15 Oct 2026

अनुवाद

(ओडिया साहित्य जगतमा एक सुपरिचित नाम। उहाँ आफ्नो आञ्चलिकतामा सशक्त स्त्री-कथाकार तथा कवयित्री मात्र नभई एक कुशल ओडिया भाषानुवादक पनि हुनुहुन्छ। नारी मनोविज्ञानको विश्लेषण, सूक्ष्म बोधको अन्वेषण तथा बलिष्ठ कथाको आधारले उहाँका कथाहरूलाई फरक पहिचान दिलाउँछन्। जीवनवादी कथाकार भए तापनि पारमिताका कविताहरूले चेतना र मानसिकतालाई निकै प्रभावित पार्छन्। हिन्दी र ओडिया भाषामा कथा तथा कविता लेखनका लागि उहाँलाई धेरै पुरस्कारहरूबाट सम्मानित गरिसकिएको छ। हालसम्म उहाँका ७ कथा-सङ्ग्रह, ५ कविता-सङ्ग्रह र १४ अनुवाद-सङ्ग्रह प्रकाशित भइसकेका छन्।)
 
पारमिता षड़ङ्गी

ऐना

उनी को थिई

उनलाई सधैं म देख्थेँ

मेरो घरको भित्तामा टाँगिएको

ऐनामा

कहीँ चिने जस्तो

कहिले नचिने जस्तो

उनको मनको रित्तोपन भने

मलाई महसुस भए जस्तो

टुक्रनका निम्ति रित्ता

शब्दहरू आवश्यक छन्?

उनलाई म

ऐनामा हेरिरहन्थेँ

विश्वास अनि

अविश्वाससङ्ग .... पनि त्यति नै

फेरि भन्नुपर्ने कुराहरू

त्यो त त्यतिकै रहेथ्यो।

ऐनामा उनी यस्ती थिई

डाकमा नै नपठाइएको

कुमारी चिट्ठी झैँ

केही नपढ़ी, केही नबुझी

उनी भित्रका अभिलाषा

मेरो अनुभवले

अनुमान गरिरहेथ्यो।

के प्रतिबिम्ब पनि

रोमाञ्चित हुँदछ?

फेरि उसलाई मेरो दुःख

कसरी अनुभव हुँदछ

मेरा शब्दलाई कसरी हुँदछन्

खोजिरही आफ्ना कवितामा

मेरो मनको निरवतालाई

जब मेरो पर्दाको पछिबाट

एउटा नयाँ बिहान उदाउँछ

धेरै कुरा बुझ्ने किरण लिएर

उसँग पनि म हुँदछु

केही नयाँ सम्पर्कका तिर्खाहरू लिएर

मेरो घरको भित्तामा

टाँगिएको ऐनामा को थिए उनी

के म नै थिएँ....


(मूल ओड़िया कविता 'ऐना'-बाट सिद्धार्थ राईद्वारा नेपालीमा अनुदित।सिद्धार्थ राई नेपाली साहित्यका एक स्थापित अनुवादक, चित्रकार, कथाकार, कवि हुनुहुन्छ। उहाँका चारवटा कृति (दुईवटा मौलिक दुईवटा अनुवाद) प्रकाशित भएका छन्। उहाँका दुवैवटा मौलिक कृति अङ्ग्रेजीलगायत अन्य भाषामा अनुवाद भएका छन्।)



15 अक्टुबर 2026,वर्ष:1,वेबाङ्क:4
@2026 collageonline.in. All right reserved



दशैँ र तिहारको हार्दिक शुभकामना


1 comment: