15 Aug 2026

आजाद हिन्द फौजका वीर योद्धा भीमबहादुर खड़का


आजाद हिन्द फौजका वीर योद्धा भीमबहादुर खड़का

१. उनी अत्यन्त साहसी र निर्भिक व्यक्ति थिए। शत्रुले घेरिसकेको अवस्थामा पनि नदी पार गरेर ज्यान जोगाउनु उनको अदम्य साहसको उदाहरण मान्न सकिन्छ। भोक थकान र अनिश्चितताको सामना गर्न सक्ने क्षमता र अक्कल उनमा देखिन्छ।

२.सङ्कटको समयमा पनि धैर्यले काम गर्नुपर्छ भन्ने चेतना उनमा रहेको पाइन्छ। युद्धबन्दी बन्नु र कठिन शारीरिक श्रम गर्नुपर्ने परिस्थितिमा पनि उनी कहिल्यै निराश भएनन्। परिस्थितिसित समझौता गर्न सक्ने क्षमता उनमा थियो।

३.भारत स्वतन्त्र गर्नुपर्छ भन्ने चेतनाले सधैँ उनी झस्कन्थे। त्यसैले उनले आफूलाई आजाद हिन्द फौजमा सम्मिलित गराए।

४.भीमबहादुर खड़का प्रतिभाशाली व्यक्तित्त्वका धनी थिए। उनी कलाकार, लेखक, अनुवादक, उद्घोषक र सञ्चार कर्मी पनि थिए। यसै प्रतिभाको कारण उनलाई आजाद हिन्द फौजले रेडियो कार्यक्रमको महत्त्वपूर्ण जिम्मावारी दिएको थियो।

५.उनी प्रभावकारी वक्ता पनि थिए। रेडियोबाट समाचार प्रसारण गर्नु, युद्धको समीक्षात्मक टिका टिप्पणी प्रसारण गर्नु अनि प्रभावकारी गोर्खाली भाषामा रेडियोमा कार्यक्रम सञ्चालन गर्नु उनको विशेषता रहेको पाइन्छ।

भीमबहादुर खड़का दार्जीलिङको प्रतिष्ठित परिवारमा जन्मेका थिए। उनले घुम प्राथमिक पाठशालाबाट प्रारम्भिक शिक्षा शुरु गरेका थिए भने दार्जीलिङ सरकारी पाठशालामा अध्ययन गर्दा नै विश्वयुद्ध चर्किएकोले उनले आफ्नो अध्ययनलाई त्यागेर पल्टनमा भर्ना हुनुपरेको विवशता थियो।

सन् 1940-मा उनी घुमको गोर्खा रिक्रुटिङ डिपोबाट भर्ती भएर देहरादुनको गोर्खा रेजिमेन्टबाट सैनिक प्रशिक्षण प्राप्त गरेका थिए। प्रशिक्षणपछि उनको नियुक्ति 2/9 गोर्खा राइफल्समा भएको थियो। दोस्रो विश्वयुद्ध चर्किदै जाँदा उनको बटालियनलाई दक्षिण-पूर्व एशियातर्फ पठाइयो। जहाँ जंगली युद्ध, गोरिल्ला युद्ध, रात्री युद्ध जस्ता कठिन सैन्य अभ्यासहरू समाप्त गरेका थिए।

सन् 1941-मा जापान युद्धमा प्रवेश गरेपछि गोर्खा पल्टन प्रत्यक्ष रूपमा युद्धमा होमियो। अलोरस्टार क्षेत्र लगायतका स्थानमा जापानी सैन्यसित भीषण युद्ध छेड़ियो। रातको समयमा भएको एक आकस्मिक आक्रमणमा गोर्खा सैनिकहरूले राइफलसितै आफनो परम्परागत खुकुरी प्रयोग गरेर वीरतापूर्वक शत्रुहरूलाई तितिरबितिर बनाए। यद्यपि जापानी सैन्य सङ्ख्या र हतियारको दृष्टिले सबल भएको हुनाले गोर्खा सेना पछि हट्न पर्‍‍‍यो। धेरै गोर्खा सेना मारिए तर भीमबहादुर खड़का भाग्यले बाँचे।

सलिम नदीको किनारमा विश्राम गरिरहेको बेला जापानी सेनाले अचानक ट्याङ्कबाट आक्रमण गरेपछि गोर्खा सैनिकहरू ठूलो सङ्कटमा परे। पुल समेत भत्किएपछि भाग्ने बाटो बन्द भयो। यस्तो कठिन अवस्थामा भीमबहादुर खड़का र कुम्भसाहीले साहसपूर्वक नदी पार गरी, लुकेर भोक तिर्खा सहँदै आवश्यक परेको समय भेष बदलेर अघाड़ि बढ़े। आखिरमा उनीहरूले आफ्ना केही साथीहरूसित भेटे र शिविरमा पुगे।

सन् 1942-मा सिङ्गापुर जापानी सेनाको हातमा परेपछि ब्रिटिस सेनाका सहस्र सिपाही युद्धबन्दी बनाइए। यसमा भीमबहादुर खड़का पनि युद्धबन्दी भए। युद्धबन्दीमा रहँदा उनले अनेकौँ दुःख-कष्ट भोग्नु पऱ्यो। यसै युद्धबन्दीकै समयमा भारत स्वतन्त्र गर्नको निम्ति राजविहारी बोस र जनरल मोहनसिंहको नेतृत्त्वमा आजाद हिन्द फौज गठन गर्ने वातावरण सृजना भयो। जनरल मोहनसिंहको आह्वानमा भीमबहादुर खड़का पनि आजाद हिन्द फौजमा सामेल भए।

संक्षेपमा भन्नुपर्दा भीमबहादुर खड़का युद्धभूमिमा बन्दुक बोकेर हिड़ने साधारण सिपाही मात्र थिएनन् तर उनी स्वतन्त्रताको चेतना फैलाउने, सञ्चारकर्मी र सृजनशील व्यकतित्त्वमा रूपमा पनि उनी गोर्खाली संसारमा सश्रद्धा स्मरणीय छन्। साइगोन रेडियोबाट गोर्खाली कार्यक्रम प्रसारण गर्ने प्रथम व्यक्तिको रूपमा उनको योगदान विशेष स्मरणीय रहेको छ। उनको वीरता, धैर्य, कर्तव्यनिष्ठा, भाषिक क्षमता र सृजनशीलताको समन्वय उनको व्यक्तित्त्वमा निहित रहेको पाइन्छ।



15 अगस्ट 2026,वर्ष:1,ई-अङ्क:2