैपटक आन्दोलनकारीमाथि लाठीचार्ज, गिरफ्तारी र यातना दिइन्थ्यो। दलबहादुर गिरीले पनि यस्ता कठिन परिस्थितिको सामना साहसका साथ गरे। देश स्वतन्त्र नभएसम्म सङ्घर्ष जारी राख्ने उनको अठोट कहिल्यै कमजोर भएन।

स्वतन्त्रता आन्दोलनका क्रममा धेरै पल्ट उनले जेल जीवन पनि भोग्नुपरेका थिए। जेलभित्र एक पल्ट उनले सुभाषचन्द्र बोसलाई पनि भेटेका थिए। कठिन परिस्थितिमा रहँदा पनि उनको मनोबल कमजोर भएन तर उनले स्वास्थ्यबारे ध्यान दिन भुलिसकेका थिए। उनले भन्ने गर्थे,"मेरो देशको मुक्तिको चिन्ता सिवाय मेरो मनमा अरू विचार आउँदैन।" उनी व्यक्तिगत लाभभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिन्थे। किनभने उनी भन्थे, "भारत नै उनको घर र सम्पूर्ण भारतबासी नै उनको परिवार हो।"

दलबहादुर गिरीको व्यक्तित्वमा इमानदारी, निष्ठा, अनुशासन, साहस र सेवाभाव स्पष्ट रूपमा देखिन्थ्यो। यही गुण ब्रिटिस सरकारका लागि खतरनाक साबित हुनगयो अनि उनलाई जेलमा नै थुनेर छुटकारा नदिने आदेश जारी भयो। उनको आत्मबलले मात्र बाँचेको थियो तर शारीरिक अस्वस्थले अशक्त भैसकेको थियो।यस्तो दूरावस्थामा उनका हितैषीहरूले उनको अवस्थाबारे सोधपूछ गर्दा उनले यसो भन्ने गर्थे, "म कस्तो छु पछि भनुँला पहिले मलाई यो बताऊ मेरो देशको अवस्था कस्तो छ, आन्दोलन कहाँसम्म बढ़्यो" ? 

उनको स्वास्थ्यले गर्दा ब्रिटिस सरकारले उनलाई रिहा गर्न बाध्य भयो , तर उनको अवस्था अति शोचनीय भइसकेको थियो । जेलबाट छुटकारा भएर कालेबुङ आए अनि सन् 1923 मा उनले अन्तिम सास फेरे। 36 वर्षको उमेरमा उनले आफ्नो जीवन भारत स्वतन्त्रताका लागि आहुति दिए। उनको उत्सर्गलाई इङ्गीत गर्दै विजयलाल च्याटर्जी लेख्छन्, "थोरै बाँचेर धेरै गर्नेहरूमा दलबहादुर गिरीको स्थान प्रथम पङ्क्ति आउँछ।"

यस्ता स्वतन्त्रता सेनानीको सम्मानपूर्वक स्मरणमा कालेबुङमा एउटा सालिग स्थापना गरी थाना डाँड़ादेखि रेसि खोलासम्मको सड़कलाई शहीद दलबहादुर गिरी पथ भनेर कालेबुङका नागरिकहरूले नामाकरण गरेका थिए । तर पनि ठोस् काम हुन बाँकी नै छ।



15 अगस्ट 2026,वर्ष:1,ई-अङ्क:2