व्यङ्ग्य

 


    (चतुरे माइलाको व्यङ्ग्य तिख्खर हुन्छ। व्यङ्ग्य लेखनमा उहाँको जीवनको अनुभव पूरै झल्किन्छ। उहाँको व्यङ्ग्य पढेर पाठकको अन्तर्मनमा चसक्क घोचिनु नै उहाँको व्यङ्ग्यको सफलता हो)


चतुरे माइला

चिया पसलको क्रान्ति र दुई सयको चिया-खर्च  

हाम्रो समाजमा एउटा बड़ो गज्जबको चरित्र पाइन्छ— ‘भर्चुअल क्रान्तिकारी र प्राविधिक भ्रष्टाचारी। यस्ता मानिसहरू चियापसलको एउटा कुनामा बसेर, देब्रे हातमा चियाको गिलास र दाहिने हातमा चुरोटको ठुटो समात्दै देशका ठूला-ठूला भ्रष्टाचारका काण्डहरूमाथि यसरी विमर्श गर्छन्, मानौँ देशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नै उनीहरू हुन्।

​"हेर्नुस् न ब्रो, यो देश त नेता र ठेकेदारले लुटेर खाइसके! पिच गरेको तीन दिनमै बाटो भत्किन्छ। पुल बनाउँदा बनाउँदै बीचैमा भाँचिन्छ। अरबौँको घोटाला छ यहाँ, जनताले कहिलेसम्म दुःख पाउने?"

​यी शब्दहरू सुन्दा लाग्छ, यी महाशयभित्र देशप्रेमको यस्तो ज्वाला बलिरहेको छ, जसले क्षणभरमै सारा ब्रह्माण्डका भ्रष्टाचारीहरूलाई जलाएर भस्म पारिदिनेछ। तर, विडम्बना! तिनै महाशय जब दिउँसो आफ्नो कार्यालयको कुर्सीमा गएर बस्छन्, तब तिनको देशप्रेमको ज्वाला एकाएक 'शत्रुघन् सिन्हाको खैनी' जस्तै सुनसान भएर निभ्छ। अनि शुरु हुन्छहाम्रो समाजको असली हाइपोक्रेसी (आडम्बर)-को चक्रव्यूह।

​हाम्रो समाजमा एउटा अलिखित नियम छ— "अरबौँ खाने भ्रष्टाचारी, सय-दुईसय खाने सदाचारी!"

​त्यही बिहान चियापसलमा फेसबुक लाइभ गरेर ठेकेदारलाई सराप्ने 'क्लर्क साब' दिउँसो आफ्नो फाँटमा पुग्छन्। एकजना सोझो सर्वसाधारण नागरिक आफ्नो सामान्य काम गराउन उनको टेबलमा आइपुग्छ।

​"सर, यो कागज अलि मिलाइदिनु न," सेवाग्राहीले बिन्ती बिसाउँछ।

​क्लर्क साब चश्माको माथिल्लो फेरबाट सेवाग्राहीलाई पुलुक्क हेर्छन्। उनको अनुहारमा अचानक यस्तो गम्भीरता छाउँछ, मानौँ सेवाग्राहीले उनलाई देश नै बेच्ने कागजमा हस्ताक्षर गर्न भनिरहेको छ।

​"हुँदैन भाइ, हुँदैन! यसमा त कानुनी जटिलता छ। तोक लागेर आए पनि तोकको '' मिलेको छैन, कतिवटा कोठा चाहर्नुपर्छ थाहा छ? आज त साब पनि मिटिङमा हुनुहुन्छ, भरे आउनुस् वा भोलि।"

​अब सेवाग्राहीलाई थाहा छ, 'भोलि' भनेको यो जुनीमा कहिल्यै नआउने दिन हो। उसले इशारा बुझ्छ र खल्तीबाट सुटुक्क एउटा कच्याककुचुक परेको दुई सयको नोट निकालेर फाइलको कुनाभित्र घुसार्छ र भन्छ, "ल न सर, चिया खानुहोला, अलि मिलाइदिनुस्।"

​त्यो दुई सयको नोट फाइलभित्र छिर्नेबित्तिकै क्लर्क साबको अनुहारमा मन्द मुस्कान छाउँछ। अघि भर्खरै पहाड़ जत्रो देखिएको 'कानुनी जटिलता' एकाएक साबुनको फिँज जस्तै बिलाएर जान्छ। गायब भएका साब पनि अचानक कार्यकक्षमै प्रकट हुन्छन् र पाँच मिनेटमा काम फत्ते हुन्छ।

​यो दृश्य देख्दा लाग्छ, हाम्रो समाजमा भ्रष्टाचारको पनि 'वर्गीकरण' गरिएको छ। पुल र बाटो बनाउँदा करोडौँ कुम्ल्याउनेहरू 'महापापी' हुन्, तर सर्वसाधारणको रगत-पसिनाबाट दुई सय रुपैयाँ 'चियाखर्च' लिनेहरू त केवल 'थकित कर्मचारी' हुन्, जसलाई अलिअलि ग्लुकोजको आवश्यकता परेको हो!

​हाम्रो आडम्बरको पराकाष्ठा तब देखिन्छ, जब यी दुई सय रुपैयाँ बुझ्ने क्लर्क साब बेलुका फेरि सोसियल मिडियामा एक्टिभ हुन्छन्। उनले भर्खरै कसैको गोजीबाट दुई सय रुपैयाँ 'चियाखर्च' को नाममा लुटेर आएका हुन्छन्, तर फेसबुकमा स्टाटस लेख्छन्:

"देशमा सुशासन नभएसम्म समृद्धि सम्भव छैन। भ्रष्टाचारीलाई खुलामञ्चमा झुण्ड्याउनुपर्छ! #StopCorruption"

​यस्तो स्टाटसमा फेरि उस्तै खालका अरू दस जना 'चियाखर्च' प्रेमीहरूले 'लाइक' 'शेयर' गर्छन्।

​यो कस्तो विडम्बना हो भने, हामीलाई आफूले गर्ने सानो गल्ती 'बाध्यता' लाग्छ र अरूले गर्ने गल्ती 'अपराध' लाग्छ। क्लर्क साबको तर्क हुन्छ, "के गर्नु, सरकारले तलब थोरै दिन्छ। महँगी बढ़ेर आकाश छोइसक्यो। नानीहरूको स्कूलको फिस तिर्नु पर्‍यो, रासनपानी किन्नु पर्‍‍यो। त्यसैले दुई-चार पैसा यसो चियाखर्च नलिए त कसरी बाँच्नु?"

​तर, तिनै क्लर्क साबले यो बिर्सिन्छन् कि, जुन ठेकेदारले पुल बनाउँदा कमसल सिमेन्ट प्रयोग गर्छ, उसको पनि आफ्नै तर्क होला— "मन्त्रालयका हाकिमलाई कमिसन बुझाउनु पर्छ, पार्टीलाई चन्दा दिनु पर्छ, लेबरको खर्च बढ्यो, नाफा नकमाए म कसरी बाँच्नु?"

​यदि बाध्यताकै नाममा भ्रष्टाचारलाई वैध मान्ने हो भने त देशको राष्ट्रपतिदेखि कार्यालयको पियनसम्म सबैका आफ्नै 'बाध्यता' छन्। फरक यति मात्र हो कि ठूला माछाले जाल नै निल्छन्, साना माछाले चाहिँ चारो मात्रै चोर्छन्। तर चोर्नु त चोर्नु नै हो नि!

​हाम्रो समाजमा घुस शब्द यति बदनाम भइसक्यो कि अब यसका अनेकौँ साहित्यिक र सांस्कृतिक पर्यायवाची शब्दहरू जन्मिएका छन्। कसैले पनि सिधै "मलाई घुस दे" भन्दैन। यो त कला हो, एउटा जीवन्त संस्कृति हो!

यी सबैमाझ ठूलो गल्ती त हामी साधारण जनताको पनि छ। सरकारी कामकाजमा अलि त ढिलो त हुन्छ नै, सरकारी प्रक्रिया छ त्यो प्रक्रिया त पूरा गर्नै पर्‍‍यो तर हामीलाई एकदिन पर्खिने संयम छैन। एक-दुई दिन पर्खिनु पर्छ’-सुन्यो कि गोजीमा हात पुगिहाल्छ-चियाखर्च लिनुहोस् न अलिक छिटो गरिदिनुहोस् हतार छ मलाई।बाघलाई मुखैमा मासुको चोक्टा पुर्‍‍याइदिदा, मासु नखाने बाघ त विरलै पाइएला। फेरि मुखैमा पुर्‍‍‍याइदिएको गाँस खायो भने बाघनै दोषी हो भनेर मान्न पनि अलिक सही ठहरिन्न।

त्यसैले अर्कोपल्ट कुनै कामकाजमा कार्यालयको बाबुले चियापानीको खर्चमाग्नुअघि नै तपाईँले गोजीमा हात हालेर हतार छ, चियाखाजाको खर्च लिनुहोस् नभन्नु भयो भने तपाईँ पनि भ्रष्टचारी नै ठहर गरिने छ।



13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1

No comments:

Post a Comment