15 Oct 2026

कथा


(दार्जीलिङको नेपाली साहित्य सम्मेलनका मूल सचिव महेन्द्र प्रधान दार्जीलिङकै ख्यातिप्राप्त सन्त जोसेफ स्कूलका भूतपूर्व शिक्षक हुनुहुन्छ। उहाँले आध्यात्मिक कृति श्रीमद्भागवदगीतालाई नेपालीमा भाषानुवाद गर्नुभएको छ। उहाँ एउटा कथा सङ्ग्रह र दुईवटा बाल कविता सङ्ग्रहका सर्जक हुनुहुन्छ।)

महेन्द्र प्रधान

 रहस्य उद्घाटन 


"आ.......मा.........मा.....मा....... रुपेशजी आज कसको अनुहार देखेछु। सपनामा पनि नसोचेको, भनौँ बिर्सिसकेको तपाईंसित आज भेट भयो यहाँ काठमाडौँमा। हेर्नुहोस् त रुपेशजी ममा केही बदलाव आएको छ? दार्जीलिङ छोडे़कोदेखि एकैपल्ट पनि फर्केर जाने मौका मिलेन मलाई। तरै पनि दार्जीलिङका कतिपय व्यक्तिहरुसित मेरो सम्पर्क छ विशेष शिक्षा विषय लिएर। हा.... हा..... हा......." भन्दै बलरामले जोड़ले मसित गला लगायो। मेरो छिमेकी मात्र होइन एक प्रकारले आत्मीयताकै सम्बन्ध थियो उसित मेरो। यद्यपि उसले मलाई यसरी गला लगाएको अहिलेसम्म स्मरण छैन। हुनसक्छ वर्षौंपछि भेटेर होला मिलनको खुशीले आत्म विभोर भएर मलाई त्यसरी गला लगाएको हो।

मेरी श्रीमती हाम्रो मिलनलाई हेरिरहेकी थिई। मेरो पुरानो छिमेकी भने पानीको झरनाझैँ खुशीको भाका गाइरहेथ्यो। मैले उसको ध्यान भङ्ग गर्दै भनेँ— "यहाँ मेरी श्रीमती। हप्तादिनको निम्ति दार्जीलिङको ठण्डाबाट भागेर आङ सेक्न अनि विशेष घुम्न भनेर काठमाडौँ आएको। दुई दिन भयो, भोलि हामी पोखरा जाने अनि त्यसपछि एकदुई दिन नेपालको प्राकृतिक दृश्य हेर्न यताउति जाने विचार गरेका छौँ।" "ओहो ! भाउज्यू नमस्कार। अति उत्तम, तपाईंहरु यहाँ अरु कहीँ बस्नु पर्दैन। काठमाडौँ जस्तो महँगो ठाउँमा कहाँ होटलमा बस्नुहुन्छ।" बलरामले भन्यो।

यति सुनेपछि उसको आग्रह टार्न नसकेर हामी उसको साथ पाँच मिनट जति हिँड़्यौं। उसको आफ्नै गाड़ी रहेछ। चडे़र उसको घरतर्फ लाग्यौँ। दार्जीलिङमा छँदा मलाई उसको आर्थिक अवस्था थाहा थियो। उ त्यति गरीब घरका त होइन। तर अहिलेको उसको हावभावले उ यहाँ निकै गाँजिएर बसेको जस्तो लाग्यो। शायदै उसले आफ्नो गाँजिएको आफ्नो अवस्था देखाउन हामीलाई आफ्नो घर लगेको पो होकि जस्तो पनि लाग्यो मलाई। जे नै भए पनि साँच्चैनै यस्तो महँगो ठाउँमा पाहुनाको निम्ति तानेर लैजान सानो कुरा लागेन।

उसको घर पुगेपछि मनै मन सोचेँ साँच्चै गाँजिएर बसेका रहेछन्। बलरामको यस्तो सम्पन्नता देख्दा मैले चाहिँ उस्तो केही गर्न सकिनँ कि भनी कताकता मन पनि च्वास्स घोँच्यो। त्यसलाई प्रकाश हुनै नदिई कृतिम भए पनि खुशी प्रकट गर्दै मैले भनेँ— "ओहो ! बलरामज्यू बधाई छ है। निकै गाँजिएर पो बस्नुभएको रहेछ।" उसले यसको केही प्रतिक्रिया नै नगरी भन्यो– ''तपाईंहरु भोलि पोखरा जाने। म पनि पर्सि पोखरा जाने भएको थिएँ तर तपाईंहरु भोलि जाने कुरा सुनेर मैले पनि भोलिनै पोखरा जाने विचार गरेँ। हामी सङ्गै जाउँ म तपाईंहरुलाई घुमाइदिन्छु।''

उ यसरी साथमा आए हाम्रो घुमाइको स्वतन्त्रता र मजा लुटिन्छ कि भनी अनुभव गरेँ। त्यसो हुनाले इच्छा नै नभए पनि मैले 'हुन्छ' भनिदिएँ। मनै मन सोचेँ फसादमा परियो। होटलमा बस्ने खाने खर्च मैले नै गर्नुपऱ्यो भने ! कस्तो फसादमा परियो ! फेरि हामीलाई खुलासित घुम्डुल गर्ने अवसर पनि नमिल्ला ! यस्ता कुराले मनमा खल्लो लाग्यो। जे होला भनी मन बुझाएँ।

बलराम साँच्चै नै गाँजिएर बसेको रहेछ। उसको घर हेर्दा नै यी सब कुराको जानकारी पाइन्थ्यो। अङ्ग्रेजको शैलीमा बनाएको दुईतले सुन्दर घर। घरको अघि फूलको सुन्दर बगैंचा अनि घरको पछाड़ि विभिन्न फलको बगैंचा। अघिको बलराम र अहिलेको बलरामलाई देख्दा ईर्ष्या त कसलाई पो नलाग्ला तर ईर्ष्याभन्दा ज्यादा त मलाई आश्चर्य लाग्यो कि बलरामले कसरी यस्तो उन्नति गऱ्यो ?

भोलिपल्ट हामी पोखराको निम्ति रवाना भयौँ। मैले केही चिन्ता लिनु परेन। बलरामले आफ्नै मोटर लिएर गयो। उसले सोझै एउटा होटलमा लिएर गयो। त्यहाँ पुगेर रिसिप्सनमा म्यानेजरलाई कुन्नि के भन्यो कुन्नि ! म्यानेजर आफै आएर हामीलाई एउटा सुन्दर कोठामा लिएर गयो अनि भन्यो – ''तपाईंहरुलाई जे चाहिन्छ बेल बजाउनुहोला।''

एकैक्षणपछि चिया साथमा दुईचार किसिमको खाजा-भूजा कोठा बाहिरको बरण्डामा राखिदिँदै वेटरले भन्यो – ''साहेब कुनै कुराको जरुरी परे बेल थिच्नुहोला।'' ''हुन्छ'' मैले भनेँ। बिल चाहिँ निकै ठूलो जाने रहेछ। सम्झेर म त्रसित भएँ। दुई दिनभन्दा धेर बस्नु हुँदैन यहाँ मैले निर्णय गरेँ।

रात्रीभोजन डाइनिङ हलमा हामीले बलरामज्यूसितै गऱ्यौँ। चौरासी व्यञ्जन भन्न लायकको भोजन भए पनि मलाई भोजनभन्दा खर्चको चिन्ताले त्रसित बनाइरहेको थियो। खानापछि ड्राइभरलाई बोलाएर बलरामज्यूले भन्यो– ''यहाँहरुलाई भोलि बिहानदेखि नै पोखराको भ्रमण गराइदेऊ।'' चकित भएँ। मैले केही भन्नै सकिनँ।

कोठामा फर्किएपछि बिछ्यौनामा ढल्किएर श्रीमतीलाई भनेँ– ''बलरामले हामीलाई यति ठूलो होटेलमा ल्याएर राख्यो। यसको बिल त सानु हुँदैन त ! अझ उसको बिल पनि हामीले नै तिर्नुपऱ्यो भने?'' हामी दुवै चिन्तित् बन्यौँ। चिन्ताले हाम्रो मनमा आनन्दलाई ढिम्किनै दिएन।

भोलिपल्ट खाजाभुजा खाएर हामी दुई बिहानै पोखरा भ्रमणको निम्ति निस्क्यौँ। आहा ! कति मनोरम दृष्य पोखराको ! फेवातालमा बोटिङ। कति सुन्दर फेवाताल। आनन्द लाग्यो। त्यसपछि बेगनासताल। बेगनासताल पनि कति सुन्दर। घुम्न जानेहरुलाई पश्चिमका देशहरु नगएर नेपाल आएपनि हुने। साँच्चै ईश्वरको कति सुन्दर सिर्जना। साह्रै भोक लाग्यो। ड्राइभरले हामीलाई एउटा राम्रो होटलमा लग्यो। हामी तीनजनाले दिउँसोको भोजन ग्रहण गऱ्यौँ। भोजनको बिल ने. रु. 3900/- तिर्नुपर्दा अब हामी बसेको होटलको बिल झनै कति तिर्नु पर्ला ! सोचेर हंसले ठाउँ छोड़्यो।

त्यसपछि ड्राइभरले सारङ्ङ्कोट र धान्द्रुकको छोटो भ्रमण गरायो। आँखाको तृप्ति पूरा भएन। एकरातको निम्ति यतैतिर बास बस्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो। कुनै अर्को बेला समय लिएर आउने मन बस्यो।

ड्राइभरले त्यहाँको विषयमा वर्णन गर्दै गाड़ी हाँकिरहेको छ। मलाई यसरी बोल्दै गाड़ी नहाँक्नु नि जस्तो लाग्यो। उसित बलरामको विषयमा सोध्ने इच्छा थियो तर ध्यान भङ्ग भए दुर्घटना होला भनी सोधिनँ। प्राकृतिक सुन्दरताले भरिएको पोखराले मनलाई आनन्द दिन चाहेता पनि ठूलै खर्च हुने चिन्ताको बादलले मनलाई यदाकदा मनलाई खिन्न बनाइरह्यो।

हामी राति नौ बजीतिर बासस्थान पुग्यौँ। आधा घण्टापछि हामीलाई रात्रि भोजनको निम्ति बुलावा भयो। कर्मचारीले भोजनको निम्ति हामीलाई होटलको चारतल्लामा लग्यो। त्यो चार तल्ला त्यस होटलको डाइनिङ हल थिएन। बलरामको बासस्थान थियो। खानापछि मेरी श्रीमती बलरामकी श्रीमतीसित अनि म बलरामसित कुराकानी गर्नलाग्यौँ। हामीमाझ बितेका धेरै कुराहरुको सम्झना भयो। मैले उसलाई उसको बारेमा केही सोधिनँ। केवल उसको बारेमा मैले अनुमान मात्र गर्दै गएँ। यो बासस्थानमा उ कुन हिसाबले बसेको होला ? फ्लाट नै लिएर बसेको हो भने पनि त्यो सानो कुरो थिएन। कुरैकुराको सिलसिलामा उसले सोध्यो– ''अनि अहिले के गर्नुहुँदैछ रुपेशजी ?'' मैले अलिक हीनबोध गर्दै भनेँ – ''दार्जीलिङकै एउटा स्कूलमा काम गर्दैछु। अब रिटायर हुन पाँचै वर्ष छ। एम.ए. गरिसकेपछि एउटा राम्रो विषय चुनेर सोझै शोधकार्य गर्ने इच्छा थियो तर परिस्थितिले दिएन। पढ़ाई सकेपछि स्कूल शिक्षकको काम पाएँ। नोकरी गरौँ कि शोधकार्य तर्फ लागौँ भन्ने दोधारलाई पन्छ्याउँदै नोकरीलाई चुनेँ। शोधकार्य गर्ने फुर्सद पाइनँ। शोधकार्य गर्ने धोको मनभित्र गुम्सिएर बस्यो। रुपियाँ त आर्जन गर्न सकिनँ नै, शोधकार्य पनि गर्न सकिनँ यही कुराको ठूलो धोको छ मलाई।'' यति भनिसक्दा म निकै भावुक अनि आघातीत भइसकेको थिएँ।

उसले मुसुक्क हाँसेर भन्यो– ''किन चिन्ता गर्नुहुन्छ रुपेशजी। तपाईं तीन वर्षभित्र रुपेश मात्र होइन डा० रुपेश होइहाल्नु हुन्छ नी। मैले दार्जीलिङ भेगका धेरैलाई डाक्टरेट डिग्री दिलाइसकेको छु। यहाँ लेखिदिने परिश्रमी मानिसहरु धेरै छन्। उनीहरुलाई पारिश्रमिक दिनपऱ्यो अनि तपाईं चाहिँ यतातिर अध्ययनको निम्ति आएको अभिनय गर्नुपऱ्यो। मानिसहरुलाई विश्वस्त पार्नको निम्ति। रेजिस्ट्रेशन गर्ने, लेख्ने आदि सबै कामको निम्ति तपाईंले टेन्सन नै लिनुपर्दैन। बस रेजिस्ट्रेसन र लेखनको निम्ति तपाईंले मन खोलेर खर्च गर्नुपऱ्यो।'' तपाईंले सोझो दैलोबाट शोधकार्य गर्नुभयो भने यतातिर पाँच-छ वर्षभन्दा बढ़ी आउजाउ गर्नुपऱ्यो, बस्नुखानु पऱ्यो। सामग्री जुटाउनु पऱ्यो। धेरै अध्ययन मनन गर्नु पऱ्यो। दिमाग खटाउनु पऱ्यो। फेरि खाली हात आउनुभएन। खेपैपछि केही न केही कोशेली त ल्याउनै पऱ्यो गाइडको निम्ति। फेरि गाइड सन्तुष्ट नभए मुद्दाको फैसला नभए जस्तै समय टङ्गिन्छ त्यस्तै। यताउति सबै खर्च जोड़्यो भने नभएको पनि चार-पाँच लाख भा.रु. त खर्च भइहाल्छ। अझ त्यो भन्दा बड़्ता नै होला। झन हेरेस्टमेन्टको त के कुरा ! त्यैमाथि एक्सपर्ट खुशी भएन भने डिग्री सपनाकै कुरा जस्तो बन्न पनि सक्छ। बस् भा.रु. पाँच लाख खर्च गर्नुहोस् अनि यतातिर आएको अनि शोधकार्यको निम्ति अध्ययन गरेको अभिनय गर्नुहोस्। तीन वर्षभित्र तपाईं पक्कै श्री रुपेशदेखि डा० रुपेश हुनुहुनेछ। अरु तपाईंको इच्छा पुरानो आत्मीयता अनि गाउँलेको नाताले मैले तपाईंको धोकोलाई पुरा गर्ने उपाय बताएको मात्र हुँ।''

उसको कुरा सुनेर आफूलाई अरुले डा० रुपेश भनेको अनुभूति गरेँ। मन प्रसन्न भयो। तर यति धेर खर्च हुने कुराले मुखलाई बाउन दिएन। आवेशलाई मनभित्रै कोचार्दै अनुमान लगाउन थालेँ। उसको भनाई अनुसार कसकसले यसरी डाक्टरेट डिग्री लिए होलान्। मैले धेरैमाथि अनुमान लगाउने प्रयास गर्न थालेँ। बिहार राज्यमा पनि स्कूल, कलेज, युनिभर्सिटी अनि शोधकार्यसम्मको सर्टिफिकेट पाइन्छ भन्ने कुरा सुनेको छु भने दार्जीलिङतिर पनि स्कूल कलेजको अवैध प्रमाणपत्रको धन्दा चलाउने यस्ता कति भ्रष्टविधि गर्नेहरुको विषयमा सुनेको थिएँ। विचार गरेँ, सोचेँ यस्तो डिग्री लिएर ढाड़पछि मानिसहरुलाई आफ्नो बारेमा कुचर्चा गर्ने मौका दिनुभन्दा श्री रुपेश भएर बस्नु नै उत्तम। मेहनत बिनाको उपाधि लिनु मलाई मेरो स्वाभिमानले पटक्कै दिएन। अरुबाट डा० रुपेश भनी सम्बोधन भएकोमा हीनबोधको अनुभव गरेँ। यद्यपि मैले उसको मन राख्नको निम्ति भनेँ – ''हुन्छ बलरामज्यू घर फर्किएर निर्णय लिनेछु।''

उसले भन्यो ''अरु पनि कोही इच्छुक व्यक्तिहरु भए भन्नुहोस्। भा.रु. पाँच लाखभन्दा बड़ी उठाउन सक्नु भए त्यो तपाईंको खल्तीमा।'' मैले मुसुक्क हाँसिदिएँ।

रात्रिभोजपछि हामी दुई लोग्ने-स्वास्नी आफ्नो कोठातिर प्रस्थान गऱ्यौँ। जिज्ञासा थाम्न नसकेर मैले त्यस होटेलको एउटा चाकरलाई सोधेँ– ''यो होटेलको मालिक को हो ?'' उसले भन्यो – ''अहिले तपाईं जहाँबाट भोजन ग्रहण गरेर आउनु हुँदैछ, उनै त हुन् हाम्रो मालिक !''



15 अक्टुबर 2026, वर्ष:1, वेबाङ्क:4
@2026 collageonline.in. All right reserved



दशैँ र तिहारको हार्दिक शुभकामना


1 comment:

  1. जया राई21 October 2026 at 11:12

    कथा अप्रासंगिक घटनाले फ्यातुलो भएको छ।

    ReplyDelete