15 Sept 2026

व्यङ्ग्य


(तिख्खर व्यङ्ग्यकार चतुरे माइला कहिले काँही आफैलाई घोचेको जस्तै गर्दै अरूलाई घोच्ने कलामा पनि खप्पिस हुनुहुन्छ। तर जसलाई घोचिनु पर्ने हो उ नै घोचिदै घोचिएन भने अब चतुरे के दोष र!)

चतुरे माइला


चतुरे माइलाको भीष्मप्रतिज्ञा

चतुरे माइलाको खल्तीमा पैसा अड़िनु र जाड़ोमा घाम लामो समय अड़िनु उस्तै-उस्तै कुरा हो। साँझ बिहान मिहिनत-मजदुरी गरेर कमाएको कड़ा मिहिनेतको पैसा उनको गोजीमा पुग्नासाथ चिलाउन थाल्छ। कारण एउटै हो— लटरी! किनभने माइलालाई दृढ़ विश्वास छ कि एक दिन उनी करोड़पति बन्नेछन्। मिहिनत-मजुरी गरेर होइन तर लटरी जितेर करोडपति बन्ने उनको ठूलो सपना छ। त्यो "एक दिन" कहिले आउँछ, त्यो अर्कै कुरा हो; तर त्यो आशामा उनका कैयौँ वर्षहरू र भान्साको रासन हराइसकेको छ।

बिहान उठ्नेबित्तिकै माइला श्रीमती र छोरीको अनुहार हेर्छ। श्रीमतीको कड़ा आँखा र छोरीको निर्दोष अनुहार देखेपछि उनी आफ्नो छातीमा हात राखेर महाभारतको भीष्मप्रतिज्ञा जस्तै कसम खान्छ, "आज त छोरीको कसम! यो लटरीको मुखै हेर्दिनँ।बरू कमाएको पैसाले सुटुक्क छोरीलाई मीठो मिठाई र रासन बोकेर घर फर्किन्छु।"

यो बिहानको माइला हो— ज्ञानी, समझदार र आदर्श बाबु।

तर जब घाम अस्ताउँछ र माइलाको खल्तीमा दिनभरिको कमाइ परिणत हुन्छ, तब अर्कै 'चतुरे माइला' को जन्म हुन्छ। कामबाट फर्कँदा उनको दिमागले भन्छ, "घर जा, मिठाई किन्।" तर उनका गोड़ाहरू अर्कै ग्रहबाट नियन्त्रित भएझैँ हुन्छन्। गोड़ाले दिमागको आदेश मान्नै छोड्छन्। उनी नचाहँदा-नचाहँदै पनि लटरी पसलतिर 'अटो-पाइलट' मोड़मा घिसारिन्छन्। 

लटरी साहुले माइलालाई देख्नासाथ दुवै हात जोड़ेर स्वागत गर्छ, मानौँ कुनै देशको प्रधानमन्त्री आएको हो। आखिर साहुको घरको तिनै वटा तला त माइला जस्ताकै योगदानले बनेका हुन्!

"माइला दाइ, आजको बम्पर उपहार त तपाईँकै लागि कुरेर बसेको छ!" साहुले भन्छ।

माइला एकैछिन घोरिन्छन्। दिमागमा छोरीको मिठाई र बिहानको कसम टल्किन्छ। तर लटरीको पहेँलो र हरियो ढिकुटीको अगाड़ि त्यो कसम फिक्का बन्छ। उनी मनमनै तर्क निकाल्छन्, "आज मिठाई किनेर लैजानुभन्दा बरु भोलि लटरी जितेर छोरीलाई सिङ्गै मिठाईको पसलै किनिदिन्छु नि! आखिर बाबु त म ठूलै सोच राख्ने मान्छे हुँ!"

अनि छोरीको मिठाईका लागि छुट्याएको त्यो अन्तिम सयको नोट सुटुक्क साहुको हातमा पुग्छ र माइलाको हातमा आउँछ— एउटा कागजको टुक्रा, जसले उनलाई करोड़पति बनाउने होइन, तर फेरि एकपटक कङ्गाल बनाउने पक्का ग्यारेन्टी दिन्छ। 

रात पर्छ। खाली हात र निहुरिएको टाउको लिएर माइला घरको दैलोमा पुग्छ। छोरी दगुर्दै आउँछे, "बाबा! मेरो मिठाई?" 

माइला छोरीको टाउको सुमसुम्याउँदै गम्भीर स्वरमा भन्छ, "छोरी, मिठाई त सामान्य मान्छेले खान्छ। तेरो बाबाले त तेरो लागि सिङ्गै मिठाईको फ्याक्ट्री किन्ने तयारी गर्दैछ!"

भान्साबाट श्रीमतीको हातमा बेलना टल्किन्छ। माइला सुटुक्क ओछ्यानतिर लाग्छ र भोलिको नयाँ लटरीको नम्बर सपनामा खोज्न थाल्छ।

माइलाको जीवनमा हरेक दिन उही कथा दोहोरिन्छ— बिहानको भीष्मप्रतिज्ञा, साँझको लटरी-यात्रा, र रातिको फ्याक्ट्रीको गफ! लटरीले उनलाई धनी त बनाएको छैन, तर आशावादी भने यति बनाएको छ कि उनी भोकै पेट पनि करोड़पतिको सपना निर्धक्क देख्न सक्छन।

थाहा छैन यो चतुरेको चेत कहिले जाग्छ र यो बुझ्छ कि बिना मिहिनेत यो पाराले समृद्ध हुने सपना देख्नु भनेको आफ्नो गाग्री भरिने आशामा त्यसमा भएको पानी थोपा-थोपा अर्काको गाग्रीमा सार्नु मात्रै हो। आफ्नो गाग्री भरिए त ठीकै छ नत्र त्यो भरूञ्जेल मनको शान्ती र घरको खुशी गुमाउनु मात्रै हो।



15 सितम्बर 2026, वर्ष:1, वेबाङ्क:3



No comments: