15 Sept 2026

पुस्तक



(निबन्ध लेखनबाट साहित्यमा प्रवेश गर्नुभएको डा. इन्द्रबहादुर छेत्री कथाकार, निबन्धकार, समालोचक र सम्पादकको रुपमा परिचित हुनुहुन्छ। उहाँका आठवटा पुस्तकाकार कृति प्रकाशित भइसकेका छन्।)
डा° इन्द्रबहादुर छेत्री

'घुमफिर'-मा घुमफिर गर्दा

प्रस्तुत पुस्तक संस्मरणात्मक नियात्रा सङ्कलन हो। यस सङ्ग्रहमा दसवटा यात्रापरक शीर्षकहरू, 'रामनवमीको दिन फूलतरुलको रक्सी', 'अहो पाँच पोखरी,' 'लैती तरेर', 'सोमबारेदेखि बुधबारेसम्म', 'सौरेनी पाखा', 'पूर्वोत्तरतिर', 'लुखुर लुखुर डिग्बोइतिर', 'फन्को मार्दै', 'लाभा रचेला', 'सौरेनीको सिमलतरूल र छुर्पीको अचार' रहेका छन्। यस 'घुमफिर' संस्मरणात्मक निबन्धमा सङ्कलित रामनवमीको दिन फूलतरुलको रक्सीमा वर्णन गरिएका चराचुरुङ्‌गीको आवाज र श्री किरातको बास भूमि, उत्तरे गाँउ, गोरूबथानको टार, स्थानीय स्थानबाट सुरुवात भएको छ। लेखक साथीहरूसित यात्रामा निस्कन्छन्। बाटोमा भेटिने गाउँ, वनबस्ती, डाँड़ा, खोला, झरना, र पुराना धार्मिक स्थललाई आँखाको नजिकबाट चिहाएर आत्मीय ढङ्‌गमा पाठकसमक्ष प्रस्तुत गरेका छन्। खारखोला वनबस्ती, दालिम बस्ती, पुरानो माने, फारस बस्ती, सौरेनी छाँगो, चट्टानबाट झर्ने झरनाआदिको उल्लेखले दार्जीलिङ, डुवर्स क्षेत्रको स्थानीय भूगोल र प्राकृतिक सौन्दर्यको स्पष्ट चित्रण-वर्णन गर्न सफल भएको छ भन्न सकिन्छ। प्रस्तुत निबन्धको विशेषता के रहेको छ भने लेखकले केवल ठाउँको नाम मात्र उल्लेख गरेका छैनन्, तर त्यहाँको दूरी, बाटोको अवस्था, अघिल्लो यात्राको स्मृति र स्थानीय व्यक्तिहरूसित जोडिएका प्रस‌ङ्गहरूसमेत उल्लेख गर्न चुकेका छैनन्, जसले गर्दा नियात्रा तथ्यपरक, स्मृतिमूलक र अनुभूतिपरक बनाएको छ।
यस अंशको अझ महत्त्वपूर्ण विशेषता हास्य-व्यङ्ग्य र सहयात्रीहरूबीचको आत्मीय सुमधुर सम्बन्धको वर्णन-चित्रणले यात्राक्रममा सजीवता भरेको छ। रत्न सर गोबरमा चिप्लिएको प्रसङ्ग र त्यसलाई लिएर गरिएको 'सभापति त गोबरमा थिए' भन्ने व्यङ्ग्यले यात्रालाई रोचक र सजीव तुल्याएको पनि छ। यस्तैगरी आन्दोलन र आन्दोलनबाट स्वार्थसिद्ध गर्नेहरूको प्रस‌ङ्गबाट शोषितवर्गको राजनैतिक अवस्थाबारे पनि प्रकाश पारेका हुनाले लेखकले नियात्रालाई केवल प्रकृति वर्णनमा मात्र सिमित राखेका छैनन्। यस निबन्धमा सामाजिक र राजनैतिक चेतनात्मक तत्वहरू पनि घोलिएको पाइन्छ। नियात्राको अन्ततिर विद्यार्थीहरू पाँच पोखरीमा पूजा गर्न जाँदै गरेको दृश्यले यात्राको भौतिक बाटोसँगै स्थानीय धार्मिक सांस्कृतिक जन-जीवनको चित्रण गर्न पनि लेखक पछि परेका छैनन् भन्न सकिन्छ । वस्तुतः यस निबन्धमा, यात्रा, प्रकृति, स्थानीय संस्कृति, व्यक्तिगत अनुभव, हास्य-व्यङ्ग्य र सामाजिक चेतनाको तत्त्वमिश्रित रहेको पाइन्छ।
'अहो पाँच पोखरी', मूलतः यात्रा निबन्ध हो। निबन्धकारले जागिरे जीवनको छुट्टीको अवसरलाई राम्ररी उपयोग गर्न सकेका छन् । विद्यालयको तनावबाट केही मुक्त हुने उद्देश्यले लेखक र साथीहरू पाँच पोखरीको यात्रा गर्छन् । 2004 सालको दुर्लभ लिप इयरको फ्रेब्रुवरी 29 तारिखको दिन सोमबारे बजारबाट ढिप डाँड़ा हुँदै अम्ब्योक चियाबारी, गाँउ-बस्ती ज‌ङ्गल, कालो भञ्ज्याङ भएर पाँच पोखरीतर्फ अघि बढ़छ। यात्रा गर्दा भेटिएका स्थानीय मानिस, बाटो देखाउनेहरू, सहयात्री शिक्षकहरू, चियाबारी, बस्ती, गुम्बा, पहाड़, बादल, चराचुरुङ्गी र जङ्गली वातावरणको जीवन्त वर्णनले निबन्धमा सजीवता आएको छ। यसले यात्राको भौगोलिक कठिनाइसँगै यात्राबाट प्राप्त हुने मानसिक आनन्द र नयाँ अनुभवलाई सहजरूपमा प्रस्तुत गरेको छ भन्न सकिन्छ।
यस यात्रा निबन्धको महत्त्वपूर्ण पक्ष प्रकृति- प्रेम र पर्यावरणीय चेतना रहेको पाइन्छ। लेखकले जङ्गलमा चराहरूको आवाज सुन्दा प्राप्त हुने आनन्द र पहाड़को सौन्दर्य र प्राकृतिक वातावरणको मनमोहक चित्र प्रस्तुत गर्न सकेका छन्। तर यही प्रकृतिमाथि भइरहेको विनाशप्रति लेखक चिन्तित बनेका छन्। लेखकले यात्राको क्रममा मानव तस्करहरूले जङ्‌गल फाड़ेर ठूल्ठूला रुखहरू ढालेको देखेर आक्रोशित बन्छन्। यसको जिम्मावारी वनकर्मीहरूको हेलचेक्र्याइ वा तस्करी गर्नेहरूको मिलीमतोको सम्भावनालाई सन्देहजनक दृष्टिले पनि हेर्छन् । निमबस्तीको गुम्बा र लामाको अथक प्रयासलाई उल्लेख गर्दै स्थानीय धार्मिक सांस्कृतिक जीवन, पर्यटन र स्थानीय विकासको सम्भावनालाई देखाइएको छ। त्यसैले पाँच पोखरी केवल धार्मिक आस्थाको केन्द्र मात्र नभएर भविष्यमा पर्यटनीय स्थल बन्न सक्ने सम्भावनाको प्रकाश पारिएको छ।
प्रस्तुत सङ्ग्रहको अघिल्लो लेख 'लैती तरेर' रहेको छ। यस निबन्धको उद्देश्य परिचित जनसितको आत्मीय सम्बन्धलाई प्रकाश पार्नु रहेको देखिन्छ। लेखकले पुबुङ-माजिङ क्षेत्रको सम्मान कार्यक्रममा निमन्त्रणा पाएपछि यो यात्रा गरिएको हो र उनले परिचित चालक रामुको वाहनमा उक्त यात्रा गरेका छन्। दुःखको कठिन समयमा पनि रामुले सहयोग गरेको छ। दुःखको समयमा सहयोग गर्ने व्यक्तिलाई लेखकले सुखको समयमा पनि सम्झनु मानवीय कृतज्ञता र सम्बन्धको मूल्य हो भन्ने सम्झेका छन्।
यस निबन्धमा डुवर्सको भौगोलिक र प्राकृतिक दृश्यको सरल र सहज चित्रण-वर्णन हुन सकेको छ। उदलाबारी, मानाबारी, तोरीबारी, लैती खोला हुँदै पहाड़तर्फ उक्लने क्रममा डुवर्सको समथर तातो भूभागदेखि पहाड़ी भूभागसम्मको प्राकृतिक परिवर्तनलाई लेखकले जीवन्तरूपमा चित्रण गरेका छन्। धानका विशाल फाँट, पहाड़का जङ्गल, खोला, रातो माटो, घुम्ती र उकालोले यात्राको भौगोलिक विशेषतालाई देखाएको छ।
प्रस्तुत यात्रा निबन्धमा स्थानीय इतिहास र अस्मिता र चेतनालाई प्रकाश पार्दै गोर्खा समुदायको बसोबास भएको डुवर्स क्षेत्रमा ठाउँ-ठाउँ फहराई रहेको झण्डालाई लेखकले गोर्खा अस्मिता र परिचयको रूपमा हेरेका छन्। उनको कथा 'सिन्दुर र खुकुरी'को पृष्ठभूमिसमेत तोरीबारी नै रहेको विषय पनि लेखकले उल्लेख गरेका छन्।
वस्तुतः 'लैती तरेर' केवल एउटा ठाउँबाट अर्को ठाउँसम्मको यात्रा विवरण मात्र नभएर यस लेखमा यात्रा, मानवीय सम्बन्ध, गोर्खा अस्मिता, स्थानीय इतिहास, ग्रामीण जीवन, विकासको आवश्यक्ता, र पर्यावरणीय चिन्ता जस्ता विषयहरूको एकमुष्ट अभिव्यक्ति भएको देखिन्छ। यस निबन्धमा डुवर्सको समथर भूभागदेखि पहाड़को कठिन उकालोसम्मको यात्रा वर्णनले मानिसहरूको सङ्घर्षपूर्ण जीवन र प्राकृतिक सम्पदाप्रति लेखकको सम्वेदनशील दृष्टिकोण प्रस्तुत भएको छ। त्यसैले यस निबन्धले दुर्गम क्षेत्रको निम्ति शिक्षाले नै सामाजिक परिवर्तन, स्थानीय नेतृत्त्व निर्माण र भविष्य निर्माणको पूर्व आधारहरू तयार गर्दछ भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ।
यस्तै यस सङ्‌ग्रहको 'सोमबारेदेखि बुधबारेसम्म', निबन्ध उद्देश्यमूलक शैक्षिक निबन्ध रहेको छ। शिक्षकहरू विद्यार्थीहरूलाई लिएर प्रतियोगिताको निम्ति बुधबारे माध्यमिक विद्यालयमा सहभागी हुन जाँदाको यात्रा विवरण दिन लेखक सफल भएका छन्। यस निबन्धमा लेखकले विद्यार्थीहरूको प्रतिभा विकासको निम्ति स्पर्धात्मक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने विषयको प्रकाश पारेका छन्। यस्ता प्रतियोगिताहरूमा शब्द उत्सव, अन्ताक्षरी, तत्काल नाटक, भाषण, लोकगीत, लोकनृत्य र चित्रकला जस्ता गतिविधिहरूले विद्यार्थीहरूको शैक्षिक विकाससितै सर्वाङ्गिण विकास गर्दछ र उनीहरूको सृजनात्मक क्षमता प्रबल बनाउँदछ भन्ने सन्देश दिएका छन्। यसरी सामूहिक प्रतियोगिताहरूको आयोजनाद्वारा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा प्रधान अध्यापकहरूको सहभागिताले शैक्षिक तथा सांस्कृतिक आदान-प्रदान पनि हुन्छ अनि शिक्षकहरू माझमा मित्रता पनि बढ़छ भन्ने सन्देश यस निबन्धले दिँदछ। उक्त निबन्धमा लेखकले लोकसंस्कृतिको संरक्षण हेतु ठेट लोकगीतसँगै सारङ्गी, मुचुङ्गा, चापाङ, डम्फु, मुरली जस्ता स्थानीय बाजाको प्रयोगले स्थानीय संस्कृतिको मौलिकता जोगाउन सक्तछ भन्ने सन्देश पनि दिएका छन्।
यस्तै लोक नृत्यमा सांस्कृतिक परिचय झल्काउने खेतीपाती र स्थानीय जीवनसँग सम्बन्धित गीतमा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्यले कृषि परम्परा र जातीय परम्पराको संरक्षण गर्न सक्नु पर्दछ भन्ने सन्देश पनि उक्त निबन्धको भाव रहेको मान्न सकिन्छ। यसका अतिरिक्त यस निबन्धमा रोटरी क्लबको सामाजिक भूमिका, विद्यार्थीहरूले प्रतियोगितामा सबैले पुरस्कार प्राप्त गर्न सक्तैनन् तर तिनीहरूलाई सहभागी गराउन सक्नु नै ठूलो उपलब्धि हो भन्ने शिक्षा पनि यस निबन्धले दिँदछ।
यस्तै उक्त सङ्‌ग्रहको अर्को निबन्ध 'सौरेनी पाखाः अक्षरको गोड़मेल' रहेको छ। यो निबन्ध मूलतः ग्रामीण जीवन, साक्षरता अभियान, प्रकृति, कृषि र पर्यटनको चेतनालाई विकास गर्ने उद्देश्यले रचना भएको सम्भावनालाई पनि नकार्न सकिन्न । यस कुराको पुष्टि 'अक्षर र चेतनाको गोड़मेल' भन्ने पदद्वारा स्पष्ट हुन्छ। अत: यस लेखकले उल्लेख गरेका गाउँमा अक्षर ज्ञान र सामाजिक चेतना विस्तार गर्ने अभियान चलाइएको छ। ग्रामीण जीवनको खेती, गोठाला-खेताला र स्थानीय जनजीवनको जीवन्त चित्रणले यस निबन्धको प्राण भरेको छ। साथै प्रकृति-प्रेम, पहाड़, जङ्गल, खेतबारी, खोला र प्राकृतिक सौन्दर्यको वर्णन-विवरण पनि मनमोहक छन् । कृषियोग्य खेतबारी मासेर मनोरञ्जनका संरचना तयार गर्ने सोचको विरोध गरिएको पाइन्छ ।
'पूर्वोत्तरतिर', यात्रामा निबन्धकारले कालेबुङबाट असमसम्म रेल र मेघालयतर्फ बसको यात्राको प्रत्यक्ष अनुभव प्रस्तुत गर्दछन्। यस यात्रा निबन्धमा लेखकले यात्रा गर्दा देखेका, भोगेका र अनुभव गरेका वास्तविक घटनालाई हुबहु रूपमा सरल र सहज ढङ्गमा प्रस्तुत गरेका छन्, जसलाई वाचन गर्दै जाँदा पाठक आफैं ती ठाउँ-थलोतिर विचरण गर्न पुग्दछन् । यो लेखकको वर्णन कलाको विशेषता हो भन्न सकिन्छ। लेखक पूर्वोत्तर जाँदा बसयात्रा गर्दै जान्छन् र बसमा यात्रा गर्दाको भोगाइको पीड़ा र दुःख-कष्ट कस्तो हुन्छ, तिनै विषयहरूको वर्णन गर्दै त्यस ठाउँको सामाजिक र प्रशासनिक व्यवस्थाको चित्रण गरेका छन् । यस निबन्धमा लेखकले आफ्नै देशभित्र यात्रा गर्ने नेपालीले अनावश्यक दुःख पाउनु र प्रहरीको व्यवहार देखेर लेखकमा राष्ट्रिय तथा नागरिक अधिकार सम्बन्धी स्वाभाविक रूपमा प्रश्न उब्जिन्छ ।
वस्तुतः यो निबन्ध लेखकले असम-मेघालयलाई आधार बनाएर सृजना गरेका छन्। लेखक साहित्य अकादमी दिल्लीको आयोजनामा सहभागी बन्न जाँदा भोग्न परेको कटु सत्यलाई सामाजिक यथार्थ र प्रशासनिक व्यवहारको वर्णन विवरण प्रस्तुत गर्दछन्। अतएव यो निबन्ध वस्तुपरक तत्त्वमा आधारित रहेको छ। स्थान नामको व्युत्पत्ति सम्बन्धी प्रसङ्ग डिगबोइ नामसँग जोडिएको स्थानीय कथालाई रोचक ढङ्गले प्रस्तुत गरेका छन्। यस रेल यात्रामा, साहित्यकार, व्यापारी, स्थानीय यात्री र रेलकर्मी आदिको उपस्थितिले यात्राको सामाजिक परिवेश फराकिलो बनाएको छ।
'फन्को मार्दै', निबन्ध प्रस्तुत सङ्ग्रहको आठौँ निबन्ध हो र यस निबन्धमा लेखक माङजिङ गाउँको विद्यालयको स्थापना दिवसमा आतिथ्य ग्रहण गर्न भरिया कान्छालाई लिएर उसैको अगुवाइमा सड़क छाडेर जङ्गल र अलैंचीबारी हुँदै बस्तीमा पुग्छन्। त्यहाँ स्थानीय मानिसहरूसँग बाटो सोध्दै उनीहरू अमृताको घरमा पुग्छन् र आतिथ्य ग्रहण गर्छन्। अमृतासितको यात्रामा स्थानीय सड़कको दुरावस्था, जनताको दुःख र त्यसकै कारण चुनाव बहिष्कारसम्म गरिएको प्रसङ्‌ग लेखकले थाहा पाउँछन्। त्यसपछि मालिटार र चाखुङ डाँडाको कठिन बाटो हुँदै लेखक कान्छासित अगाडि बढ्छन्। चाखुङ डाँडामा रहेको ऐतिहासिक भग्नावशेष, प्राकृतिक दृश्य र स्थानीय विश्वासबारे लेखकले थाहा पाउँछन्। अन्त्यमा गाउँमा धार्मिक कार्यक्रम चलिरहेको ठाउँमा पुग्दा मानिसहरूले आत्मीयताका साथ स्वागत गर्छन् ।
विशेष महत्त्वपूर्ण विषय के रहेको छ भने निबन्धकार प्रदीप गुरुङ शिक्षाविद भएका नाताले उनको निबन्धमा शिक्षालाई विशेष जोड दिइएको देखिन्छ । लेखकको यात्रा स्थानीय विद्यालयको स्थापना दिवससँग सम्बन्धित रहेको छ अनि लेखक उक्त कार्यक्रममा सहभागी बन्नको निम्ति पक्का अलकत्रे सड़क छोडेर पाँच घण्टासम्मको अलैंचीघारीको जङ्‌गल र अप्ठ्यारो बाटो पैदल हिँडेर गन्तव्य स्थलमा पुग्छन्। यो निबन्धमा च्याखुङ डाँड़ा र लाप्चे राजा ग्याबो आच्यूकको किंवदन्तीसित जोडिएको प्रसङ्गले स्थानीय इतिहास र लोकविश्वासलाई आत्मसात् गर्नाले निबन्ध ओजस्वी बनेको पनि छ।
उक्त निबन्धमा निबन्धकारले गाउँको शिक्षित परिवार पिता-पुत्र र बुहारी शिक्षणमा लागेर दुर्गम भेगको उक्त क्षेत्रमा शिक्षाको विकासमा पुर्याएको योगदानको सराहना गर्दछन्। शिक्षित व्यक्तिहरू गाँउ छोडेर अन्यत्र गए गाँउको विकास कहिल्यै सम्भव हुँदैन । अतः प्रस्तुत निबन्धको मूलभाव पनि यही रहेको मान्न सकिन्छ।
प्रस्तुत सङ्ग्रहका अन्तिम दुई निबन्ध 'लाभा रचेला' र 'सौरेनीको सिमल तरुल र छुर्पीको अचार' रहेका छन्।





15 सितम्बर 2026,वर्ष:1,वेबाङ्क:3

No comments: