15 Aug 2026

मजदुर युनियनदेखि स्वतन्त्रता सङ्ग्रामसम्म: भक्तबहादुर प्रधान


मजदुर युनियनदेखि स्वतन्त्रता सङ्ग्रामसम्म: भक्तबहादुर प्रधान
स्वतन्त्रता सङ्ग्रामीहरूका अदम्य साहसका कारणले नै अन्त्यमा भारत स्वतन्त्र भयो। स्वतन्त्रताको आन्दोलनमा स्वतन्त्रता सङ्ग्रामीहरूले विभन्न प्रकारले सहयोग गरेका थिए। स्वतन्त्रता सङ्ग्रामीहरुमा भक्तबहादुर प्रधानको नाउँ पनि अविस्मरणीय छ।

भक्तबहादुर प्रधानका प्रमुख विशेषताहरू:
क- भक्तबहादुर प्रधान भारतको स्वतन्त्रता आन्दोलनका एक समर्पित स्वतन्त्रता सेनानी तथा श्रमिकका कुशल नेता थिए।
ख- उनमा सानैदेखि देशप्रेम, सामाजिक न्याय र मानवताप्रतिको गहिरो भावना थियो।
ग- श्रमिकप्रति भएको शोषण, अन्याय, अत्याचार र अमान्य व्यवहार देखेर उनले त्यसको सधैँ विरोध गरिरहे।
घ- गाँधीजी, चित्तरञ्जनदास र जवहारलाल नेहरू जस्ता नेताबाट प्रेरणा लिएर उनी राष्ट्र सेवामा समर्पित भएका थिए।
ङ- उनले कम्पनीमा राम्रो पदमा काम गरे तापनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर उनले समाज र श्रमिकवर्गको हितलाई ध्यानमा राखेर कार्य गरेका थिए।

भक्तबहादुर प्रधानले स्वतन्त्रता आन्दोलनमा सक्रिय भई काङ्ग्रेस पार्टीको सदस्यको रूपमा सङ्गठन विस्तार गरेका थिए। यसरी उनले दिनमा सरकारी जागीर गर्दै, रातको समयमा लुकीछिपी काङ्ग्रेसको सदस्यता विस्तार गर्ने र गाउँमा विभिन्न सभा योजना गरेर जनचेतना फैलाउने कार्य गरेका थिए। डिगबोइ तेल कम्पनीका श्रमिकहरुका हकहित र अधिकारको लागि सक्रिय भएर कार्य गरेका थिए।

भक्तबहादुर प्रधान भारतका एक साहसी स्वतन्त्रता सेनानी, समर्पित श्रमिकनेता र समाजसेवी थिए। बाल्यकालदेखि नै कठिन जीवन भोग्दै हुर्किएकाले उनले श्रमिकहरूको दुःख-पीड़ालाई आफ्नै पाड़ा सम्झेर उनीहरूको हकहितको निम्ति डटेर सङ्घर्ष गरे। उनी गाँधीजी र अन्य राष्ट्रिय नेताहरुद्वारा प्रेरित भएर स्वतन्त्रता आन्दोलनमा सहभागी भएका थिए। काङ्ग्रेसको सङ्गठन विस्तार गर्नु श्रमिक सङ्गठनको स्थापना र उनीहरूको अधिकारको सुरक्षाको रक्षा गर्नु, उनको जीवनको मुख्य उद्देश्य थियो। उनको जीवनले देशप्रेम, इमानदारी, साहस, त्याग र सामाजिक न्यायको प्रेरणादायी उदाहरण प्रस्तुत गर्दछ ।

उनी आर्थिक अभाव र पारिवारिक पीड़ाबीच पनि राष्ट्रसेवा र समाजसेवा नछोड़ने कर्मयोगी योद्धा थिए। उनले कामबाट निकालिएका श्रमिकहरुलाई पुनः बहाल गराउने आन्दोलनको नेतृत्व गरेका थिए। डिगबोइ तेल कम्पनीको ऐतिहासिक अनशनमा सक्रिय भूमिका निभाएका थिए। यतिमात्र होइन, उनले अनशनरत श्रमिकहरुको निम्ति अन्न, औषधी, लुगाफाटा र अन्य सहयोगहरु पुऱ्याएका थिए। श्रमिक युनियनमा काम गर्ने क्रममा जेल थुनुवा पर्दा, जेलमा स्वतन्त्रता सङ्ग्रामीहरूको संसर्गमा परेर उनी पनि स्वतन्त्रता सङ्ग्राममा होमिएका थिए। एकपल्ट उनलाई अङ्ग्रेज सरकारले 72 घण्टाभित्र आसाम छोड़ेर बाहिर जाने आदेश दिइयो।

त्रिपुरा र अन्य स्थानमा रहँदा उनले आध्यात्मिक अध्ययन र साधना पनि गरेका थिए। गुरु अनुकुल ठाकुरबाट नैतिक, आध्यात्मिक र सामाजिक जीवनको प्रेरणा प्राप्त गरेका थिए। साधुको भेष धारण गरेर विभिन्न स्थानमा देशभक्ति र सामाजिक चेतनाको प्रचार गर्दै गाँउ गाँउ पुगेर लागू प्रदार्थ विरुद्ध जनचेतना फैलाउने कर्मठ स्वतन्त्रता सेनानी थिए ।

भक्तबहादुर प्रधानको जन्म 28 मार्च 1901-को दिन तीनधारेमा भएको थियो। उनको कर्मथलो आसाम राज्यको 'असम नेपाली साहित्य परिषद'-ले सम्मानस्वरूप उनको जीवनी 'आजीवन सङ्ग्रामी भक्तबहादुर प्रधान' उनको 90-औँ जन्मदिनमा प्रकाशित गरिदिएकोछ।


15 अगस्ट 2026,वर्ष:1,ई-अङ्क:2