ईस्वी सन् 1920-21-तिर देशको अरू ठाउँहरूमा जस्तै दार्जीलिङका शहर-बजार, गाउँ-बस्ती तथा चिया कमानतिर पनि महात्मा गाँधीज्यूले चालेका असहयोग आन्दोलनको हुरी चलिरहेको थियो। चारैतिर 'वन्दे मातरम'-को नारा गुञ्जिरहेको थियो। यही समयमा मिरिकको गोपालधुरामा 1909-मा जन्मेका नरवीर लामा पनि महात्मा गान्धीबाट प्रभावित भएर यस्ता आन्दोलन र कार्यक्रमका नीतिहरूको प्रचार-प्रसार गरिरहेका त्यसताकका वरिष्ठ सङ्ग्रामी भगतवीर तामाङको देखासिकी गाउँ-बस्ती-कमानतिर घुमी-घुमी प्रचार गर्नथाले। गाउँघरका अशिक्षित जमातमा नरवीर लामा केही पढ़ेका र हिन्दी र नेपालीमा लेखिएका प्रचार-प्रसार सामग्रीहरू पढ़न सक्षम थिए र स्वतन्त्रता सङ्ग्रामको प्रचार-प्रसार सामग्रीहरू गाउँ-घर-कमानको कुना-कुना घुमेर पढ़ेर सुनाउन थाले। उनको स्वतन्त्रतता सङ्ग्रामको यो प्रचार-प्रसार सुन्नु कमानवासीहरू पनि उनैलाई पर्खिबस्थे।
देशभरि फैलिरहेको स्वतन्त्रताको आन्दोलनको झिल्का मिरिकको गोपालधारामा पनि पसिसकेको थियो। यस्तो सङ्घर्षको पृष्ठभुमिमा गोपालधारा चिया कमानमा काम गर्ने श्रमिकहरूको बिचमा पनि स्वतन्त्रता सङ्ग्राम बारेमा चर्चा हुनु स्वाभाविक थियो। यस्तो चर्चा चुलिनुको मुख्य कारण थियो नरवीर लामा।
रात परेपछि नरवीर लामाले कमानका श्रमिकहरूलाई एक ठाँउ थुपारेर गाँधीज्युको त्यसताक चलिरहेका आन्दोलनको बारे बढ़ो उत्तेजना र जोशसित सुनाउथे। देशमा जति राजनीतिक गतिविधि फैलिँदै गयो गोपालधारा चिया कमानमा पनि नरवीर लामाको नेतृत्वमा यस्ता गतिविधि बढ़्दै गए। राति-राति गरिने काम अब दिउँसै हुनथाल्यो। नरवीर लामाले दिउँसै खुल्लमखुल्ला श्रमिकहरूलाई स्वतन्त्रताको महत्त्व बुझाउन थाले।
नरवीर लामा शारीरिक बनावटमा होँचो कदको भए पनि कसैसित डराउँदैन थिए। कमानका अङ्ग्रेज बाबुहरूले उसको यो कार्यकलाप देखेर सतर्क भए र उसलाई श्रमिकहरूलाई भड़्काएर कमानमा अशान्ती मचाउने अभियोग लगाएर कमानबाट निष्कासित गरे अर्थात हट्टा बाहिर गराए।
कमानबाट बाहिर भए पनि उनी किञ्चित विचलित भएनन्। उनी सोझै कालेबुङ आएर त्यसताकका गाँधीका परम अनुयायी जङ्गबीर सापकोटाको अधीन काम गर्न थाले। जीवनपर्यन्त उनी सापकोटाको सहयोगी भएर काम गरे। भनिन्छ नरवीर लामा बोल्दा अङ्ग्रेज अधिकारीहरूको मुटु काँप्थ्यो'रे अनि उनको भाषण सुनेर श्रोताहरूमा उत्साह र जोश सञ्चार हुन्थ्यो'रे।
उनी गाँधीजीको 'नमक आन्दोलन' र 'अङ्ग्रेज भारत छोड़ो' आन्दोलनमा हित्तचित्तले सहभागी भए। 'अङ्ग्रेज भारत छोड़ो' आन्दोलनमा सक्रीयरूपमा भाग लिँदा थुप्रै वरिष्ठ आन्दोलनकारीहरूसित नरवीर लामा पनि पक्रा परे।
नरवीर लामाले आफ्नो जीवनकालमा देश स्वाधीन भएको हेर्न पाए। स्वाधीन देशमा उनी कुनै प्रकारको अनुदान र सहुलिएतको पछाड़ि लागेनन् । कालेबुङमै उनले बिहे गरे अनि हाटबजारमा चिया पसल खोलेर जीवन चलाए।
1969-सालमा 60 वर्षको उमेरमा नरवीर लामाको हाटबजारस्थित निवासमा स्वर्गवास भयो।
