सिनेमा

 

(अरूण कुमार रसाइली नेपाली पत्रकारितामा संलग्न एक वरिष्ठ पत्रकार हुनुहुन्छ। उहाँ सिनेमा/रङ्गमञ्चसित पनि जड़ित हुनुहुन्छ। चर्चित नेपाली चलचित्र दक्षिणा, साइत, कोसेली आदिमा उहाँले अभिनय पनि गर्नुभएको छ।)

अरूण कुमार रसाइली 

एउटा सशक्त आवाज
शेप अफ् मोमो

सिक्किमकी स्वतन्त्र चलचित्र निर्माता त्रिवेणी राईद्वारा निर्देशित र लिखित नेपाली भाषाको चलचित्र 'शेप अफ् मोमो' (Shape of Momo) पहाड़ी समाज, नारी अस्तित्व र पितृसत्तात्मक सोचमाथि बुनिएको एउटा जीवन्त र गम्भीर कलाकृति हो। बुसान र कान्स जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रशंसा बटुलेर हलसम्म आइपुगेको यो फिल्मले परम्परागत नेपाली सिनेमाको बनिबनावट ढाँचाभन्दा धेरै फरक र यथार्थपरक स्वाद दिन्छ।

​फिल्मको कथा मुख्य पात्र विष्णु (गौमाया गुरुङ) को वरिपरि घुम्छ। दिल्लीमा आफ्नो जागिर छोड़ेर उ सिक्किमको आफ्नो पैतृक गाउँ नन्दोक फर्कन्छे। घरमा तीन पुस्ताका महिलाहरू मात्र छन्—उसकी हजुरआमा, आमा (पशुपति राई), र गर्भवती दिदी (श्यामश्री शेर्पा)।

​बाहिरबाट हेर्दा हिमाली समाजमा लैङ्गिक समानता बढ़ी देखिन सक्छ, तर घरभित्र छिरेपछि विष्णुले महसुस गर्छे कि पितृसत्ताको रूप फरक होला, तर त्यसको तित्तोपन उस्तै छ। उ आफूलाई 'शहरिया आधुनिक र शिक्षित' ठान्दै परिवारलाई यो अदृश्य बन्धनबाट मुक्त गराउने प्रयासमा लाग्छे। तर, यो यात्रामा उसले गाउँको समाज मात्र होइन, आफ्नै सोच र वर्ग विशेषाधिकार सँग पनि जुध्नुपर्ने हुन्छ।

मो मो आफैंमा एउटा बलियो प्रतीक हो। समाजले महिलाहरूलाई एउटा निश्चित साँचो वा 'पर्फेक्ट शेप' मा बाँध्न खोज्छ। फिल्ममा विष्णुलाई मोमोको सही आकार बनाउन आउँदैन, र मुख्य कुरा—उसलाई त्यसको बाल मतलब पनि छैन। अर्कोतर्फ, उसकी आमा र दिदी समाजले के भन्ला भन्ने डरले नयाँ पुस्तालाई त्यही परम्परागत साँचोमा ढाल्न खोज्छन्।

​निर्देशक त्रिवेणी राई र सह-लेखक किसलयले विष्णुको पात्रलाई निकै इमानदार र सामान्य बनाएका छन्। उ विद्रोही त छे, तर कतिपय ठाउँमा उसको शहरिया अहंकार र वर्ग घमण्डले गर्दा उसले आफ्नी आमाले वर्षौंदेखि जोगाएर राखेको सामाजिक सन्तुलन बिगार्न खोज्छे। फिल्मले उसलाई 'शहरबाट आएकी मुक्तिदाता'-को रूपमा देवत्वकरण गर्दैन, बरु उसको आफ्नै अलमल र भ्रमहरूलाई पर्दामा उतार्छ।

गौमाया गुरुङले विष्णुको भूमिकामा उत्कृष्ट र जीवन्त अभिनय गरेकी छन्। उनको आक्रोश, असहमति र भित्री छटपटी अनुहारमा प्रस्ट देखिन्छ।

पशुपति राईले आमाको भूमिकामा सधैं झैं सन्तुलित र दमदार अभिनय गरेकी छन्। घर सुरक्षित राख्न पुरुषको उपस्थिति अनिवार्य ठान्ने उनको चरित्रले समाजको गहिरो कन्डिसनिङलाई देखाउँछ।

हजुरआमा र दिदीको भूमिकामा रहेका कलाकारहरूले पनि फिल्ममा उत्तिकै न्याय गरेका छन्।

​त्रिवेणी राईको निर्देशन निकै सूक्ष्म र अवलोकनमुखी छ। उनले मेलोड्रामा (चर्किएको रोदन वा संवाद) बिना नै भान्साका कुराकानी, सुन्तलाको बगानका दृश्य र छिमेकीसँगका असमझदारीहरूबाट ठूला सामाजिक मुद्दाहरू उठाएकी छन्। अर्चना घाङ्ग्रेकरको सिनेमाटोग्राफीले सिक्किमका घुम्ती सड़क, कुहिरो लागेका पहाड़ र घरका कुना-काप्चालाई यसरी कैद गरेको छ, जसले पात्रहरूको भित्री अशान्तिलाई ऐना देखाउँछ। मिखाइल मराकको पार्श्र्व संगीतले फिल्मको शान्त तर गम्भीर वातावरणलाई अझ बढ़ावा दिन्छ।

​फिल्सको सकारात्मक पक्षमा सिक्किमको स्थानीय संस्कृति र रैथाने नेपाली भाषाको प्राकृतिक प्रयोग, पितृसत्तालाई चर्को नाराबाजीमा होइन, दैनिक जीवनका मसिना बानीहरूमा खोज्ने प्रयास र पात्रहरूको यथार्थपरक र मानवीय चित्रणहरू हुन्।


​फिल्मको कमजोरीहरूमा​ फिल्मको सुस्त गति प्रमुख छ। वर्तमान व्यवसायिक वा मसला चलचित्र रुचाउने दर्शकलाई यो अलि 'अर्ट-हाउस' वा 'फेस्टिभल' टाइपको लाग्न सक्छ। देखाइएका कतिपय प्रतीकहरू जस्तै बिरालोको नाम 'आजादी' राख्नु अलि बढ़ी प्रस्ट वा सतही लाग्छन्। 


निष्कर्षमा यति नै भन्न सकिन्छ कि 'शेप अफ् मोमो' केवल सिक्किमको कथा मात्र होइन; यो आफ्नो पहिचान खोजिरहेका, परम्परा र आधुनिकताको चेपुवामा परेका हरेक दक्षिण एसियाली महिलाको कथा हो। यो फिल्मले दर्शकलाई हलबाट निस्किएपछि पनि सोच्न बाध्य बनाउँछ। नेपाली सिनेमामा मौलिक र गम्भीर कथा वाचन हेर्न चाहनेहरूका लागि यो एउटा मस्ट वाच (Must Watch) चलचित्र हो।

रेटिङ: ⭐⭐⭐⭐ (4/5)




13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1


No comments:

Post a Comment