15 Oct 2026

कविता

(वरिष्ठ कवि डा. राजेन्द्र भण्डारीलाई कुनै परिचयको आवश्यकता छैन। उहाँको पहिलो कविता सङ्ग्रह 'हिउँदे यी चिसा रातका पर्दाहरू' 1979-मा प्रकाशित भएको थियो, तत्पश्चात उहाँका अझ चारवटा कविता सङ्ग्रह र एउटा समालोचना कृति प्रकाशित भइसकेका छन्। उहाँका कविताहरू रोटर्डमको www.poetryinternationalweb.org-मा र जर्मनीको www.lyrikline.org-मा पनि प्रकाशित भएका छन्‌। उहाँका कविताहरूको अङ्ग्रेजी अनुवाद '101 पोइट्रिज् अफ् राजेन्द्र भण्डारी' सङ्ग्रह पनि प्रकाशित हुनुको साथै देशका विभिन्न भाषामा पनि अनुदित भएका छन्। उहाँ  देश-विदेशका झण्डै एक दर्जन पुरस्कारहरूले पुरस्कृत हुनुभएको छ।)
डा० राजेन्द्र भण्डारी

तिमीलाई छुट छैन


राम्रो दाम पाए

तिमी बेच्न तयार छौ

बराजुको चिहान, छातीनेरको रानीमासु,आँगन।

अबाटोतिर भौँतारिँदा औँलो ठड्याउने विवेक बेचेपछि

बेच्न सजिलो हुँदो रहेछ अरु थोक ।

आमाले दाइजोमा ल्याएको कर्णफूल होस् कि

बाबुले बण्डामा पाएको झर्के थाल,करेँसाबारी।


छानु बेचेपछि मझेरी त सँगै बिकिहाल्छ।

सिमसार बेचेपछि

पानीको डोल,पाइप र सागबारी बिकिहाल्छ।


कल्पना,फुर्सद,कविता

लोकगीतका धूनहरू,सुसेली हाल्ने चप्लेटी

देवीथान डाँडा, छाती,पिँडुला, निधार किन्न

आइरहेछन् ठुल्ठुला व्यापारीहरू।


लुकाऊ नानीका युनिफर्म र खाता

बचाऊ उनीहरूको सपना

तिमीलाई उसको भोलि बेच्ने छुट छैन ।



15 अक्टुबर 2026, वर्ष:1, वेबाङ्क:4
@2026 collageonline.in. All right reserved



दशैँ र तिहारको हार्दिक शुभकामना


1 comment:

  1. भीम खड्का21 October 2026 at 11:06

    आजभोलि स्वार्थी मनोवृत्तिप्रति औंल्याएको कविता पढंन पाइयो। यहाँको कविताले कोलाजको गरिमा बढाइदिएको छ। यस्तै कविता पढ़न पाउँ।

    ReplyDelete