15 Aug 2026

ताम्रपत्र प्रापक गागा छिरिङ डुक्पा


ताम्रपत्र प्रापक गागा छिरिङ डुक्पा
स्वाधीनता सङ्ग्रामीहरू मध्ये एक प्रमुख सेनानी गागा छिरिङ डुक्पा सुकेपोखरी, परमागढ़ी बस्तीमा 7 दिसम्बर 1909 मा जन्मेका हुन् ।

गागा छिरीङले सुकेपोखरी एम. ई. (मिडल इङ्लिस) स्कूलमा पहिलो शिक्षा प्रारम्भ गरेर कलकत्ता विश्वविद्यालयबाट प्रथम श्रेणीमा मैट्रिक्यूलेशन परीक्षा पास गरे। उच्च शिक्षालाई बिराम दिएर उनले शिक्षण पेशा अप्नाए।

घूम र मिरिकका एम. ई. स्कूलहरूमा केही वर्षसम्म शिक्षक रूपमा काम गरेर सन् 1938 मा उनी गुरू ट्रेनिङ गर्न कालेबुङ लागे। कालेबुङबाट उनको जीवनमा नयाँ महत्वपूर्ण  मोड़ आयो। उनी प्राध्यापक ख्रीष्टदास प्रधान र पण्डित परमानन्द मिश्रबाट अति प्रभावित भए। कालेबुङमा गुरू ट्रेनिङ गर्नजाँदा उनलाई बोध भएको कुरा उनी यसरी वर्णन गर्छन्,-
"प्रोफेसर प्रधान र पंडित मिश्रबाट मलाई बोध हुनगयो कि हामी गुलाम रहेछौँ,विदेशी सरकारको अधीनमा हाम्रो शोषण भैरहेको रहेछ र ब्रिटिश पार्लियामेन्टले पारित गरेको नियमानुसार हामीलाई चल्नु पर्दो रहेछ । उहाँहरूका शिक्षा-दीक्षाले ममा ठूलो प्रभाव पऱ्यो। महात्मा गाँधीको नेतृत्वमा चलिरहेको स्वतन्त्रता सङ्ग्रामको अर्थ राम्ररी बुझेँ। विदेशी सरकारप्रति मेरो जुन विश्वास थियो सो हट्यो। ममा राष्ट्रीयताको भावना जागृत भयो ।"
दिसम्बर 1938 मा कालेबुङको मेलाटारमा काङ्ग्रेसी नेता प्रतिमान सिंह लामा, जोम्बे पावल, जंगवीर सापकोटा, जङ्गबीर छेत्री, शिवमङ्गल सिंह र डाक्टर ब्रिजेन्द्र कुमार पालका ब्रिटिश सरकारको नीति विरुद्ध जोशिला भाषणहरू सुनेर , त्यसपछि जङ्गबीर सापकोटाबाट खद्दर, चर्खा आदिको महत्व राम्ररी बुझेर उनी सुकेपोखरी फर्के। त्यसबेला नागरी फार्म चियाबगानमा चार कक्षासम्म मात्र पढ़ाउने व्यवस्था थियो। त्यस समय चियाबगानमा काम गर्ने श्रमिकहरूको आर्थिक अवस्था राम्रो थिएन । चार कक्षा पास गरी टाड़ा शहर-बजारका स्कूलहरूमा पठाई छोराछोरी पढ़ाउने क्षमता सबैमा थिएन। सुधारवादी विचार भएका गागा छिरिङले त्यस अवस्थामा आफ्नो कर्मस्थल नागरी फार्म चियाबगानलाई बनाए।। इन्द्रबहादुर राईको सहयोग पाएर उनले पाँचौं कक्षा खोले। तर बगानका मालिक र व्यवस्थापकहरू उच्च शिक्षाका विरोधी थिए। तैपनि सुधारवादी र क्रान्तिकारी विचारका व्यक्ति गागा छिरिङले तिनीहरूको विरोधको किञ्चित पनि परवाह नगरी आफ्नो लक्ष्यमा अगाड़ि बढ़े।

उनी टर्नबुल स्कूलका छ कक्षाका विद्यार्थीहरूलाई सरकारको विरूद्ध उस्काएको झुटो आरोपमा चार्ट सिट तयार गरी जेलमा तीन महीना र दुई सय रुपियाँ जरिमाना सुनाइयो। उनले जरिमाना तिर्न नसक्दा तीन महीनामाथि अझ तीन महीना अवधि बढ़ाइयो। यसपछि उनको नोकरी पनि रद्द भयो।त्यसताक गाँधीको स्वास्थ्य र खुशहाली कायम रहोस् भनी कारावास सजाय भोग गरिरहेका जङ्गबीर सापकोटा, गागा छिरिङ, हरिश छेत्री र जङ्गवीर राउतले दिन उपवास राख्ने निर्णय गरे। त्यस अन्तिम दिनमा कारावास भोगगर्ने अन्य कैदीहरू कसैले पनि खाना नखाँदा त्यहाँ एकाएक खलबली मच्चियो। कर्मचारीहरूले यो कुरा कारावास अधिकारीकहाँ पुऱ्याए। त्यस कुरालाई लिएर कारावासको अनुशासन भङ्ग गरी भोक हड़ताल गरेको अपराधमा कैदीहरूलाई एक महीनाको थप कठोर कारावास सजाय दिइयो । राजनैतिक कैदीको रूपमा उनलाई कारागारमा दोस्रो दर्जामा राखे। त्यहाँबाट रिहाई भएपछि उनले घूम एम. ई. स्कूलमा अध्यापकको काम पाए।। तर केही समयपछि अध्यापकको नोकरीबाट उनलाई बर्खास्त गरियो । त्यस साल उनी दार्जिलिङ जिल्ला काङ्ग्रेसका महासचिव निर्वाचित भएका थिए । दिसम्बर 1946 मा कलकत्तामा सम्पन्न भएको 'ऑल बेङ्गाल वर्कर्स कन्फरेन्स' मा एक प्रतिनिधिको रूपमा उनले भाग लिए। त्यसबेला उनले महात्मा गाँधीलाई भेट्ने अवसर प्राप्त गरेका थिए । त्यसपछि मेरठ, जयपुर, नासिक, दिल्ली आदि स्थानहरूमा भएका अखिल भारत काङ्ग्रेस अधिवेशनहरूमा उनले दार्जिलिङ जिल्ला काङ्ग्रेसको प्रतिनिधित्व गरेका थिए । उनले युवा तथा प्रौढ़ अवस्थामा गरेका बलिदान, त्याग ,तपस्या त्यसै खेरो गएन। देशलाई पराधीनबाट स्वाधीनतामा परिणत गर्न कार्यमा लागिपर्ने गागा छिरिङलाई स्वाधीन भारतको सरकारले 15 अगस्त 1972 देखि स्वाधीनता सेनानी सम्मान पेन्सन प्रदान गरेको थियो । 26 जनवरी 1973 को दिन ताम्रपत्र प्रदान गरी उनलाई सम्मानित गरियो ।

स्वतन्त्र सेनानी गागा छिरिङले शिक्षाको माध्यमले देशलाई  ब्रिटिशको चङ्गुलबाट मुक्त गराउन र श्रमिकको दयनीय जीवनमा उज्यालो ल्याउन आफ्नो सम्पूर्ण जीवन होमिए। स्वाधीन भारतमा पनि उनलाई श्रमिक कल्याण विभागान्तर्गत लेवर वेलफेयर वर्कर नियुक्ति गराइयो अनि दार्जिलिङ नगरपालिका स्कूलका अध्यापक बनाइयो। हामीले पनि उनको श्रेयलाई सम्मान गर्न सिकौँ।

15 अगस्ट 2026,वर्ष:1,ई-अङ्क:2