(जीवन बान्तवा: नेपाली भाषाका एक सशक्त कवि हुनुहुन्छ जसले जीवनको झण्डै अर्द्ध-शतक नेपाली साहित्य र साहित्यकारहरूको संसर्गमा बिताउनु भएकोछ। उहाँ थुप्रै साहित्यकारहरूको आरोह-अवरोहका साक्षी पनि हुनुहुन्छ। यस्तै उहाँको सम्झनामा रहेका केही विगत केही वर्तमानका नामुद नेपाली साहित्यकारहरूको जीवनका उपाख्यानहरू लिएर प्रत्येक महिना उहाँ नियमित हामीमाझ आउनु हुनेछ यो स्तभ्ममार्फत)
सम्झनामा: एल्डी राई मिक्खोले
मिक्खोलेलाई सम्झँदा केही प्रसङ्गहरू लेख्नैपर्ने लाग्छ।
7 दिसम्बर 1986 को दिन सेन्ट्रल ब्याङ्क अफ इण्डिया गेजिङ शाखामा हाजिरा दिएर नयाँ जागीरे जीवनको शुरूवात गर्नुपर्ने हुन्छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अनि सी॰ पी॰ आई॰ (एम॰)-को द्वन्द्वले सिङ्ला भएर सिक्किम पुगिने बाटो बन्द रहेको छ। आन्दोलनले सम्पूर्ण पहाड़ अस्तव्यस्त छ। सिङ्ताम चियाबारीमा कान्छी छेमाको श्रीमान् काका रवीन थापाको हत्या भएको छ, शवधरि भेट्न सकिएको छैन। आन्दोलनमा सक्रिय संलग्नता रहे तापनि परिवारको आर्थिक स्थिति, जेठो छोरो, आफूमुनि पाँच-पाँचजना स्कूल जाने भाइहरू, श्रीमती र छोराको जिम्मेवारी सबैलाई ध्यानमा राखी नयाँ जागीरमा जानैपर्ने हुन्छ। सबैतिर हड़ताल, कुनै गाड़ी चलेको छैन। यस्तो अवस्थामा सहोदर माइला भाइ स्व॰ किरण कुमार राई अनि गाउँले भाइ प्रवीण राई मसित लेबोङ, गीङ, बदमताम हुँदै सिक्किम माझीटारसम्म पुऱ्याउन जान तयार हुन्छन्। (7 दिसम्बर 1986) त्यही दिन केही सामानहरू लिएर दुई भाइसित घरबाट निस्कन्छु। माझीटारसम्म पुऱ्याएर उनीहरू सोही बाटो घर फर्कन्छन्। म जोरथाङ पुगेर एस॰ एन॰ टी॰ बसबाट गेजिङतर्फ लाग्छु। वासका निम्ति केही चिन्ता लिएको छुइनँ। गेजिङमा दाजु धीरज राई अनि भाउजू मेरी हुनुहुन्थ्यो। केही समय उहाँहरूसितै परिवारको सदस्य भएर बसेपछि ब्याङ्क परिसरमै रहेको सानो कोठामा सरेँ जो मेरो गेजिङ बसाइँभरि स्थायी ठेगाना रह्यो।
एक दिन ब्याङ्कमै केदार गुरुङज्यूसित भेट हुन्छ। आफ्नो व्यक्तिगत काम लिएर आउनुभएको रहेछ। नाम सुनिरहेको प्रतिष्ठित कवि अनि स्रष्टा पत्रिकाका सम्पादकका रूपमा प्रतिष्ठित। उठेर नमस्कार गर्दै आफ्नो परिचय दिएँ। उहाँ मलाई त्यहाँ भेटेर अति खुशी हुनुभयो। पछि उहाँसित प्रगाढ़ सम्बन्ध बस्यो जो आजसम्म पनि कायम छ। प्रायः दिनैपिच्छेजस्तो हाम्रो भेट भइरहन्थ्यो। यसै भेटघाटको सिलसिलामा उपमान बस्नेतज्यू पनि आउनुहुन्थ्यो।
![]() |
| एल.डी.राई मिक्खोले |
शुक्रबार गेजिङ बजारमा हाट लाग्ने। स्कूल अनि कार्यालयहरू आधा दिनमात्र लाग्ने। ब्याङ्ककै अघिल्तिर हाट लाग्ने। प्रत्येक हाटको दिन केदारज्यू कुनै न कुनै साहित्यकार वा हूलै लिएर मसित भेट गर्न आउनुहुन्थ्यो। यस्तै क्रममा एक दिन एल्डी राई मिक्खोलेलाई लिएर आउनुभयो अनि परिचय गराउनुभयो।
केही सोचिरहेजस्तो, गम्भीर देखिने हुने, नाक बजाइरहने, अलिअलि छड़केछड़के हिँड़्नुहुने औसत राईहरूभन्दा अलि अग्लो उँचाइ रहेका मिक्खोलेसित बाक्लो भेट भए तापनि उस्तो घनिष्ठता गाँसिन सकेको थिएन।
तर त्यो अवसर जुटाइदियो गेजिङमा आयोजित भानु जयन्ती समारोहले। मेरो स्मृतिले भ्याएसम्म लाग्छ कवितामा खुसेन्द्र राई, कथामा थीरूप्रसाद नेपाल अनि लेख, निबन्ध, समालोचना विधामा मलाई स्रष्टा पुरस्कारबाट पुरस्कृत गरिएको थियो। कार्यक्रम सकिएपश्चात् पाहुनाहरूलाई अञ्चल होटलमा वास बस्ने व्यवस्था गरिएको थियो। त्यहाँ भेला हुनेहरूमा सम्झन्छु, टेकबहादुर गुरुङ तामी, प्रवीण राई ‘जुमेली, वीरभद्र कार्कीढोली, थीरूप्रसाद नेपाल, गहर उदासी, डम्बर गुरुङ, एल्डी राई मिक्खोले, केदार गुरुङ, उपमान बस्नेत साथै अन्य धेरै साहित्यकारहरू।
साथीहरूले पुरस्कार पाएको खुशीमा केही रमझम हुनपर्छ भनेपछि म पनि पछि परिनँ। साहित्यिक गोष्ठी साथै सुरापान पनि शुरू भयो। वातावरणले तारूण्य प्राप्त गर्न थालेपछि केदारज्यू र उपमानज्यूसाथै सुरापानमा भाग नलिने साथीहरू बिदा लिएर जानुभयो। साहित्यिक कार्यक्रम चल्दै गर्दा एल्डी मिक्खोलेज्यूले सबैको सहमतिमा साङ्गीतिक माहौल पनि शुरू गर्नुभयो। उहाँलाई मनपर्ने के घर के डेरा चलचित्रमा मदनकृष्ण श्रेष्ठले गाउनुभएको गीत हे भगवान् मेरो पैसाको बोटमा पैसा पैसा फलाऊ गीत गाएर सबैलाई मक्ख पार्नुभयो। धन भए मूर्ख पनि विद्वानमा गनिन्छ हरफलाई दोहोऱ्याई तेहेऱ्याई गाउनुभयो। रात निकै बितेपछि साथी वीरभद्र र म सुत्नका निम्ति सबैसित बिदा मागेर मेरो कोठातिर लाग्यौँ।
भोलिपल्ट बिहानै मिक्खोलेज्यू मेरो कोठामा आइपुग्नुभयो। अनुहारमा केही उदासी थियो। सोध्नुभयो, ‘‘हिजो मैले केही नराम्रो त गरिनँ?’’ हामी दुवैजनाले त्यस्तो केही नभएको बरू सबैले आनन्द लिएको कुरो भन्यौँ। यति सुन्नासाथ उहाँको अनुहार उज्यालो भयो अनि हामी तीनैजनाका निम्ति चिया बनाउन लाग्नुभयो। चिया पिउँदापिउँदै उहाँले मलाई ‘‘अबदेखि भाइ भन्छु” है भन्नुभयो। मैले सहर्ष स्विकारेँ।
गेजिङ रहनुभएको समय हाटको दिन हूलबाट छुटेर मेरोमा आउनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो- ‘‘हिँड़ भाइ ब्रुसलीको तेल लगाउनु।” सुरापानलाई यस्तो नामाकरण गर्नुभएको थियो। पहिलेपहिले त अप्ठ्यारो लाग्थ्यो। अफिसमा मभन्दा उमेर र पद दुवैले वरिष्ठ स्टाफहरू थिए। तरै पनि अनुमति मागेर बाहिर निस्कन्थे। केही समय भट्टी पसलतिर बिताएपछि तिकजुक जाने अन्तिम बसमा उहाँ जानुहुन्थ्यो, म मेरो कोठामा फर्कन्थेँ। कतिचोटि अन्तिम बस छुटेपछि उहाँ तिकजुकको ठाड़ो उकालो बाटो अभिन्न मित्र डम्बर गुरुङज्यूसित हिँड़ेर पनि जानुहुन्थ्यो।
त्यस समय उहाँ सहकारी संस्थामा इन्स्पेक्टरको पदमा कार्यरत हुनुहुन्थ्यो। उहाँले नाम्ची आफ्नो ठाउँमा सरूवा भए परिवारसित बस्न पाउँथेँ भनी कुरा गर्नुहुन्थ्यो। तर अहिले नाम्चीमा सरूवा हुनसक्दैन भनी गुनासो पनि पोख्नुहुन्थ्यो। मैले धेरैपल्ट जान्न चाहँदा एकपल्ट हाँस्दै कारण बताउनुभयो। जो मैले उल्लेख गर्न चाहिनँ।
उहाँको मदपान गर्ने बानीलाई लिएर केदारज्यू अति चिन्तित हुनुहुन्थ्यो, साथमा रहँदा अनेकवली गरी सम्झाउनुहुन्थ्यो। मसित भेट्दा पनि यही कुरा भन्नुहुन्थ्यो, अप्रत्यक्ष रूपमा मलाई पनि खै गर्नुहुन्थ्यो। केदारज्यूलाई अति सम्मान गर्नुहुन्थ्यो, तर उहाँसित भेटै नगर्ने मनसाय राख्नुहुन्थ्यो। कतै टाढ़ामा देखिहाले सम्भव भएसम्म तर्किने प्रयास गर्नुहुन्थ्यो। केदारज्यूले धेरैपल्ट मेरै सामु आफ्ना रचनाहरू जम्मा गर्नुहोस्, पुस्तक हामी छाप्छौँ भनेर भन्नुहुन्थ्यो तर केही न केही बहाना गरेर उहाँले टार्नुहुन्थ्यो।
सिक्किममा मात्र नभएर भारतीय नेपाली साहित्यमा नै प्रखर व्यङ्ग्यकारका रूपमा उहाँलाई मान्नुपर्दछ।
घुसपेशको भाँड़भैलोमाथि सरासर सुधार: एक प्रतिबन्धित ग्रन्थ नाम चलाउने सुरमा चमत्कार चम्चागिरीको, सम्पादकको हैसियतले, चोसे व्यक्तित्व, राशन चम्काउने भाषण जस्ता उत्कृष्ट व्यङ्ग्य लेख्नुहुने मिक्खोलेले ट्रू कन्फेसन, दफ्तरमा एक दिन, लामाजीको लगन, चुत्थो नोकरीजस्ता स्तरीय कथाहरू पनि लेख्नुभएको छ। यसबाहेक केही कविता र मुक्तक साथै नाटकहरू पनि लेख्नुभएको छ। जसमा पाहुना नाटक सिक्किम सरकारले पाठ्यपुस्तकमा पनि समावेश गरेको छ।
पश्चिम सिक्किम साहित्य प्रकाशन समितिको सभापति पदमा रहेर उहाँले महत्त्वपूर्ण योगदान दिनुभएका छ। यसरी नै दक्षिण साहित्य कला संस्थानको साहित्य विधामा कार्यरत रहेर उहाँले गर्नुभएको योगदान महत्त्वपूर्ण मानिन्छ। यस अतिरिक्त सिक्किम कर्मचारी सङ्गठनको महासचिव पनि हुनुहुन्थ्यो भने दूधेरी पत्रिकाको सम्पादन पनि गर्नुभएको थियो।
गेजिङबाट मेरो सरूवा दार्जीलिङमा भएपछि पनि उहाँसित पत्राचार भइरहन्थ्यो, सम्पर्क टुटेको थिएन। यसै समय उहाँका व्यङ्ग्य लेखहरू रहेको गोजिका पनि पठाइदिनुभएको थियो। पछि एकपल्ट दशैँको छेकतिर होला शायद उहाँ सपरिवार ससुराली जानुहुँदा पुरानो सुपर मार्केटको भुइँतलामा अवस्थित मोटर स्ट्याण्डमा भेट भएको थियो। केही बेर कुराकानी भयो। हेर्दा केही बिरामीजस्तो लाग्यो। ब्रुसलीको तेल नलगाउनुहोला भनेर भनें। हाँस्नुमात्र भयो। केही पछि सुनेँ उनी निकै सिकिस्त छन् भनेर। घरी सिलगढ़ी, घरी नाम्ची अस्पतालमा भर्ना भएको कुरा। साइत नमिलेर होला एकैपल्ट पनि हेर्न जान सकिनँ। नेपाली भाषाले संवैधानिक मान्यता पाएको दिन सुनेँ उहाँ यति मीठो खबर नसुनीकनै अघिल्लो रात १९ अगस्तको राती चिर निद्रामा पर्नुभएछ। अति दुःख लाग्यो, केही बोल्नै मन लागेन, सीधै घर गएर धेरै अघि गेजिङमा उहाँले स्मृतिस्वरूप दिनुभएको ज्याकेट सुमसुमाइरहें। उनी गए तर उहाँले दिनुभएको दाजुको माया, साहित्यप्रतिको उहाँको अनुराग, सोझो, इमानदार र निष्कपट छवि कहिले पनि भुल्नेछैन।
उहाँको मृत्युपछि मैनाम पत्रिकाले उहाँको नाममा विशेषाङ्क निकालेको सुनेको थिएँ साथै चम्पा दिवस राई अनि मणि चामलिङ ‘रहर’-को सम्पादनमा मिक्खोले व्यक्तित्व एवं कृतित्व प्रकाशनमा आएको देखिन्छ।
जुनै संस्थाको, जुनै पदमा रहेर पनि निष्ठापूर्वक काम उहाँले गर्नुभएको छ। अब उहाँ जड़ित संस्थाहरूले उहाँको योगदानको कदर गर्दै उहाँबारे केही ठोस कार्यहरू गर्नेछन्- अपेक्षा राख्दछु।


अति रामरो
ReplyDeleteकति चाखलाग्दो लेख्नु भएछ... अन्त नहोस् जस्तो.. सललललल...
ReplyDelete