15 Oct 2026

संस्कृति


(अरूण कुमार रसाइली नेपाली पत्रकारिता,संस्कृति, रङ्गमञ्चसित निकै लामो समयदेखि जड़ित हुनुहुन्छ। गोर्खा संस्कृतिबारे उहाँको राम्रो जानकारी छ। उहाँ गोर्खा संस्कृति संरक्षण समितिसङ्ग पनि आबद्ध हुनुहुन्छ।)

अरूण कुमार रसाइली 

कालेबुङको दशैं महोत्सव
जातीय एकताको उदाहरण-एक सम्झना। 


कालेबुङको मेलाटारमा सामूहिक शक्तिपूजा एवं दशैँ महोत्सव मनाउनअघि पनि संस्कृति र परम्पराप्रति सजग रहने समूहरुले यस प्रकारको प्रयास नगरेको चाँहि होइनन्, बिर्सिंदै  गइरहेको परम्परा र अन्य परम्पराको अतिक्रमण हुँदा दशैंबाट जातित्व हराउँदै गइरहेको महसुस गरेपछि केहि समूहले धेरै वर्ष अघि नै गरेका थिए अनि फूलपाति शोभायात्रा निकाली मार (बलि) पनि गरेका थिए । 
हुन त बितेका दिन सधैँ मीठा हुन्छन् तर कतिपय अतीत अझ यति मीठा हुन्छन् कि त्यसको सम्झनाले मात्र पनि मनमा अनौठो अनुभूति प्रदान गर्छ । बितेका दिन याद गर्दा यस पङ्क्तिकारलाई “गोर्खा संस्कृति संरक्षण समिति (गोसंसंस)-ले कालेबुङको मेलाटारमा आयोजना गरेको दश दिवसीय  “दशैं महोत्सव” को झझल्को आउँछ। आज पनि दशैँ महोत्सवको सम्झना आउँदा कुनै काम बिना घण्टौँ मेलाटारको धूले मैदानमा ओहोर दोहोर गरेको , लाज नमानी लिङ्गे पिङमा झुलेको अनि राड़ीमा पलेटी कसी पारम्परिक चिया चमेना खाएको झझल्को आउँछ, साँच्चै कालेबुङको दशैँ महोत्सव स्मरणीय छ । 

पूस्तौदेखि आफूले भाषा, साहित्य र संस्कृति बचाउने फुलाउने सङ्घर्षमा होमिएका कालेबुङ र वीर गोर्खाको शान, मान र मर्यादालाई डगमगाउन नदिन 1995 सालमा “गोर्खा सांस्कृतिक संगठन”-द्वारा फूलपाती निकालिएको थियो । यस संगठनमा सर्वश्री ललित गोले, कमल पाख्रीन, नृपेन्द घतानी, अरुण कुमार रसाईली, मिङ लिवाङ, बी आर छेत्री, लक्षमण गुरुङ, नारायण  गजमेर, मोतीप्रसाद शर्मा, किरण सिंह, हेम कुमाई, अमर रसाईली, गोरे थापा, दिलीप प्रधान, दिलीप छेत्री, किरण कुमाई, अरुण कुमाई, शुभ प्रधान, विजेन्द घतानी, सुमन गुरुङ, गणेश दाहाल, रविन घतानी, गणेश प्रधान आदि सदस्यका रुपमा रहेका थिए । 

कतिपय चोट, संस्कृतिको अतिक्रमण अनि प्रहारको परिमाण निस्कियो “दशैं महोत्सव”। संस्कृति नै जातिको चिन्हारी हो। तर आफ्नो जातिको चिन्हारी बचाई राख्न हामी कतिसम्म सचेत छौं त ? यसको उत्तर अपसंस्कृतितर्फ ढल्केका हाम्रा समाजले छर्लङ्ग पारेको थियो। आफ्नो संस्कृतिलाई संरक्षण र सम्बद्धन गर्नलाई आजैदेखि सजग हौँ भन्ने विचार गर्दै हामी जातिमा जात जातमा नफुटौं न टुक्रौं , जिउँदो जातिको जिउँदो चमक लिएर बाँचौ, कुनै तत्वहरुको षडयन्त्र  जञ्जालमा नफसी जातिलाई नमासौं अनि मास्ने मौका नदिऔं, एक जाति , एक संस्कृति कायम राखौं भन्दै कालेबुङमा फूलपाती शोभायात्राको निम्ति अस्थायी रुपमा स्थापना गरिएको “गोर्खा सांस्कृतिक संगठन” नै 7 जनवरी 1996-को दिन दुःख निवारक सम्मेलन भवनको सभागृहमा एउटा विराट रुपमा सभा डाकी उक्त संगठनलाई विघटन गरी पुनः सदस्यहरुलाई लिएर “गोर्खा संस्कृति संरक्षण समिति” कालेबुङ गठन गरिएको हो । यस समितिले अध्यक्षको रुपमा एक कुशल राजनीतिज्ञ समाजका चिन्तक, नाम चलेको पूर्व शिक्षक, एक असल फूटबल खेलाडी, परोपकरी व्यक्तित्व पितातुल्य स्व० भरत कुमार थापालाई हामीले पाउन सक्यौं ।
 
यसैले गोर्खाको संस्कृतिलाई विशेष महत्व दिएर एउटा सांस्कृतिक आन्दोलनको थालनीमा गोर्खाको नयाँ वर्ष “पहिलो वैशाख” अनि “दशैं महोत्सव” प्रमुख रहेको थियो । दशैँ महोत्सवमा धर्ममात्र थिएन त्यसमा थियो जातीय भावना जसमा सबै धर्मका गोर्खाहरुले अंश ग्रहण गर्थे भने राजनीतिक रङले पोतिएका गोर्खाहरुको यस दिन राजनीति चोला उतारेर गोर्खा जाति भएर अंश ग्रहण गर्थे। स्थापना कालदेखि 2000-सालसम्म निरन्तर आयोजना गरिएको पहिलो बैशाख रिखी डोरो, क्वाँटी पूर्णे, दशैँ महोत्सव हेर्ने,रसस्वादन गर्न दार्जीलिङ, सिक्किमबाट मात्र नभएर नेपाल, भुटान, पूवोत्तर भारतबाट मानसिहरु कालेबुङ आउँथे। ती मानिसहरुले भन्ने गर्थे - संस्कृति हेर्नु हो भने कालेबुङ जानुपर्छ अनि कालेबुङले आज जे सोच्छ सम्पूर्ण दार्जीलिङ पहाड़ले भोलि सोचेको हुन्छ। 

दशैँ महोत्सवको दशदिनको अवधिमा मेलाटारलाई “गैरीगाउँ” मा परिणत गराइन्थ्यो। गैरी गाउँको माझको भागमा बाँस र खरको पाम्परिक प्यागोड़ा ढाँचामा मण्डप बनाइन्थ्यो जहाँ माटोको मूर्ति नराखी खुकुरी, खुँडा, कट्टी, 6 फुट लामो असली धारिलो खुकुरी, मसिना खुकुरीहरु राखी नौ दिनसम्म शक्तिको आराधना गरिन्थ्यो। गैरी गाउँको चारैतिर पारम्परिक घरहरु ठड़ाइन्थ्यो जहाँ एकतिर गोर्खाको पारम्परिक खान पान पाइन्थ्यो भने अर्कोतिर पारम्परिक वेशभूषा, भाँड़ाकुड़ा र गोर्खा जातिसित सम्बद्ध अन्य वस्तुहरुको प्रदर्शन साथै बिक्री गरिन्थ्यो। महोत्सवको आकर्षण हुन्थ्यो । जातीय सङ्ग्रहालयमा कोसौं टाड़ा, सुदूर दुर्गम क्षेत्रहरुबाट महिनौं दिन लगाएर समितिका सदस्यहरुले खोजेर ल्याइएका दुर्लभ वस्तुहरुको प्रदर्शन गरिन्थ्यो। कुनै वर्ष कालेबुङका पुराना ऐतिहासिक तस्वीर(फोटो)-हरुको प्रदर्शन कालेबुङ कोड़ाक स्टुडियोका वर्तमान व्यवस्थापक एवं फोटोग्राफर श्री सञ्जय दियालीले लगाउने गर्थे। मालश्रीको धूनसित अबेर रातसम्म गैरी गाउँमा मादलको धिनताङ र लयबरीको स्वर गुञ्जिन्थ्यो। घटस्थापना, नवरथाको दिनदेखि नै कालेबुङ दशैंमय बन्थ्यो । दौरा सुरुवाल, कम्मरमा पटुकी अनि खुकुरी भिरिएको शिरमा ढाका टोपी अनि फरिया, चौबन्दी चोली, जातीय गर गहना पहिरिएर हिँड़्दा शान झल्कन्थ्यो, इज्जत हुन्थ्यो अनि गर्वले छात्ती फुल्थ्यो। सप्तमीको दिन फूलपाति शोभायात्रामा असङ्ख्य नर-नारीहरुको सहभागिता हुन्थ्यो, मानौं सम्पूर्ण गोर्खा सड़कमा अवतरण भएका छन् । यस अवधि यति बिघ्न नेपाली लोक गीतहरु गाएर नेपाली लोकनृत्य प्रस्तुत गर्दै कालेबुङको शहरका विभिन्न क्षेत्रहरुमा परिक्रमा गर्दै गोर्खा शक्ति थानमा पुगिन्थ्यो । नवमीको दिन राँगाको मार (बलि) गरिन्थ्यो। दशमीको दिन जमरा वितरणपछि टीका आरम्भ हुन्थ्यो तर दशैँ महोत्सवको ह्याङ्गओभर रहिरन्थ्यो र खालि मेलाटारलाई हेरेर भए पनि त्यो ह्याङ्गओभर मेटाइन्थ्यो । 

दशैँ महोत्सवको बेला गैरी गाउँ – (मेला टार )-मा साँझ जम्मै पुराना नयाँ साङ्गीतिक कलाकारहरु भेला हुन्थे अनि सबैले पालै सित सांस्कृतिक साङ्गितिक कार्यक्रम प्रस्तुत हुने गर्थ्यो। त्यसबेला कुनचाहिँ नेपाली लोक नृत्य हेर्न पाइन्दैन थियो होला? अनि कुन चाँहि लोक आधुनिक गीत सुन्न पाइन्दैन थियो र? मादलमा  समलाको ताल बज्ने बित्तिक्कै गोर्खादर्शक झुम्न थाल्थे । अध्यक्ष भरतकुमार थापाको अनुशासमा रहेर पदाधिकारी एवं साधारण सदस्यहरुमार्फत दश दिनसम्म कुनै झैंझमेला बिना दशैं महोत्सव सम्पन्न गरिन्थ्यो  । 

निश्चय नै आज दशैँ महोत्सवको त्यो रमझम छैन, तर जातीय संस्कृति र परम्पराको संरक्षणमा कालेबुङको एउटा इतिहास रचेको छ । भविष्यमा ती दिन फर्की आउँदैन भन्ने केही छैन। धर्म , राजनीति र वैचारिक भिन्नता बिर्सेर सम्पूर्ण गोर्खा कुनै दिन फेरि इतिहास रच्ने पाराले एउटै मञ्चमा उभिनेछन्। किनभने कालेबुङको प्रवेशद्वार चित्रे(टिस्टा)-मा गोर्खा संस्कृति संरक्षण समिति , कालेबुङको पक्षमा आज पनि एक जोड़ा गोर्खा दम्पतिले आगन्तुकलाई जम्ले हात जोड़ी स्वागत गरिरहेका छन् । 

संस्कृतिले जातिको परिचय गराउँछ, धर्मले गराउँदैन। संस्कृति नै जातिको चिन्हारी हो भन्ने उक्ति लिएर यस पहाड़ी भेकमा कालेबुङको गोर्खा संस्कृति संरक्षण समितिले सांस्कृतिक आन्दोलन थालेर एउटा माइल खुट्टी कायम गरेको थियो । 

“हामीलाई निर्धो नसम्झ , पहाड़ कहिले झुक्दैन, छातिमा आँट छँदैछ , सागर कहिले सुक्दैन।" वीर गोर्खाका सन्तान भएर पनि युगौंदेखि अर्काको थिचोमिचो सहेर, बाहिरका मान्छे घरैभित्र पसेर हाँकी तिमीहरुको हक, अधिकार दिन्न भन्दा पनि उसैको पुच्छर समातेर हिँड़्ने स्वभावका गोर्खाको यो दह्रिलो भावना कालेबुङको दशैं महोत्सवमा देख्न र सुन्न पाइन्थ्यो । 

समुद्र सतहबाट झण्डै बाहसय पचास मिटर उचाइमा अवस्थित कालेबुङ जसका चरणलाई हरपल हरक्षण हिमनदी टिस्टाको हरियो सङ्गलो पानीले पूर्खाको आफ्नो रगत र पसिनाले सिर्जेको हरियालिभित्र पारी कञ्चनजङ्घा हिमालका छहारीमा आफ्ना पीरमर्का , वेदनाहरु लुकाएर पनि हाँसिरहेको शीतल र रमणीय शहर कालेबुङमा निश्चय नै आज दशैं महोत्सवका त्यो रमझम छैन तर जातीय संस्कृति र परम्पराको संरक्षणमा कालेबुङले एउटा इतिहास रचेको छ भन्नुमा अत्युक्ति नहोला! 

गोर्खा जातीय अस्तित्वको सुरक्षा र सांस्कृतिक सम्वर्द्धनको निम्ति सधैं अग्रपङ्क्तिमा रहने गोर्खा संस्कृति संरक्षण समितिका तत्कालीन अध्यक्ष भरतकुमार थापाले गोर्खापन  अनुसार भइरहेको समय (1996 अगस्ट महिना) मा कालेबुङको गोर्खा शक्ति थानको निर्माण कार्य भइरहेको बेला पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए 'गोर्खाल्याण्ड हुँदा गोर्खा संस्कृति र जाति पनि यस भूमिमा बाँचेको हुुनुपर्छ।' प्रत्येक गोर्खाले आफ्नो जात गोष्ठी , राजनैतिक सिद्धान्त आदि बिर्सेर गोर्खा जातिको गौरव बढ़ाउने प्रयासमा पुऱ्याउने आह्वान गर्दै तिनले भनेका थिए 'यो गोर्खा शक्ति थान भविष्यमा गोर्खा परम्परा र जाति चिनाउने एउटा गहकिलो माध्यम बन्ने छ।'

प्रत्येक गोर्खाको गर्वले छाती  फुलाउने त्यो दशैँ महोत्सव आज सम्झनामा मात्रै आलो छ। तरै पनि दशैँको बेला त्यो क्षणलाई याद गर्दा मात्रै पनि म आत्मविभोर हुन्छु।

सबैलाई दशैँको हार्दिक शुभकामना छ।

 

15 नोवेम्बर 2026, वर्ष:1, वेबाङ्क:5
@2026 collageonline.in. All right reserved



दशैँ र तिहारको हार्दिक शुभकामना


1 comment:

  1. Dipak Sharma,Kalimpong17 October 2026 at 08:22

    Oho yo lekh le purano jhajhalko aayo dashai mahotsav ko. Gairigaon, dhedo khayeko , nacheko birat fulpati shovayatra ani ragako maar haneko. Arun radaily jiu lai dhanyabad

    ReplyDelete