15 Oct 2026

पर्यावरण


(डा. भुवन पी. खनाल भारतीय नेपाली साहित्यका बहुआयामिक स्रष्टा, शिक्षक, पत्रकार, सम्पादक तथा वातावरणप्रेमी साहित्यकार हुनुहुन्छ। उहाँ कालेबुङस्थित सप्तश्री ज्ञानपीठमा वरिष्ठ शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले लामो समयदेखि ‘पर्यावरण–चेतना’ पत्रिकाको सम्पादकका रूपमा वातावरणीय सचेतना, साहित्यिक सिर्जना तथा बौद्धिक विमर्शलाई प्रवर्द्धन गर्दै आउनुभएको छ। उहाँका चारवटा कृतिहरू प्रकाशित भएका छन्।उहाँ दर्पण सम्मान,स्रष्टा सम्मान,राष्ट्रिय शिक्षा पुरस्कार,राष्ट्रिय आदर्श शिक्षक सम्मानले सम्मानित हुनुभएको छ।)

डा० भुवन पी.खनाल

बाघधारा कालेबुङको जीवनधारा 


कालेबुङको जीवन र यहाँका जनताको दैनिक आवश्यकतासँग प्रत्यक्ष रूपमा जोड़िएको अत्यन्त महत्त्वपूर्ण प्राकृतिक जलस्रोत हो—बाघधारा। यो केवल एउटा पानीको स्रोत मात्र नभई कालेबुङवासीका लागि जीवनधारा नै हो। बाघधाराबाट प्राप्त पानीले कालेबुङ नगर तथा वरिपरिका धेरै क्षेत्रका मानिसहरूको दैनिक खानेपानीको आवश्यकता पूरा गर्दै आएको छ। आजभोलि यस जलस्रोतको संरक्षण गर्नु अत्यन्त आवश्यक र गम्भीर विषय बनेको छ।

वर्तमान समयमा जनसङ्ख्या वृद्धि, बढ्दो शहरीकरण, वन विनाश, अव्यवस्थित निर्माण कार्य, जलवायु परिवर्तन तथा पर्यावरणप्रति मानिसहरूको लापरवाहीका कारण प्राकृतिक जलस्रोतहरू सङ्कटमा पर्दै गएका छन्। बाघधाराको संरक्षणमा समयमै ध्यान नदिने हो भने भविष्यमा कालेबुङमा खानेपानीको समस्या अझ गम्भीर बन्न सक्ने सम्भावना रहन्छ। प्राकृतिक मुहान, वरपरका वनजङ्गल र जलाधार क्षेत्र सुरक्षित रहनु बाघधाराको पानीको निरन्तरताका लागि आवश्यक छ।

बाघधारा क्षेत्रको संरक्षणविषय किन ध्यान आकर्षित गर्न पऱ्यो भन्ने प्रश्न उठ्न सक्ला, तर यहाँ जलस्रोत परिसरमा  अव्यवस्थित निर्माण कार्य गर्ने प्रवृत्ति दिनदिनै बढ़िरहेको थाह लागेको छ। यसैले  बाघधाराको सरसफाई र संरक्षणका लागि स्थानीय प्रशासन, सम्बन्धित विभाग, सामाजिक सङ्घ-संस्था तथा आम नागरिक सबैले संयुक्त रूपमा पहल गर्न आवश्यक छ। 

बाघधाराको संरक्षण गर्नु भनेको केवल एउटा जलस्रोतको संरक्षण गर्नु होइन, कालेबुङको वर्तमान र भविष्यको संरक्षण गर्नु हो। आज बाघधाराको पानी ग्रहण गरिरहेका हामी सबैले यसको महत्त्व बुझेर संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्छ। यदि आज हामीले यसलाई जोगाउन सक्यौँ भने भोलिका पुस्ताले पनि यस अमूल्य प्राकृतिक सम्पदाको लाभ लिन सक्नेछन्।

पर्यावरणीय महत्वको पक्षमा मात्र नरहेर बाघधारा एक नेपाली कलाको ज्वलन्त पहिचान पनि रहेको बुझिन्छ। पानीको धारा बग्ने धाराको मुखको पहेंलो धातुद्वारा बनिएको कलात्मक वस्तुलाई नेवारी भाषामा मग: भन्ने गरेको साहित्यकार योगवीर शाक्यबाट थाहा पाइयो। उनले पनि आफ्ना बुवाबाट सुनेको तर अभाग्यवश कतै लिखित दस्तावेज भने नभेटिएको भन्दै सन् 1800 तिर उनका बाजे बेखाबीर शाक्य, मणि प्रेस बिल्डिङमा बस्नुहुने गणेशराज शाक्यका बुबा हर्कराज शाक्य र नेपाली भाषाका वैयाकरणविद् तथा वरिष्ठ साहित्यकार भाइचन्द प्रधानका बुवा  जुजुमान शाक्यले नेपाली कलाको नमूना यहाँ पनि रहोस् भन्ने हेतुले बनाएका थिए भन्ने मौखिक जानकारी दिएका छन्। 

त्यसैले बाघधारालाई कालेबुङको जीवनधारा मान्दै,  हाम्रा पूर्वजहरूको भारत स्वतन्त्र हुनअघिको इतिहास संरक्षण र सम्वर्द्धनका लागि सबै मिलेर प्रतिबद्ध बन्न आवश्यक छ। 

यसरी नै धार्मिक पक्षबाट हेर्नु हो भने पनि जल स्रोतमा नागको बास रहने जन बिश्वास छ। कसैको पनि बास उजाड़ गर्नु सही होइन। 

बाघधारा कालेबुङका जनताको जीवनधारा, नेपाली कलाको प्रतीक, धार्मिक आस्थाको केन्द्र भन्न सकिन्छ। बाघधाराको क्षय हुनु भनेको कालेबुङका आमजनतामाथि सङ्कट बोलाउनु  हो। यसको समाधानका लागि जनतालगायत क्षेत्रीय सांसद, विधायक तथा प्रशासनिक निकाय पनि एक भई लागिपर्नु आजको  आवश्यकता हो ।



15 अक्टुबर 2026, वर्ष:1, वेबाङ्क:4
@2026 collageonline.in. All right reserved



दशैँ र तिहारको हार्दिक शुभकामना


4 comments:

  1. हार्दिक धन्यवाद।

    ReplyDelete
  2. सानो छँदा मेरो बुवा स्वर्गीय भाइचन्द प्रधानबाट सुनेको थिएँ कि बाघधारामा रहेको पित्तलको बाघको मुख मेरो जुजु अजा स्वर्गीय जुजुमान शाक्य, बेखाबीर शाकय, र हर्कराज शाक्यले सन १८०० मा बनाउनुभएको हो। आज आफूले सुन्दै आएको कुरा लिखित रूपमा पढ्न पाउँदा अत्यन्तै खुसी लाग्यो।
    यसर्थ, डा. भुवन खनालज्यू साथै साहित्यकार योगबीर शाकय प्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँको लेखले मैले बाल्यकालदेखि सुन्दै आएको कुरालाई पुष्टि गर्दै चरितार्थ गरिदिएको छ।

    ReplyDelete
  3. Dr Bhuwan p khanal ju lai yo lekh ko nimti antarik herdai bat dhanyabad takrauna chahanchu hami le dhara bachauna ko nimti jun sangharsa gari rahe ka chau tyasko nimti hajur ko lekh le dherai tewa pugcha bhani biswasta chu sathai tyo dhara ko mukh ko bisai ma pani naya jankari pauna sake tyasko nimti pani dhanyabad

    ReplyDelete
  4. Dherai Dherai dhanyabad Bhuwan Sir lai hamro Bagdhara Prati lekh lekhi dinu vayeko ma.Hajur ko yo lekh le hamro Dhara lai dherai nai asal kam gareko anuvaw vayeko cha.Ajai dherai nai asha rakheko chaw hami Bagdhara basi le.👏👏

    ReplyDelete