कवि भीम थापा
'मलाई महान् जनताको
अमूल्य भोट चाहिएको छ
पार्लियामेण्ट र एसेम्बलीमा पस्दा
लाउनुपर्ने एउटा कोट चाहिएको छ
तपाईंलाई सुख समृद्धि र मानव अधिकारको
स्रोत चाहिएको छ
तर यी सब नपाउँदा तपाईंको हृदयमा
गाढ़ा चोट लागेको छ
तपाईंको हृदयमा असीम क्रोध उठेको छ
जसलाई लगेर सरकारको सामु
पड़्काइदिने मेरो अठोट छ
यसैले मलाई
महान् जनताको
अमूल्य भोट चाहिएको छ।
ख्साधारण चुनावमा उम्मेद्वारको भाषण'
दार्जीलिङबाट शुरू गरिएको नेपाली साहित्यलाई नयाँ दिशा दिने साहित्यिक आन्दोलन आयामिक आन्दोलनलाई समेटिएर निस्केका पत्रिका फूल, पात, पत्करमा उनको सबेरै आउँछु, अबेर फर्कन्छु अनि तेस्रो आयाममा हुँ म एक जमदार प्रकाशित रहेको पाइन्छ। यसरी उनी अगमसिंह गिरीसँगसँगै कवि ईश्वर वल्लभ र वैरागी काइँलासितै आफ्नो कविता यात्रामा अघि बढ़ेको पाइन्छ। उनका समकालीन कविहरूमा वैरागी काइँला, ईश्वर वल्लभ, गुमानसिंह चामलिङ, सन्तवीर लकान्द्री, नवीन प्रसाद बान्तवा, खड़कसिंह ‘काँड़ा’, विक्रम रूपासा, सुवास घिसिङ, असीत राईलगायत अन्य धेरै कविहरू रहेका छन्।
सन् 1959 देखि नै निरन्तर कविता लेखनमा सक्रिय रहेर पनि आजसम्म उनको एउटै कविता सङ्ग्रह बुकीफूल 2012 मा प्रकाशित भएको पाइन्छ भने अर्को कविता सङ्ग्रह विश्वमन्दिर प्रकाशोन्मुख रहेको छ। सन् 1960 मा आयोजित विराट् साहित्यिक गोष्ठीमा कविता विधामा उनले प्रथम पुरस्कार प्राप्त गरेका हुन् भने सन् 1971 मा नेपाली साहित्य सम्मेलनद्वारा प्रदान गरिने दियालो दुलीचन्द अगरवाल स्वर्ण पदकबाट सम्मानित रहेको पाइन्छ। लामो समयसम्म कविता सङ्ग्रह प्रकाशित नरहे तापनि उनको कविता लेखनमा शिथिलता आएको छैन। जसको प्रमाण वर्तमानमा पनि समसामयिक पत्रिकातिर उनका कविताहरू पढ़्न पाइरहेका छौँ।
उनका कविताहरूबारे केही भन्नुपर्दा उनका स्वीकारोक्तिहरूलाई गम्भीरतापूर्वक लिनुपर्दछ तबमात्र उनका कविताहरूको सही मूल्याङ्कन गर्न सकिन्छ। उनी भन्छन्- 'विशेष आफू जन्मेका घरपरिवार साथै समाजको साझा संस्कार-संस्कृति स्थितिहरूका माझमा एवं प्रभावमा बाँचिरहेका नेपाली गोर्खा जगतका हामी आज कोही पनि सुखी र खुशी छैनौँ। व्यक्तिगत रूपमा हामी जेजस्तो भए पनि सामूहिक रूपमा हाम्रो भोगाइ एउटै छ, पीर र मर्का एउटै छ, हाम्रो अभीष्ट एउटै छ। निर्मुक्तिको कामना एउटै छ। यसर्थ समय र परिस्थितिले जेजस्तो लेखाए त्यस्तै लेखिएको हुँदा वर्तमान कविता जगतमा जुन स्वरहरू व्याप्त छन्, तिनै स्वरहरू प्रस्तुत कविताहरूमा पनि न्यूनाधिक रूपमा मुखरित हुनु अस्वाभाविक नहोला।
मलाई लाग्दछ, वास्तविक कविताको जन्म त त्यसबेला हुँदछ जब संवेदनशील पाठकले कुनै कवितालाई सहानुभूतिपूर्वक चयन गरेपश्चात् उनका हृदयमा एउटा नयाँ विचार र भावनाको स्फूरण हुँदछ जसमा स्वयं उनका पनि केही सम्पूरक तत्त्वका रूपमा समाविष्ट हुँदछन्। कविताको पठनक्रियामा रचनाकार र पाठकमाझमा एउटा अन्तक्रिर्या चलिरहेको हुँदछ। यसरी सहकार्यको आधारमा प्रत्येक पाठकमा वास्तविक कविताको जन्म हुँदछ।'
आफ्नै परिवेश, आफ्नै समाज र जाति, हाम्रै स्थितिलाई मूल स्वर बनाएर उनले कविता लेखेका छन्। व्यक्तिगत भोगाइ, व्यक्तिगत चिन्तनलाई पनि जातीय र सामाजिक परिवेशमा समाविष्ट गरेर सोच र विचारको प्रतिपादन गरेका छन्। उनका कविताहरूमा स्थानीयताको रङ्ग परिलक्षित हुँदछ।
जहाँ नेपाली हुन्छ कवितामा उनी लेख्छन्-
डर लाग्छ कि
यहाँ यसरी नै नेपाली तुहुन्छ
प्रत्येक अनेपाली घरमा
एक नेपाली हुन्छ।
यस कविताले जातीय कवि अगमसिंह गिरीको बहुचर्चित कविता मोहब्बत गल्लीको सम्झना गराउँछ। यी दुवै कवितामा जातीय चेतको सादृश्यता पाइन्छ।
केही हुन नसक्नु, कहीँ नपुग्नुको गम्भीर चेत उनको कवितामा यसरी प्रष्फुटित भएको पाउँछौँ। सिसिफसको जुनी सदृश यथार्थलाई उनी यसरी व्यक्त गर्छन्-
जति उक्लन्छु भन्छु
पाइलाहीन पाइलाहरूले
ठेस लागिदिन्छ
चट्टानहीन पर्वतहरूमा
झरिदिन्छ
उँचाइहीन उच्चताबाट
होचाइदिने घोचाइहरूमा
भारतीय नेपालीहरूको जातीय चेतना बोकेर कविता लेख्ने कविहरूमध्ये कवि अगमसिंह गिरीलाई सर्वोच्च मान्नुपर्दछ। हाम्रो बचाइको दुःखपीड़ालाई उनले मुटुको तल्लो तहबाट नै आत्मसात् गरेका छन्। उनै कविको निधनमा उनी लेख्छन्-
कोयलको स्वर बन्द छ आज
नीरवता किन छायो
सूर्य किरणको पथमा आज
अन्धकार किन छायो।
लाखन तारा कहाँ उदाए
कसले आज सम्झाइदिने
हाम्रा मुटुका पीरहरू अब
भन त कसले गाइदिने।
जागीरे जीवनमा उनले दार्जीलिङका विभिन्न खण्ड कार्यालय अनि दार्जीलिङ जिल्लाका समाज शिक्षा सम्प्रसारण अधिकारीका रूपमा कार्य गरे। पार्वत्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको हितमा गठन भएको पार्वतीय कर्मचारी सङ्गठनको संस्थापक सभापति साथै अध्यक्षको महत्त्वपूर्ण पद सम्हाल्नुभयो। हालसम्म पनि उनी यसै संस्थाका सल्लाहकारका रूपमा सक्रिय छन्। अहिले अवकाशको जीवनको कविता लेख्दै आफ्नो वासस्थान डालीमा सक्रिय जीवन बिताइरहेका छन्।
आफैले पनि पाठ्यपुस्तकमा पढ़्न परेको साथै शिक्षकवृत्तिमा रहँदा विद्यार्थीहरूलाई पढ़ाएको मलाई मनपर्ने कविताको केही अंश उद्धृत गर्न चाहेँ-
म सधैँ नै बिहान-बिहान
सड़क, गल्ली र
मानिसका ढोका-ढोकामा
झाड़ु लाउँछु स्वार्र-स्वार्र
नगरपालिका राष्ट्रपालिका र
त्यो भन्दा बढ़ी विश्वपालिकाको
मैला सोहोर्ने म हुँ
एक जमदार
..........
यी मैलाहरूलाई पठाउनुपर्छ
राकेटमा संसारको उसपार
यही मेरो जीवनको एक इच्छा
एक चीत्कार!
सत्कार!
म हुँ एक जमदार।


लेख्नै पर्ने व्यक्तित्वबारे सुन्दर अभिव्यक्ति। जानकारीमूलक।
ReplyDelete