(सुधा एम राई प्रतिष्ठित कवि, कथाकार , अनुवादक हुनुहुन्छ। कविता,कथा र अनूदित कृतिहरू जम्मा छवटा प्रकाशित छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय साहित्यिक कार्यक्रममा भारतीय नेपाली साहित्यका प्रतिनिधित्व गर्नुभएकी छे। विभिन्न पुरस्कार र सम्मानकी धनी राई शिक्षा विभाग, सिक्किम सरकारमा उपनिदेशक हुनुहुन्थ्यो।)
सुधा एम राई
एपिटाफ ...
चिहानका लस्करहरूबीच एकलै हिँडिरहेछु म। चिहान बोल्दैनन्। म पनि चुपचाप हिँड़िरहेछु। एउटा सिङ्गो इतिहास भुइँमा लड़िरहेछ। आफु हिँडे़का पदचापहरूले टेकेका सुकेका पत्करको चरप् चरप् आवाज, चराहरूको अव्यक्त चिरविर बाहेक छ त केवल मैले फेरेको निक्खुर वेदनायुक्त सास।
हज्जारौँ चिहानमा निदाएका शहिदलाई नमन गर्दै मेरो नितान्त एकलो हिड़ाइ अथाह पीड़ा, मनमा अनेकौं कौतुहलता, निर्जन र एक अजीब शान्त वातावरणमा जारी रह्यो केही समयसम्म मेरा निरुत्तर पाइलाहरू। मलाई अग्घोेरै भावुक बनायो।
जयरामपुर, आसम र अरुणाचल प्रदेशको सिमान्त यो ठाउँ देखि लगभग सातआठ किलोमिटर टाड़ामा अवस्थित यो ठाउँ - दोस्रो विश्व युद्धमा मरेका सिपाहीहरू (अमेरिकी, अफ्रिकी, बर्मी, भारतीय) का एकहजारभन्दा ज्यादा चिहानहरू छन्। तीन ऐकरमा फैलिएको यो ऐतिहासिक ठाउँ एकदमै निर्जन र एकान्तीय मात्र होइन तर मान्छेले भुल्दै गएको इतिहासको धुमिल एक एपिटाफ ... । युद्धमा मारिएका भन्दा पनि हैजा, बिमारी, जङ्गली जनावरको आक्रमण, प्राकृतिक आपदामा परेर ज्यान गुमाएका यी सिपाहीहरू एउटा लामो वैकल्पिक बाटोको (चाइना देखि बर्मा हुँदै भारतको आसम) निमार्णमा खटिएका सहबन्धी सिपाहीहरू थिए।
जयरामपूुर, जागुन, लेखापानी, लेदो, मार्गरिटा बजार, कोल इण्डियाको हेरिटेज र म्यूजियम, डिगबोईको प्रसिद्ध ओयल रिफाइनरी हेर्ने मौका पाएँ। लेखापानी ठाउँले इन्द्रबहादुर राई सरको कथा ' जयमाया आफू मात्र लेखापानी आइपुगी' कथा पुनः स्मरण भयो। फर्कदै गर्दा युद्धको पीड़ा र अज्ञात सिपाहीहरूका सिमेट्रीले एक किसिमको अव्यस्थित हलचल मनमा भइरह्यो। देशलाई माया गर्छु भन्नेमा मैले के दिएँ। दिँदैछु। दिइरहेछु।
ड्राइवर भाइले बाटामा दुइ ठाउँ चिया र खाजा खान रोके। एकदमै मीठो, सफा र सस्तो। दुवै नेपाली दोकान रहेछन्। गर्व लाग्यो।
बोन्दिता र मञ्जितको कल घरिघरि आइरहेछ। दिदी ( मलाई) लाई ढिलो हुन्छ। कहाँ आइपुग्यो? इत्यादि। आज राती साँडे़ नौमा राजधानी एक्सप्रेस ट्रेनमा फिर्नु छ। यसपटकको यात्रामा पुरस्कारको अलक अनुभव (पछि लेख्नेछु भनेर सोचेकी छु), मागुरी बिल लेकको सुन्दरता, जयरामपुरको दोस्रो विश्व युद्ध म्यूजियम, तीनसुखियाको विशाल पुस्तक मेला, जुविन गार्गको अन्तस्करणीय गीत र मेरा केही बन्धुहरूको माया आफूसित लिएर ट्रेन स्टेशनतिर लागिरहेछु।
13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1

No comments:
Post a Comment