15 Sept 2026

कला

(रवीन्द्र राई कालेबुङको माटोसित जोड़िएका चित्रकार हुनुहुन्छ। उहाँको कलाकृतिले कथाहरू बताउँछ र हाम्रो वरिपरि रहेका परिदृश्य, संस्कृति र सम्पदासँग कुराकानी गर्छ। प्रत्येक खोँच, पहाड़ र उपत्यका, खोला, घर, संस्कृति र मानिसहरूको एउटा कथा हुन्छ जुन उहाँ आफ्ना क्यानभासमा कैद गर्ने प्रयास गर्नुहुन्छ।त्यसैले त  विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा  उहाँका चित्रहरू शानले प्रकाशित भएको पाउँछौँ। उहाँको चित्रकलाको एकल प्रदर्शनी पनि भएको छ।)

रवीन्द्र राई

चित्र अनि कला

"कवि कविता होस, कविता कवि होस् कविता तब पो हुन्छ, शब्द थुपारिकन के हुन्छ, भाव भए पो हुन्छ।"

 - पारसमणि प्रधान

कविले शब्दहरु थुपार्दैमा कविता बनिंदैन भने जस्तो रङ मात्रै प्रयोग गर्नाले त्यो चित्र कलाको रूप लिन सकिंदैन । कवितामा शब्दसित भाव भए मात्र कविता बनिन्छ त्यसरी नै एउटा चित्रमा रङसित भाव हुनपर्छ जसले एउटा चित्र कला बन्न जानेछ। चित्रमा 'भाव' छैन भने, लय, कथा, ड्रामा नभए एउटा फल्याट' (flat) चित्र मात्र बन्न सक्छ। कला सधैँ गतिशीलता , नाटककीय र भावनाले भरिपूर्ण हुनपर्छ। यसले मानिसको मन छुन्छ र गहिरो प्रभाव पार्छ । त्यसैले प्रसिद्ध लियोनार्डो भिन्सीले भन्नु हुन्छ :" कला कहिल्यै पूर्ण हुँदैन, केवल त्यागिन्छ।"  (Art is never finished only abandoned.) कला कलाकारको सोचमा मात्र सीमित रहँदैन, हेर्ने मानिस यानिकि दर्शकको भूमिका रहेको हुन्छ।

कला भनेको हेर्ने मानिसको आफ्नो सोच, अनुभव र भावनामा निर्भर रहने कुरा हो। चित्रमा प्रयोग भएको रङ र रेखाहरुले दर्शकहरूको मनमा शान्ति, खुशी वा पीड़ाको आभास गर्नु नै कलाको पहिचान हो। हरेक ब्रश वर्क (brush work), कलर हारमनी(colour harmony) - ले यो रचनालाई ज्यान दिन सक्नुपर्छ, तब त्यस चित्र एउटा उत्कृष्ट कलाको रुपमा देखिने गर्दछ । 

अर्को शब्दमा भन्नुपर्दा चित्रमा रङ मात्र छ भने त्यो एउटा साधारण सुन्दर नक्सा अथवा painting हुन्छ । तर चित्रकारले त्यस नक्सामा आफ्नो ब्रशले रङको माध्यमबाट भावना, कल्पना हाले त्यो साधारण चित्र कलाको रुपमा बदलिन्छ । त्यसमा एउटा कविता, एउटा कथा पाउने गर्दछ । सबैले शब्दहरु चलाउँछन्, वाक्य बनाउँछन् तर कवि र लेखकले मात्र शब्दमा प्राण, भावना भर्छन् अनि एउटा रचनाको जन्म हुन्छ ।  चित्रदेखि कला बनिने प्रक्रिया पनि यही नै हो भनेर बुझ्नुपर्छ। चित्रमा पनि प्राण हालेर कला (art)-को रूप जन्माउनु सक्नुपर्छ । यसको लागि अभ्यास संरचना र निरन्तर अभ्यासको खाँचो छ। प्रायः सबैले नै साधारण गाड़ी ड्राइभिङ गर्छन् तर फर्मुला वान (Formula One) रेसिङ‌का लागि भिन्दै विशेष ड्राइभिङ सीपको  आवश्यकता पर्छ। दुवै ड्राइभिङ नै हो । गाड़ी त सबैले चलाउँछन् तर, रेसर बन्न असाधारण कला, गति र संयमको दक्षता चाहिन्छ। बोल्न र लेख्न सबैले जान्दछन्, तर मर्मस्पर्शी शब्द‌मार्फत भावानालाई जीवन्त पार्ने काम केवल कवि, लेखकले सिर्जना गर्न सक्छ ।

त्यसै गरी कागज, क्यानभासमा रङ पोत्दैमा कोही कलाकार हुँदैन, त्यसका लागि भाव, संरचना र निरन्तर अभ्यासको खाँचो हुन्छ। "चित्रकार आफूले देखेको कुरा कोर्छ, तर कलाकारले चाहिँ तपाईंले के हेर्नुहोस् भन्ने कुरा कोर्छ।" यही नै चित्र अनि कलाको भिन्नता हो।



15 सितम्बर 2026 ,वर्ष:1, वेबाङ्क:3



2 comments:

  1. सुन्दर लेख। बधाई सर।

    ReplyDelete