15 Aug 2026

ताम्रपत्रधारी लालबहादुर बस्नेत


ताम्रपत्रधारी लालबहादुर बस्नेत

लालबहादुर बस्नेत दार्जीलिङको नागरी चिया बगानमा सन् 1922-मा जन्मिएका वीर स्वतन्त्रता सेनानी हुन्। बाल्यकालमा नै आमा-बाबुको काख खोसिएको हुनाले उनले कठिन परिस्थितिमा शिक्षा हासिल गरेका थिए। दोस्रो विश्वयुद्धको समयमा सन् 1940-मा उनले सेनामा भर्ना भएर सैनिक प्रशिक्षण प्राप्त गरेका थिए। युद्धको समयमा उनी जापानी सेनाबाट युद्धबन्दी बनेका थिए।

यसै समयमा उनी भारत स्वतन्त्रताको निम्ति आजाद हिन्द फौजमा सामेल भए। नेताजी सुभाषचन्द्र बोसको नेतृत्वमा पुनः गठित आजाद हिन्द फौजको गोरिल्ला रेजिमेन्टको गुप्तचर विभागमा उनले गुप्तचरको पदभारलाई सम्हालेका थिए। युद्धको नाजुक परिस्थितिमा आराकान लगायत विभिन्न क्षेत्रहरूमा सक्रिय भएर स्वतन्त्रताको निम्ति डटेर खटेका थिए।

स्वतन्त्रतापछि उनले कोइला खानीमा धेरै लामो समयसम्म काम गरे। त्यसपछि कलेबुङको पुदुङ गाउँमा फर्केर आएपछि खेतीपातीको काममा संलग्न भए। उनले स्वतन्त्रता संग्राममा दिएको योगदानको सम्मानस्वरूप भारत सरकारले सन् 1972-मा ताम्रपत्र र स्वतन्त्रता सेनानी सम्मान पेन्सन प्रदान गरेर उनको सम्मान जनाएको छ।

साराशंमा भन्नुपर्दा लालबहादुर बस्नेत व्यक्तिगत सुख सुविधा र स्वार्थभन्दा देशको स्वतन्त्रतालाई प्राथमिकता दिन्थे। उनी युद्धबन्दी बनेपछि पनि साहस र वीरतासित निराश नभइकन आजाद हिन्द फौजमा स्वयम् सेवकको कार्य गरिरहे। जीवनलाई जोखिममा राखेर भए तापनि स्वतन्त्रता संग्राममा निरन्तरता दिनु चानचुने विषय थिएन। उनले गोरिल्ला रेजिमेन्टमा गुप्तचर जस्तो अग्रिम मोर्चामा रहेर आफ्नो दायित्व पूरा गरेका थिए। उनी कर्तव्यनिष्ट स्वतन्त्रता सेनानी थिए। उनको त्याग समर्पणबाट धेरै शिक्षा प्राप्त प्राप्त गर्न सकिन्छ।



15 अगस्ट 2026,वर्ष:1,ई-अङ्क:2