15 Sept 2026

कथा


(दीप छेत्रीले विद्यार्थीकालदेखि नै नेपाली साहित्यलाई योगदान पुऱ्याउनु भएको हो। उहाँका कथा-कविता विभिन्न पत्रपत्रिकामा निरन्तर प्रकाशित भइरहन्छ। 80-को दशकमा उहाँको प्रथम कथा 'गोधुलि'-मा प्रकाशित भएको थियो। उहाँको एउटा कविता कृति प्रकाशित भएको छ भने अर्को कथा कृति प्रकाशोन्मुख छ।)

दीप छेत्री

बिहिबारे हाट

कालेबुङको बिहिबारे हाट बिहानदेखि नै चहलपहलले भरिन थालेको थियो । डाँड़ा पाखाको चिसो हावासँगै गाउँघरबाट आएका मानिसहरुको आवाज मिसिएको थियो । कतै मोलभाउ हुँदैथ्यो, कतै हाँसोको फोहोरा छुटिरहेको थियो ।

विशेषतः सिन्देबुङ, डूङग्रा, बोडबस्ती, पैयोङ्ग आदि ठाउँबाट ल्याइएका अर्गेनिक सागसब्जीका थुप्रा ठाउँ ठाउँमा सजिएका थिए । त्यसबाहेक विभिन्न प्रजातिका फूल, ठूध, दही, घ्यू, महको चाखा ,कतै सेलरोटी आदि वस्तुले हाटको रौनकतालाई अझ बढ़ाएको थियो ।

आमा! आमा! 'तपाईंसँग दस रुपियाँ छ। मलाई मही खान मन लाग्यो"

'ला।' मनुले एकपल्ट छोरालाई हेरेर दस रुपियाँ पर्सबाट निकालेर हातमा दिई । महेश छेवैको मही पसलमा पुग्यो र मही माग्यो ।

 'आच्चि ! यत्रो लाठे भएर पनि आमालाई पैसा माग्न लाज लाग्दैन ।' पसले दिदीले प्याच्च भनिन् र एउटा गिलासमा मही सारीदिइन् । महेश चुप लाग्यो, लाजले यताउता हेऱ्यो र पनि  अझै मही थपिदिने आग्रह गऱ्यो, महेशको हातमा दस रुपियाँ मात्र देखेर पसले दिदी अलिक हिचकिचाइन्  र पनि  मही थपिदिइन् ।

"भाइ, तिमी काम धन्धा गर्दैनौ। यसो हेर्दा त हट्‌टाकट्टा देखिन्छौ, पढ़े- लेखेको... कि के हो, मैले त  केही बुझिनँ।' पसले दिदीले आशङ्‌का व्यक्त गरिन् ।

बस मही पिइसकेर महेशले पैसा तिर्ने तरखर गऱ्यो र गोजीबाट एकसय रुपियाँको बण्डल निकालेर एउटा पसले दिदीलाई दियो । पसले दिदी छक्क परिन् । महेश मुसुक्क हाँस्यो ।

'अन्त भाइकोमा यत्रो पैसा रहेछ त आमालाई किन मागेको?' पसले दिदीले प्रश्न गरिन् । 'दिदी ! पैसाले मात्रै मनको आनन्द कहाँ पाइन्छ र ! म सरकारी नोकरी गर्छु, आमासँग बर्षौंपछि हाट आ'को। मलाई सानो छँदाको याद आयो, यसरी नै आमालाई दङ्‌ग्याउँदै रुँदै कराउँदै म आमालाई पैसा माग्थेँ, ती बाल्यकालका दिनहरूमा आइसक्रिम खानु, चकलेट खानु कति मज्जा आउँथ्यो, बुझ्नु भयो। ठूलो भएपछि पनि आमाको पैसाले के के खाँदा एउटा छुट्टै मज्जा आउँछ आनन्द आउँछ, खानुमा पनि मिठास बढ्‌छ होइन र। आमाले दिएको पैसामा संसारकै सबैभन्दा ठूलो मायाको सम्पत्ति लुकेको  हुन्छ, हो कि दिदी !......लौ दिदी म गएँ है, उ आमा पर्खिरहनु भा'को छ ।' महेश आमा भएतिर लाग्यो,  पसले र महेशको कुरा सुनेर उसलाई नै पर्खेर बसेकी आमा मनु मुस्कुराइरहेकी थिई।

आमाको त्यही मुस्कानमा त डल्लै संसार लुकेको थियो।



15 सितम्बर 2026 ,वर्ष:1, वेबाङ्क:3



1 comment: