(निबन्ध लेखनबाट साहित्यमा प्रवेश गर्नुभएको डा. इन्द्रबहादुर छेत्री कथाकार, निबन्धकार, समालोचक र सम्पादकको रुपमा परिचित हुनुहुन्छ। उहाँका आठवटा पुस्तकाकार कृति प्रकाशित भइसकेका छन्। उहाँ कोलाजअनलाइन वेबजीनका सह-सम्पादक पनि हुनुहुन्छ)
डा° इन्द्रबहादुर छेत्री
पुस्तक निरूपण : सर्जकका सन्तान (सन् 2026)
कालूसिंह रणपहेंलीको भर्खरै प्रकाशित, ‘सर्जकका सन्तान’, पुस्तकको प्रतीकात्मक अर्थ बुझ्नुपर्ने हुन्छ। भारतीय नेपाली समकालीन आख्यान साहित्यका सशक्त सृजनशील आख्यानकार हुन् -कालूसिंह रणपहेंली (डा. कृष्णराज घतानी, पूर्व प्राध्यापक उत्तर बङ्ग विश्वविद्यालय)। उनको ‘कथाकुटीर’ (सन् 2004), ‘यथार्थबोध’ (सन् 2005), ‘प्रश्नचिन्ह’ (सन् 2011), ‘च्यातिएका पृष्ठहरू’ (सन् 2017) र ‘सर्जकका सन्तान’ (सन् 2026) कथा सङ्ग्रहहरू प्रकाशित भएका छन्।
'सर्जकका सन्तान:शीर्षकको सार्थकता'- शीर्षक अत्यन्त अर्थपूर्ण छ। सामान्यतः सन्तान भन्नाले मानिसका छोराछोरी बुझिन्छन्। तर यस कथामा कृषकले आफ्नो श्रमद्वारा उत्पादन गरेका अन्न, फलफूल र सब्जीलाई आफ्ना सन्तान सरह मानेका छन्। यस विषयले कृषकको सृजनशीलता, श्रम र आत्मसम्मानलाई उजागर गर्दछ।
‘सर्जकका सन्तान’ कथा सङ्ग्रह (सन् 2026)-मा जम्मा तीसवटा लघु कथाहरू समावेश गरिएका छन्। ती प्रत्येक शीर्षकलाई कथाकारले आकर्षक ढङ्गले सजाएका छन्, जसमा प्रत्येक शीर्षक नै पढ़िहालौंन लाग्ने छ पाठकलाई। यी रमाइला कथाहरू सिलोके वीरमान माइला, खुट्टाको अचार, सर्जकका सन्तान, टमी, बाजे-नाति नामथिङतिर, दानियलको दाँत, रहरमानको रहर आदि जस्ता विभिन्न शीर्षकका कथाहरू समावेश छन्।
यस सङ्ग्रहका कतिपय कथाहरूका कथा-वस्तुलाई टिपेर प्रस्तुत गर्ने प्रयास भएको छ।
सिलोके वीरमान माइला: यस सङ्ग्रहको पहिलो कथा, सिलोके वीरमान माइला कथा-मा हर्कमानको विवाहको तयारी र जन्ती डाकबङ्गला बस्तीमा लैजाने कथा छ। जनकलाल बूढ़ाले छोराको विवाहलाई आफ्नो पारिवारिक दायित्त्व पूरा गर्ने अवसरका रूपमा लिएको देखिन्छ। विवाहको तयारीमा घर-परिवार, गाउँ-समाज र परम्परागत संस्कारको सामूहिक सहभागिता देखिन्छ। विशेष रूपमा विवाहमा शिलोकेको आवश्यकता पर्ने हुनाले धर्मशास्त्र र शिलोक हाल्न सिपालु वीरमान माइलालाई जन्तीमा लैजाने निर्णय हुन्छ। यसरी विवाहको सामाजिक वातावरणसँगै वीरमान माइलाको प्रतिभा पनि कथामा देखाइएको छ। कथाकारले विवाहमा शिलोक हाल्ने परम्परालाई सिलोके वीरमान माइलालाई प्रतिनिधि बनाएर कायम गर्नुपर्ने विषयको सन्देश पनि दिन चाहेका छन्।
खुट्टाको अचार कथामा भगीमानले घरको आवश्यक्ता पूरा गर्न सुँगुर घोचेको प्रसङ्गबाट कथा अघाड़ि बढ़दछ। इन्द्रमानले सुँगुरको खुट्टाको अचार बनाएर साथीभाइसित ब्राण्डी खाँदै गरेको प्रसङ्गमा गाउँको सामाजिक सम्बन्ध, राजनैतिक विभाजन, र पार्टीगत विचारबारे कुराकानी अघाड़ि बढ़छ। सामान्य खान-पानको सिलसिलाबाट शुरू भएको सम्वाद विस्तारै राजनैतिक आस्था, पार्टीगत विभाजन, चुनावमा रूपियाँको खेला भोट हाल्ने बेलामा इभीएमको नोटा बटनमा भोट खस्नेसम्म चर्चा हुन्छ।
सर्जकका सन्तान कथामा दम्पती हरिमाया र राजकुमारको जीवन, खेतीपातीमा आएको समस्या र सन्तान नभएको अवस्थाबाट उत्पन्न मनोदशालाई चित्रण गरिएको छ। यसपालि इस्कुसको उत्पादन घटेकाले उनीहरू आर्थिक समस्यामा परेका छन्। यसैले राजकुमार शहरमा रोजगारी खोज्न जाने विचार गर्छन्। यसै क्रममा सोम काकाले उनीहरूलाई कृषक हुनुमा हीनताबोध नगर्नु भनेर सम्झाउँछन्। कृषकले अन्न, फलफूल र सब्जी उत्पादन गरेर देशवासीको जीवन धान्ने भएकाले कृषक पनि सर्जक हुन्। उनीहरूले उत्पादन गरेका वस्तु नै उनीहरूका सन्तानसरह हुन् भन्ने विचार व्यक्त गर्दछन्।
'दानियलको दाँत' कथामा दानियलको दाँत दुखेपछि दन्त चिकित्सककहाँ पुगेर दाँत उखेल्नु परेको घटनालाई आधार बनाइएको छ। दाँत उखेलेपछि आराम गरिरहेको अवस्थामा डानियल दाँतकै उपयोगिता, सौन्दर्य, उच्चारण, स्वास्थ्य र दाँतसित जोड़िएका विभिन्न पक्षबारे कल्पना र चिन्तन गर्न थाल्छ। यसरी सामान्य दाँत दुखाइको घटनाबाट कथा शुरू भएर व्यङ्ग्यात्मक र विचारप्रधान रूपमा अघाड़ि बढ़ेको छ।
'टमी' कथामा टमी कथाकारको घरमा पालेका कुकुरको कारण परिवारले भोग्नु परेको समस्यालाई प्रस्तुत गरिएको छ। टमीको शरीरमा किर्ना परेर घरभरि फैलिँदा परिवारका सदस्यहरू हैरान हुन्छन्। त्यहीबेला टमीले छिमेकीको खसीको टाउको चोरेको, रमेशको भात खाएको र तिलकको मासु खोसेको घटना सम्झना आउँछ। यी घटनाबाट दिक्क भएका कथाकारले आखिरमा टमीलाई बोरामा हालेर सुकनाको जङ्गलमा छोड़ेर आउँछन्।
कथामा सामाजिक र सांस्कृतिक झलक:
यस कथामा नेपाली समाजको विवाह संस्कार, नौमती बाजा, शिलोक हाल्ने शिलोके, पण्डित, जन्ती लोकन्ते, कल्सेउली, घोड़ा तथा साजको सहभागिता प्रस्तुत गरेर परम्परागत विवाह संस्कारको झलकलाई प्रस्तुत गर्न कथाकार सफल भएका छन् भन्न सकिन्छ। कथामा यी चित्रणले तत्कालीन सामाजिक नेपाली जीवनको झल्को गराउँदछ। यस्तै ‘सर्जकका सन्तान’ कथाले कृषकको आर्थिक समस्या, ग्रामीण जीवनको कठिनाइ, सन्तानहीनताको सामाजिक पीड़ा, र समाजमा कृषिप्रति गरिने अवमूल्यनलाई कथाकारले राम्ररी प्रस्तुत गरेका छन्।
‘सर्जकका सन्तान’ कथाको वैचारिक पक्ष के रहेको छ भने, कथाको मूल विचार कृषकको श्रम र सृजनाको सम्मान गर्नु हो। त्यसैले कृषकलाई सामान्य श्रमिकका रूपमामात्र नभई सर्जकका रूपमा हेर्नु पर्दछ भन्ने कथाको मूल विचार छ।
प्रस्तुत कृतिका कथाहरूका भाषा सरल, पात्र-पात्रा अनुरूपको र स्थानीय परिवेश अनुकूल रहेको छ। पात्र-पात्राको व्यवहार र सम्वादसितै कथा स्वाभाविक रूपले अघाड़ि बढ़ेको छ। विवाहको तयारी र जन्तीको दृश्यचित्रणले कथामा रोचकता र स्वाभाविकता ल्याएको छ। ग्रामीण परिवेश, खेतीपातीका प्रसङ्ग र पात्र-पात्राहरूका स्वाभाविक कुराकानीले कथालाई जीवन्त बनाएको छ भन्न सकिन्छ।
यस कृतिका कथा सम्वादको माध्यमद्वारा स्वभाविक ढङ्गमा अघाड़ि बड़दछ र कतिबेला कथा टुङगिन्छ, पाठकलाई कथाको मज्जा लिँदालिँदै कथा टुङ्गिएको पनि थाहा हुँदैन।
उपसंहार: यस कथा सङ्ग्रहमा समावेश भएका कथाहरूले कतै नेपाली ग्रामीण समाजको विवाह संस्कारको चित्रण, लोक संस्कृति, मौखिक लोक कलाको महत्त्वलाई प्रस्तुत गरेको छ। प्रस्तुत सङ्ग्रहका अन्य कथाहरूमा:
दानियलको दाँत: सामान्य दाँत दुखाइको घटनालाई आधार बनेर दाँतको महत्त्वको विभिन्न पक्षलाई हास्य-व्यङ्ग्य र कल्पनात्मक शैलीमा प्रस्तुत गरिएको विचारप्रधान कथा मान्न सकिन्छ।
कमानको खाजा-मा गरिब र श्रमिक जीवनको यथार्थ चित्रण साधारण घटना र सम्वादद्वारा भएको छ। प्रस्तुत कथाको शिल्प-शैली हास्य-व्यङ्ग्यात्मक र मार्मिकताले भरिएको छ। यस कथाले ग्रामीण जीवन, कमान क्षेत्र र श्रमिकहरूको जीवन शैलीको साह्रै सुन्दर चित्रण गरेको छ।
चौरस्ताका बूढ़ा पातहरू कथाको मूल विषय मानवता, करूणा, पुनर्जीवन, वृद्ध पुस्ताको अनुभव र बिग्रिएको मानिसलाई सुधार गर्न एकपल्ट मौका दिनुपर्ने विषयको सन्देश पाइन्छ।
धातु टल्काउनेहरू मुख्य विषय ठगी, अन्धविश्वास, अपरिचित मानिसमाथि गरिने अन्धविश्वास र मानवीय विश्वासको दुरूपयोगको कथा हो। कथाको विशेषता नै हास्य-व्यङ्ग्य रहेको छ।
हुरी-झरीको युगलबन्दीबीच जीवनको बेताल नृत्य, कथा शीर्षक धेरै लामो भए तापनि, कथाको मूल विषय गरिबी, श्रमिक जीवनको सङ्घर्ष, पारिवारिक दायित्त्व, आर्थिक अभाव र आशा निराशा बीचको मानवीय जीवनको कथा रहेको छ।
प्रस्तुत कृतिको पुच्छरको कथा फेरि राजा सुलेमनको कथा परम्परागत सुलेमन कथाको पुनर्सृजन गर्दै समकालीन समाजमा छोरीमाथि हुने हिंसा, भ्रूणहत्या, लिङ्ग भेद र नारीसुरक्षामाथि प्रश्न उठाइएको चेतनामूलक कथा रहेको छ।
वस्तुतः कथा सङ्ग्रहका सम्पूर्ण कथा पठनीय छन्।
पुस्तकको विवरण:
पुस्तक:सर्जकका सन्तान (कथा सङ्ग्रह)
कथाकार:कालूसिंह रणपहेंली
पहिलो संस्करण:अगस्त, 2026
मूल्य:रूपियाँ 300
पृष्ठ संख्या:182
15 अक्टुबर 2026, वर्ष:1, वेबाङ्क:4
@2026 collageonline.in. All right reserved
दशैँ र तिहारको हार्दिक शुभकामना

No comments:
Post a Comment