स्मृतिबाट हराएका सेनानी जोम्बे पावल
कालेबुङका प्रमुख स्वतन्त्रता सेनानीहरू मध्ये जोम्बे पावल पनि एकजना थिए। उनले पनि जङ्गवीर सापकोटालाई काङ्ग्रेसको कार्यक्रम अगि बढाउने कार्यमा सक्रियता पूर्वक सघाउने गर्थे। अर्काको थिचोमिचो सहन नसक्ने अनि गरिब बेसहाराको दुःख हेर्न नसक्ने स्वतन्त्रता सेनानी जोम्बे पावल 'भारत छोड़ो आन्दोलन' र स्वदेशी वस्तुको प्रयोग अनि विदेशी वस्तुको बहिष्कार 'आन्दोलनमा' पुलिसबाट धेरै चुटाइ भेटेका थिए। तिनीमाथि पुलिसको कड़ा नजर थियो। पुलिसद्वारा बेला-बेलामा उनको घरको तलाशी लिइन्थ्यो।
जोम्बे पावल बमबस्तीका मण्डल लाटुक छिरिङ लेप्चाका सुपुत्र थिए। उनको जन्म खरसाङमा सन् 1883 तिर भएको थियो। छैटौँ श्रेणीसम्म शिक्षा ग्रहण गरे।
सानैदेखि समाज सेवा भावना भएकाले औषधि विज्ञानको अध्ययन गरेर विरामीहरू निको पार्ने कार्यतिर लाग्दा मानिसले उनलाई डाक्टर जोम्बे पावल भनेर पनि सम्बोधन गर्ने गर्थे। यसरी खरसाङबाट कालेबुङ आएर यहाँका काङ्ग्रेसीहरूसँग लागेर भारतको स्वतन्त्रता सङ्ग्राममा सक्रिय रूपले भाग लिए। उनका सन्तानहरूमध्ये छोरा मणि पावल, शनि पावल, रविन पावल र छोरी शान्ति शिला भए। शान्ति शिला विवाहिता भएर बम्बई लागिन् अनि आफ्नी छोरी भेटन सन् 1943-मा साट्ठी वर्षको उमेरमा उनी बम्बई लागे अनि कालेबुङ फर्कन्दा बाटोमै हराए। जसरी जीवन र मृत्यु दुवै बीचको रहस्य भएर सुभाषचन्द्र बोस चर्चित भए त्यसरीनै जोम्बे पावल पनि... तर जसरी स्वतन्त्रता सेनानीप्रेमीले सुभाषचन्द्रलाई खोजे त्यसरी नै जोम्बे पावललाई कसैले खोजेनन् अनि जोम्बे पावल कहिल्यै फिरेनन्। उनी सबैको स्मृतिबाट बिस्तार-बिस्तार हराउँदै जाँदैछन्।
साभार: कालिम्पोंगका स्वतन्त्रता संग्रामीहरू
15 अगस्ट 2026,वर्ष:1,ई-अङ्क:2
