15 Sept 2026

कविता

 

(हाल बेलायतमा बसोबास गरिरहन भएका नागरी कमानका सुवास प्रधान मुलतः रेडियोकर्मी हुनुहुन्छ। उहाँमा आकाशवाणी, खरसाङबाट  बाल कार्यक्रम, नाटक प्रसारणलगायत संसारका विभिन्न नेपाली रेडियोको सञ्चालक र प्रशिक्षकको अनुभव छ ।हिजोआज उहाँ आफ्नो पहिलो कविता सङ्ग्रह प्रकाशित गर्ने तरखरमा हुनुहुन्छ।)

सुबास प्रधान

आफ्नै जालमा फस्छ माकुरा

जून नउदाए पनि
आकाश रित्तिँदैन
ताराहरू नभए पनि
रातपर्छ।

तर

मान्छेलाई जून चाहिन्छ
ताराहरू
अनि आकाश पनि।

हो-

टिमटिमाउने ताराहरू जस्तै हुन्छन्

मान्छेका सपनाहरु

झरझर झर्ने झरना झैँ

उसका रहरहरु

तर मान्छेले बिर्सीबस्छ

आफैंले बुनेको सपनाको जालोमा

झिँगाभन्दा पहिला

माकुरा फसेको।

मान्छे अभाव आफैं जन्माएर
आफ्नो पासो आफैं थाप्छ

बुद्ध बिर्सिन्छ।

हे बुद्ध!

फेरि एकचोटि

सम्झाइदेऊ न मान्छेलाई-

हरेक तृष्णा एउटा प्रश्नहो
हरेक घाउ त्यसको उत्तर।



15 सितम्बर 2026 ,वर्ष:1, वेबाङ्क:3



No comments: