अनुवाद



(डच शहर लिडेनकी श्रीलक्ष्मी श्रेष्ठ नेवाः,नेपाली र डच भाषाका अध्यापनमा संलग्न हुनुहुन्छ। नेवाः भाषामा कथा, कविता, समालोचना, जीवनी, निबन्ध विधामा उहाँले जम्मा नौवटा कृति प्रकाशित गरिसक्नुभएको छ।)

श्रीलक्ष्मी श्रेष्ठ

भग्नावशेष

मानिसहरू जतिसुकै धार्मिक कार्य गरे पनि, छतको एउटै बिमका लागि टाउको फुटाउने गरी झगड़ा गर्ने प्रवृत्ति संसारबाट हराएको छैन। चन्द्रमान र चन्द्रमायाले जिउँदो हुँदा नै सम्पत्तिको लागि वकिलहरूलाई पैसा तिरेर खेरो नपरोस् अनि आपस्तमा झगड़ा परेको झिँजोमा टाउको दु:खाउन नपरोस् भनेर आफ्नो जग्गा र सम्पत्ति सबै छोरालाई समान रूपमा दिए।

कसैले पनि सानो घर छोड़्छु भनेनन् किनभने यो उनीहरू जन्म भएको  पूर्खाहरूको कुल घर थियो। जता हेरे त्यतै ह्वाङ्गै देखिने धुजाधुजा परेको थाङ्नाजस्तो छानादेखि तल्लो तलासम्म पानी चुहुने थोत्रो घर पनि बुढ़ाबुढ़ीले चारजनालाई चार भागमा बाँड़िदिए। तर कोही पनि त्यो घरमा बस्ने होइनन्। सबैजना आ-आफ्नो चाहिँदो कुरा लिएर आ-आफ्नो भागको कमरा किराया दिएर एउटै घरलाई चारवटा बनाएर सुव्यवस्थामा बसिरहेका थिए।

अंशबण्डा गरिसकिएपछि दुवै आमाबाबु राहतको सास फेरे। जिम्मेवारीबाट मुक्त महसुस गर्दै, उनीहरू जतै गए पनि हुन्छ भन्ने दुवै क्रमैसँग मरे।

दुर्भाग्यवश! ठूलो भुइँचालोले घर ध्वस्त पाऱ्यो। सगोलमा एउटा घर ! वर्षौँ बिते,तर त्यो घर बनाउन ती चारजनाले कहिल्यै सहमति जनाएनन्। चाहेर होइन लोभले विभाजित घरलाई कसैले कसैलाई पनि छोड़्न मानेनन्। धेरै बिराली मुसा नमारी भनेजस्तो हिस्सा चेपिरहनेहरू पनि मरे। बिचरा पुर्खाको घर !  आफ्नो पीड़ा र भुइँचालोको सम्झनाको रूपमा भग्नावशेष बनेर झुक्रिएर बसिरहेको छ।

 (योगवीर शाक्यद्वारा मूल नेवा: कथाको अनुवाद)



13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1

No comments:

Post a Comment