जेहाद अनि पपीफूल
बिहानै पोखरा फेवातालको सुन्दरता थ्री सिस्टर होटलको बरण्डाबाट अविराम आत्मसात् गरिरहेकी छु। मेरो हातमा तातो कफी छ। ट्रेकिङमा जाने मित्र मण्डलीको टोलीमा सामेल हुन मलाई र अनिता बहिनीलाई आग्रह छ।
गुलाबी फापर र पहेँलो तोरीको खेत असीमित रूपमा फैलिएका दृश्यहरूले हामी लोभिन्छौँ। सारनकोट उपत्यकाबाट अन्नपूर्णा र धौलागिरिको अनुपम दृश्य उतार्न व्यस्त छु। हाम्रो टोलीको फोटो खिच्न राजलाई बोलाउँछौँ।
‘‘मलाई यी फूलहरू पटक्क मनपर्दैन।’’ यसो भनेर राजले फोटो खिच्न मानेन।
मैले भनेँ, ‘‘राजज्यू! संसारमा तपाईंमात्रै होला फूल मन नपराउने मानिस।’’
‘‘कारण के छ राजज्यू?’’
अरुणको प्रश्नको अग्लाइ बढ़्दै गयो। फूर्तिलो राज ट्रेकिङ टोलीको अगुवाइ गर्ने अभिभारा ऊसित छ। ब्रिटिश आर्मीबाट सेवानिवृत्त राज यसघरी ह्याभरस्याकभरि सुन्तला, पानी र ड्राइफ्रूट बोकेर हिँड़िरहेको छ। उसलाई देखेर विश्वेश्वरप्रसाद कोइरालाको सिपाही मेरो मानसपटभरि रिँगिरहेको थियो। दोबाटो छुट्टिएका बाटाहरूमा पाकेका धानका सुनौला फाँटमा बिसाएर राजले आफ्नो स्पष्टीकरणमा केही कुराहरू भन्दै थियो। अनुहारभरि लुकाउन खोजेर पनि बिस्मातका रेखाहरू प्रकटित भइरहेथ्यो।
तिनताक हाम्रो रेजिमेन्ट यु॰के॰बाट अफगानिस्तान स्थानान्तरण भएको थियो। म र मेरो साथी डेभिड अलिक अनुशासनहीन, पेट्रोलिङ जाँदा सिनियर अफिसरको आँखा छली बियर खाने गर्थ्यौँ। हामी चर्को घाममा निरन्तर हिँड़िरहेका थियौँ। रूखको छहारीमा बस्न मनाही थियो। आतङ्कवादीहरूको बम र गोलाको वर्षात हुन्थ्यो। मरुभूमिको माझमाझमा पपीफूल अर्थात् अफिमको बघैँचा थियो। पेट्रोलिङ ड्युटीमा साथीहरू अघाड़ि हिँड़िरहेका थिए। म र डेभिड पछाड़ि थियौँ। बघैँचामा एउटा मानिस कालो लुगाले अनुहार ढाकेर फूल गोड़्दै थियो। अचानक उसले स्टेनगनले गोलीको वर्षा गऱ्यो। डेभिडले त्यही बघैँचामा नै आतङ्कवादीलाई गोली हानेर लड़ाइदियो। तर हामीले अन्य साथीहरू र डेभिडलाई बचाउन सकेनौँ। पपीफूलमा रगतको होली थियो। उनीहरू जेहादका निम्ति लड़्छन्। हामी त केवल पेटका निम्ति मात्र लड़्छौँ। त्यसपछि मलाई विरक्त लाग्यो अनि मैले राजीनामा दिएर आफ्नै देश फर्किएँ।
राजलाई फूल मन नपर्ने अज्ञात रहस्यका कुराले म मर्माहत भएँ। रक्ताम्मे लड़ेका साथीहरू। रातै रगत बगेको पपीफूल। उसको स्मृति बिम्ब मेरा निम्ति भयावह सपनाजस्तो बनिदियो। मेरो मनमा संवेदनाका लहर उठ्यो। अनि त्यो मेरो जीवनको अनन्तकालसम्मका निम्ति मनभित्र बस्यो। त्यसपछि फेवातालभरि हाँसेको माछापुछ्रेलाई क्यामेरामा कैद गर्ने चाहनाको अन्त भएको थियो।
माथि शान्ति स्तूपबाट भने बुद्धं शरणं गच्छामिको ध्वनि आकाशिँदै थियो।

दामी कथा ।
ReplyDelete