15 Oct 2026

कविता



(साहित्य अकादमी (नयाँ दिल्ली) पुरस्कारले पुरस्कृत डा०वीणा हाङ्गखिम नेपाली साहित्यका एक वरिष्ठ र सम्मानित साहित्यकार हुनुहुन्छ। उहाँ साहित्य अकादमीलगायत नौवटा गरिमामय पुरस्कारहरूले अलङ्कृत हुनुभएको छ। उहाँका 10-वटा कृति प्रकाशित भइसकेको छ। उहाँका नेपाली कविताहरूको अङ्ग्रेजीमा अनुदित एउटा सङ्गालो पनि प्रकाशित भएको छ।)
डा० वीणा हाङ्गखिम

एउटा प्रश्न

महाशय ! 

तपाईं अग्लो मचानबाट 

निकै ठूलो स्वरमा कुर्लनुहुन्छ

देशप्रेम र जनताको टीठलाग्दो अवस्थाले पिरोलिएर

केही गर्छु भन्ने आश्वासन दिनुहुन्छ

निहत्था योद्धासरह हाम्रा श्रोतावर्ग

आँखामा ज्योति बालेर 

छातीमा हात राख्दै

कृतज्ञताको निश्वास छोड्छन्

उनीहरूका आँखामा

भविष्यको चिन्ता छ 

छोराछोरीका भविष्यको प्रश्न छ

सुकुम्बासीकै हाराहारीमा पुगेका 

आफ्नो जातिका स्वाभिमानको प्रश्न छ 

माटो छोएर कसम खाएको

भीष्म प्रतिज्ञाको प्रश्न छ 

भुइँमान्छेहरूका सपना बन्धकी राखेर 

जब तपाईं आकाशमा उड्नुहुन्छ

आलीशान महलहरूमा ऐश गर्नुहुन्छ 

ती दिग्भ्रमित जनता भने 

तपाईंको आश्वासनमा मक्ख पर्दै

भोलिका रङ्गीन सपनाहरूमा

निर्धक्क निदाउने प्रयासमा हुन्छन्

त्यतिखेर 

कर्कलाका पातहरूमा नअड़िने

तिनका सपनाहरूका पापको भारीले

आफू थिचिने डरले तपाईं तर्सनुहुन्न ?

भोलि उदाङ्गिने तपाईंको पापको पर्दा 

तपाईं कसरी छोप्न सक्नुहुन्छ ?

तब तपाईं कसरी आफ्नो अनुहार देखाउनुहुन्छ 

महाशय...?



15 अक्टुबर 2026, वर्ष:1, वेबाङ्क:4
@2026 collageonline.in. All right reserved



दशैँ र तिहारको हार्दिक शुभकामना


1 comment:

  1. This describes the law of karma very well.

    ReplyDelete