15 Aug 2026

साइँली दिदी हेलेन लेप्चा




साइँली दिदी हेलेन लेप्चा

हेलेन लेप्चा भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी पहाड़की एक साहसी महिला तथा समाजसेवी थिइन्। उनलाई यस क्षेत्रका लेप्चा समुदायबाट राष्ट्रिय आन्दोलनमा अग्रपङ्क्तिमा उभिने महिलामध्ये एक मानिन्छ। आफ्नो नि:स्वार्थ सेवा, देशप्रेम, साहस र त्यागका कारण उनलाई आज पनि सम्मानका साथ सम्झिन्छ। उनले स्वतन्त्रता आन्दोलनमा मात्र होइन, समाजसेवा, स्वास्थ्य सेवा र मानव कल्याणका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याएकी थिइन्।

हेलेन लेप्चाको जन्म सन् 1902 मा तत्कालीन  सिक्किमको लेप्चा परिवारमा भएको थियो।तर उनको परिवार खरसाङमा बसाई सरेको थियो। आर्थिक रूपमा सम्पन्न परिवारबाट नभए पनि उनले जीवनमा शिक्षा र सामाजिक चेतनाको महत्त्व बुझेकी थिइन्। त्यसबेला जताततै अङ्ग्रेजको चङ्गुलबाट छुटकारा पाउनका लागि आन्दोलन चलिरहेको थियो। उनको युवा मन पनि त्यस आन्दोलनप्रति आकर्षित हुन स्वाभाविक थियो।

उनी महात्मा गाँधीको सत्य, अहिंसा र स्वदेशी आन्दोलनबाट अत्यन्त प्रभावित भइन्। गाँधीका विचारले उनलाई देशको स्वतन्त्रताको लागि काम गर्न प्रेरित गर्‍यो। उनले खादीको प्रयोग, विदेशी वस्तुको बहिष्कार तथा जनचेतना फैलाउने अभियानमा सक्रिय भूमिका निभाइन्। पहाडी क्षेत्रमा स्वतन्त्रता आन्दोलनलाई बलियो बनाउन उनी कलकत्ता गई चर्खा चलाउने तालिम लिइन् र गाउँ–गाउँ पुगेर जनतालाई राष्ट्रिय आन्दोलनमा सहभागी हुन प्रेरित गरिन्।

हेलेन लेप्चाको सबैभन्दा ठूलो विशेषता भनेको उनको सेवाभाव थियो। बिहारमा बाढ़्ले पीड़ित मानिसहरूको सहयोग गर्न उनी बिहारसम्म पुगिन्। उनी बिरामी, गरिब, वृद्ध तथा असहाय मानिसहरूको सेवा गर्न सधैं अग्रसर हुन्थिन्। स्वतन्त्रता आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीहरूको उपचार, हेरचाह र आवश्यक सहयोग उपलब्ध गराउने काममा उनी निरन्तर सक्रिय रहिन्।उनले झारिया कोइला खानीका आदिबासी महिला मजदूरहरूलाई एकत्रित गरिन् , शोषणको बिरुद्ध जुलूसको नेतृत्व गरिन् ।

एकपल्ट गोर्खा सत्याग्रहकारीलाई लिएर सिलगड़ीमा सक्रिय सहभागी रहँदा उनलाई जेलमा थुनेको थियो। उनले धेरै पल्ट ब्रिटिश शासनको निगरानी र दमन पनि सहनुपर्‍यो। स्वतन्त्रताको पक्षमा खुलेर काम गरेकाले उनलाई अनेकौँ कठिनाईहरूको सामना गर्नुपरेको थियो। तर उनले आफ्नो लक्ष्यबाट कहिल्यै पछि हटिनन्। उनले नेताजी सुभाषचन्द्र बोसलाई खरसाङमा नजरबन्दबाट भगाउनका लागि गरेकी सहयोग उनको बहुमूल्य योगदान मानिन्छ। त्यसताक उनको दृढ़ आत्मविश्वास, साहस र देशप्रेमले पहाड़का धेरै युवक-युवतीलाई स्वतन्त्रता आन्दोलनमा सहभागी हुन प्रेरित गरेको थियो।

हेलेन लेप्चाको आन्दोलनप्रति सक्रियतामा प्रभावित भएर महात्मा गाँधीले उनलाई सारवमतीमा निम्तो गरे। गाँधीले पनि उनको सेवाभाव र समर्पणको प्रशंसा मात्र गरेनन् हेलेनलाई सवित्री देवी नामाकरण गरेका थिए।

भारत स्वतन्त्र भएपछि पनि हेलेन लेप्चाले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिइन्। उनले विशेष गरी शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका क्षेत्रमा योगदान पुर्‍याइन्।

 सन् 1972 मा भारत सरकारले उनलाई स्वतन्त्रता सेनानीको रुपमा ताम्रपत्र सम्मानबाट विभूषित गरेको थियो। यो सम्मानले उनको समाजसेवा र राष्ट्रप्रतिको समर्पणलाई राष्ट्रिय स्तरमा मान्यता दिएको थियो। उनी सम्पूर्ण भारतका लागि प्रेरणाको स्रोत बनिन्। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा राष्ट्र र समाजको हितलाई सधैं प्राथमिकता दिइन्। कठिन परिस्थितिमा पनि धैर्य र आत्मविश्वासका साथ काम गर्ने उनको बानी सबैका लागि अनुकरणीय  तथा स्तुत्य छ।

हेलेन लेप्चाको निधन सन् १९८० को दशकमा भयो। यद्यपि उनी आज शारीरिक रूपमा हामीबीच छैनन्, उनका आदर्श, विचार र योगदान सधैं जीवित रहनेछन्। पहाडका मानिसहरू मात्र होइन, सम्पूर्ण भारतीयहरूले उनलाई स्वतन्त्रता सेनानी, समाजसेवी र मानवतावादी व्यक्तित्वका रूपमा सम्मान गर्छन्। 

हेलेन लेप्चालाई माहात्मा गाँधीले सावरमति आश्रममा भेट्‍‍दा सावित्री देवी नामाकरण गर्नुभएता पनि स्थानीय जनमानसमा उनी 'साइँली दिदी'-को नामले धेरै प्रख्यात थिए।



15 अगस्ट 2026,वर्ष:1,ई-अङ्क:2