कथा


(भारतीय नेपाली साहित्यका सशक्त स्रष्टा ध्रुव चौहान आधुनिक भारतीय नेपाली कथा, कविता र हास्य-व्यङ्ग्यका क्षेत्रमा एक स्थापित नाम हुनुहुन्छ। दार्जीलिङका रैथाने समाज, विशेष गरी चिया कमानका श्रमिकहरूको वास्तविक जीवन र उनीहरूका भोगाइलाई आफ्नो लेखनको मुख्य विषय बनाउनुहुने चौहान बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ। उहाँ मुख्य रूपमा कथाकार हुनुहुन्छ, तर कथाका साथै उत्तिकै मिठा कविता, गीत र नाटकहरू पनि उहाँले लेख्नुभएको छ।)

ध्रुव चौहान

छोरी

बीस-एक्काइस वर्षपछि म फेरि त्यो आँगनमा उभिएकी हुन्छु।

कौतुहलको केन्द्रमा थिएँ म।

उपस्थित सबैले मलाई यसरी हेरिरहेका थिए,मानौँ म कुनै टाड़ा देशबाट आएका पर्यटक हुँ। मेरो हरेक हाउभाउलाई मन लगाएर हेरिरहेका गाउँलेहरूका दुर्बिनजस्ता ती आँखाहरू।

आइपुगिस्?’-एक चिनारू लाग्ने अनुहारले मलाई सोध्छ।

मैले टाउको हल्लाएर हजुरभनेँ।

हातमा खदा थियो। मृतकको कोठामा पसेर लगाइदिएँ। सम्वेदनशीलता एकछिन् त्यहीँ उभिरहन्छु।

बाहिर निस्केँ। कसैले मलाई बस्न चियर दिन्छ।

लाश उठाउने बेला हुन्छ।

एकछेउबाट रोएको र सुकसुकाएको सुन्छु।

रुनु हुँदैन। आँसुले जानेको बाटो छेक्छ।‘- भन्दैछ कोही।

मेरो छेउको मान्छेले सुटुक्क मेरा आँखाहरूलाई चिहाउँछ। स-साना कुराहरूलाई सिमसारझैँ चिसा भइरहने मेरा आँखाहरू योपल्ट मरुभूमिझैँ सुख्खा र निर्मम थिए।

 000

जिन्दगीमा मेरी आमा कस्ती थिइ,थाहा छैन। मसित आमाको अनुहार मिल्थ्यो अरे, कसैले मलाई भनेको। बाउ थियो। सानी बहिनी थिई। टउवाजस्तो घर थियो।

म र बहिनी सानामा कतै जाँदैन थियौँ। दिदीबहिनी मिलेर घरमा भाँड़ा‌कुटी खेल्दै बस्थ्यौँ। मन परे स्कूल जान्थ्यौँ। नपरे दिनभरि बिन्दास खेल्थ्यौँ। कहिलेकाहीँ उ दोकाने हुने, म ग्राहक। कहिले उ ग्राहक, म दोकाने। पैसाको दु:ख थिएन। हाम्रो पैसाको बोट थियो। डिलको जवाकुसुमको पातहरूमा हाम्रो लेनदेन चल्थ्यो। बाहिर आँगनमा बोतलको टुक्राहरूमा खाना पाक्थ्यो। माटोको चामल। झारपातको सब्जी। म दुई वर्षले ठूली,धेरैजसो म नै आमा हुन्थेँ। तर यथार्थमा, बाउले पकाइदिए खान्थ्यौँ। नदिए भोकै बस्थ्यौँ।

बाउ दिनभरि मातिरहने। पैसा हुँदा हामीलाई रक्सी लिन पठाउने कि त गाउँबाट मातेर आएपछि भुइँमै ड्वाङ्ग परेर सुत्थ्यो। तास खेल्न पुग्ने। हारेर आएको दिन उ उकालो फर्केर कराउँथ्यो। गाली गर्थ्यो। अनि, त्यतिकै निदाउँथ्यो। अनि, हामी भोकलाई जित्थ्यौँ। दुई छोरीहरू पनि छन् भनेर उसको पितृमनले कहिल्यै सोचेन। बेला बेलामा तल्लो-माथिल्लो घरकाहरूले टिठ्याउँथे। बोलाएर खान दिन्थे।

पछि सुनेको, आमा बाउजस्तो थिइन अरे। पक्का आमाजस्ती कोमल र मायालु। परिवारको जिम्मेवारी वहन गर्न सक्ने बाठी र सिपालु पनि। जसोतसो चारजनाको जिन्दगीलाई आमा इञ्जिन भएर घिसार्दै थिइन्। बाउको रक्सी बोक्दा-बोक्दा आमाले पनि खान थाली। बिमार लाग्यो। उपचार पाइन। हामीलाई माथि लहरिन सहयोग गर्ने हाम्रो थाँक्रा असमयमा नै ढल्छ। यस्तोमा आफै त खुट्टा सम्हालेर हिँड़्न नसक्ने मत्थु बाउ कसरी साहारा बन्न सक्थ्यो र! हामी भुइँमा सकी-नसकी फैलिन थाल्यौँ।

आमा बितेपछि म र बहिनी झन् नजिक भयौँ। हामी अब बेग्लै तरिकाले खेल्ने भयौँ। उ आमा हुन्थी, म उ। उसको छेउमा बसेर म रोएजस्तो गर्थेँ। म बाउ हुन्थेँ। उ मलाई दोहोर्‍‍याउँदै घर ल्याएजस्तो गर्थी। आफ्नै नाटकको हामी नै कलाकार। हामी नै दर्शक पनि। तर, मज्जा आउने।

एकदिनको कुरा हो। बाउ घरमा थिएन। हामी उसैलाई पर्खिरहेका थियौँ। केही बेरपछि भाँड़ामा केही लिएर उ भान्साघरतिर पस्दै गरेको देख्यौँ। अनि,छिटो-छिटो भात पकाउन थाल्यो। हामी पनि उनको पछि-पछि पस्छौँ। केही बेरपछि बाहिर माथिल्लो घरकी बढ़ीको चर्को आवाज आउँछ –ए! बिष्णे पाकिराखेको मासु चोरेर ल्याइस्!

म र बहिनी अघिपट्टि थाल लिएर पर्खिरहेका थियौँ। बाउले त्यो अघिको भाँड़ालाई लुकाउने असफल प्रयास गर्छ। चोरी पक्रा पर्छ। बाउको केश पक्रेर बढ़ीले दुई फन्को घुमाई। भाँड़ालाई लात्तीले हाँनेर घोप्टाई र भन्न लागी-हामी पनि खान्नौँ। तँहरुलाई पनि खान दिन्न,साला अगतिहरू!बढ़ी कराउँदै बाहिर निस्की।

बाउले भात पस्कियो र, खरानीमा घोप्टिएका मासुका चोक्टाहरू हाम्रो भागमा हालिदिदैँ हातको इशारामा खाभन्यो। त्यहाँ कुनै पछुतो थिएन। अनुहारमा बदनामको छाँयासम्म थिएन। म र बहिनी पनि खरानी टकाटकाउँदै कपाकाप मासु-भात खान लाग्यौँ। साँच्चै,हामीलाई कति मासु खान मन लागेको थिएछ।

त्यो समयमा सरकारी स्कूलतिर बेला-बेलामा तोसरोटी र बिस्कुटहरू विद्यार्थीहरूलाई बाँड़िन्थ्यो। हामीलाई याद हुन्थ्यो कि भोलि स्कूलमा यी खानेकुराहरू बाँड़िने छ। बिहानै स्कूल पुग्थ्यौँ। बाह्र बजेसम्म ढुक्थ्यौँ। थापेपछि पार्ल्याक-पुर्लुक हेरेर टाप दिन्थ्यौँ।

पल्लो छिमेकी गाउँको रामकुमार सरले हामीलाई टिठ्याउँथे। स्कूल जान कर लाउँथे।

ऐ बिष्णे! यिनारलाई स्कूल पठा।सरले एकदिन बाउलाई भनेको सम्झन्छु।

आ... पढ़ेर के हुन्छ, राम सर हलो जोती माम।‘-बाउको जवाफ।

हलो जोती माम खाने योग्यको पनि हामीलाई बाउले कहाँ बनाउन सकेको थियो र!

बहिनी मभन्दा अलिक लुती। आमाले सातै महिनामा जन्माएकी अरे। पौष्टिक आहारको अभावमा उ अझ दुब्लिन थाली। हेर्दाहेर्दै उसको अवस्था गम्भीर हुन थाल्यो। कमानको दवैपानीभन्दा मेरी बहिनीको रोग ठूलो थियो। एकदिन साह्रो बिमार भई। अनि... उ पनि एक्लो पारेर सधैँको निम्ति हिँड़ी। म छात्ती पिटेर रून लागेँ।

गाउँलेहरू बहिनीलाई जङ्गल लान तयार गर्दै थिए।

मेरो बहिनीलाई बचाइदेऊ।मुठीभरि जवाकुसुमका पातहरू बोकेर मैले विलाप गरेको म अझ पनि भुल्न सक्दिनँ। यति चाहिँ ज्ञान थिएछ –पैसाले बहिनीलाई बचाउन सकिने छ।

मौका परे बाउले गाउँतिर लामो हात गर्न थालेको थियो। पक्रा परे कुटाइ खान अभ्यस्त। अब गर्दिनँभनेर हात जोड़्ने। रक्सीले स्वाभिमान जम्मै तारकतुरुक पारेपछि न बदनाम न लाज हुँदोरहेछ, आज बुझ्दैछु। कलेटी परेको ओँठ र डडे़को अनुहार। अचेल बाउ सम्झन्छु –यो तस्वीर आउँछ।

बहिनी बितेपछि म पूर्णतया एक्लो भएँ। खेल्ने साथीबिना छटपटाउन थालेँ म। एकदिन राम सरले दोहोर्‍‍याए, स्कूल पुर्‍‍याए। पहिलो दिन कुन्नि कस्तो लाग्यो। समय बित्दै जान्छ। साथीहरूसित झ्यामिन र घोलिन थाल्छु। पढ़न मन लाग्ने। सिक्थेँ। मनको एककुनामा बहिनी अझै बाँचिरहेकी भए पनि मभित्र अङ्कुरित हुँदैगरेको ज्ञानको नयाँ स्वाद र जिज्ञासाले उसलाई सकेभर राख्थ्यो। क ख ग’-हरू मेरा नयाँ साथीहरू बन्दैथिए।

इन्टरभल थियो, जतिसक्दो मलाई थाहा छ त्यो दिन। राम सरले मलाई अफिसमा बोलाएर एउटा अनौठो प्रस्ताव राखे-लक्ष्मी! तिमीलाई म मेरो घर लान्छु। पढ़ाउँछु। ठूलो मान्छे बनाउँछु। छोरी बनाएर राख्छु। तिम्रा दुई दाजुहरू पनि बहिनी पाएपछि खुशी हुनेछन्।

म एकछिन् अरकच्च परिरहन्छु।

कल्पनामा मेरो बाउ उभिन्छ। डराउँछु।

सरले मेरो डरलाई महसुस गरेछन् कि क्या हो,भन्छन्-म तिम्रो बाउलाई सम्झाउँछु।अनि, मुसुक्क हासे।

बाउसित सरले कुरा चलाएछन् । तर, उसले सिधै अस्वीकार गरिदिन्छ। सरले हार खाँदैन। त्यो प्रस्तावलाई बारम्बार दोहोर्‍‍याइरहँदा सशर्त बाउ राजी भएछ। एकदिन सर मलाई लिन आउनुभयो। विदाको बेला बाउको आँखा अलिकति रसाएको थियो। उसको ती आँखाहरूमा मेरो सुन्दर भविष्यको एउटा धुमिल नक्सा थियो-थिएन म भन्न सक्दिनँ तर उसले मलाई हिँड़ने बेलामा भक्कानिदैँ जोड़्ले जायति नै भन्यो। म रोएँ। सरले बाउको गोजीमा सुट्टुक्क केही हालेको देखेँ। वास्तवमा, त्यो पैसा नै थियो, रक्सी खाने। अहिले सोच्दैछु-बाउले मलाई रक्सीसित पो साटेको हो कि!

हिँड़्ने बेलामा मलाई एक्लै खेल्न छोड़िराखेकी मेरी बहिनीको त्यो आँगनलाई अन्तिमपटक नियालेर हेरेँ। उसको उधुम याद आउँछ। त्यहीँनेर उभेर उसले हातको इशारामा मलाई जाऊ जाऊभनिरहेको लाग्छ। प..र पुगिञ्जेल यस्तो लाग्छ-उसले मलाई आँखा झिमिक नगरी हेरिरहेकी छिन्।

म नयाँ घरमा आइपुग्छु।

प्रवासको बसाइँमा सम्म कुनै असुविधा नभोग्ने साइबेरिएन पंक्षीले जस्तो म यो नयाँ घरमा आफूलाई ढालिहाल्न सक्दिनथिएँ। दिनभर रूखको एउटा हाँगामा झुक्रिएर बसिरहने लाटकोसेरोका जस्ता मेरा असङ्ख्य सीमितताहरू थिए। पुराना पृष्ठभुमी र वातावरणको छाँयाले म यहाँ धेरैदिनसम्म असहज भइबस्छु। अनुशासनसफाई र लेखपढ़को जञ्जालमा म बिस्तारै फस्दैगरेको हुन्छु। बेला-बेलामा मत्थु नै भए पनि बाउको याद आउने। खेलीहुर्की बड़ेकी त्यो आँगनतिर कुदुँ-कुदुँ लाग्ने विचारले मेरा  पखेटाहरू एकहोरो फटफटाइरहने। मेरो आकाशबाट मलाई वञ्चित गर्ने ती सबैसित म भित्रभित्रै रिसाउँथेँ।

सानैदेखि अलिक विद्रोही प्रकृतिको भएकी केटी म। तर, यो घरको प्रेमको डोरीले यसरी बाँध्योँ मलाई कि विगतका समयतिर झर्ने आफ्ना ती भिरहरूलाई विस्तारै भुल्न थालेँ मैले। मभन्दा दुई-तीन वर्षहरूले मात्र जेठा दाजुहरूसित स्कूल जान्थेँ। पढ़थ्यौँ, खेल्थ्यौँ र रमाउँथ्यौँ। दाजुहरूबिच मसित खेल्ने होड़ चल्थ्यो।

एकदिनको कुरा हो।

अपराह्नको समय घरमा केही मानिसहरू भेला भएका थिए। उनीहरूमा दुई बूढ़ाहरूले सेतो लुगा लगाएका थिए। टाउकोमा पनि सेतो फेटा थियो। ओँठमा काला-खैरा गन्न सकिने केही जुँघाहरू थिए।

आमालाई सोध्छु।घरको पूजा,तँ आजदेखि हाम्रो कुलमा पस्छस्।‘-भन्नुहुन्छ। म कुल भनेको बुझ्दिनँ।

नयाँ लुगा लगाएर म चिटिक्क भएको थिएँ। कोठामा एउटा सानो थानजस्तो बनाइएको थियो। त्यसको चारैतिर बाँसको पातसितको हरिया हाँगाहरू गाड़िएको। अनि, त्यसमा केही सेता र राता मसिना लुगाहरू हल्का बाँधिएका। फलफूल, चन्दनअछेता र धुप अनि रक्सीको बोतल छेउ खुट्टा बाँधिएको एउटा कुखुरा पनि थियो,जो घरिघरि उड़्ने प्रयास गर्‍‍थ्यो,म जस्तै।

मलाई त्यहाँ राखियो।

अघिको एक वृद्ध मान्छेले मन्त्र फलाक्यो र अछेता फुक्दै चारैतिर छर्क्यो।

आजदेखि यो केटी हाम्रो कुलकी केटी हुँदैछिन्। यसमा कसैको आपत्ति र सोध्नु छ भने अहिले नै भनिहाल्नू। कसैको केही भन्नु छ?’-वृद्धले सबैलाई हेर्दै सोध्छ।

यो नानीको परिवारपट्टिको पनि मनसाय बुझ्नुपर्ने हो। पछि कसैको लाखदाग नलागोस्।‘-एक अधबैँसे मान्छेले उठेर करायो।

त्यसको जिम्मा म लिन्छु।‘-आफ्नो छात्तीमा आफ्नै हातले हल्का हिर्काउँदै सरले भन्छ। सबै चुप्प लाग्छ।

, तेसो भए हात उठाएर अहिले नै छिनाफाना गरौँ है!’-वृद्धले चिम्से आँखा झिमिक-झिमिक गर्दै भन्छ।

पाँचवटा हातहरू उठ्छन्।

अहिले बुझ्दा पाँच पञ्चको थिएछ त्यो।

सरले शान्त भएर वृद्धतिर हेर्दै फेरि भन्छ-ल है माङ्गपा! केटी सानी छ। कुरा बुझेको छैन होला।एकपल्ट उसलाई पनि सोधौँ है।

तिमी खुशी छौ?’-सोध्छ।

म हाँस्दै टाउको हल्लाउँछु। स्वीकृति हो कि अस्वीकृतिको मलाई पनि थाहा हुन्न।

वृद्ध माङ्गपाले हातमा रक्सी उठाएर आफ्नो कुल र पितृहरूलाई चड़ाउँछन्। फेरि मन्त्र फलाकिन्छ। धुपको गन्ध र धुवाँले यो अनुष्ठानलाई अझै विशेष बनाउँछ। बिचमा टपरीमाथि राखेको दियो स्थिर बलिरहेको थियो। ती वृद्धले छर्किएका रक्सीका थोपाहरूले मलाई हल्का भिजाउँछन्। अनि, काँम्दै छेउको कुखुरा च्वाट्टै पारेर थानतिर छर्कन्छन्। म जिरिङ्ग हुन्छु।

अब नानी तिमी यो घरकी छोरी भयौ। तिमीलाई कसैको आँखा नलागोस्। दुश्मन नलागोस्। यो घरलाई आफ्नो मान्नु। मैले कुल देउतासित बलबिन्ती मागिदिएको छु।‘-भन्दै उनले टाउकोमा हात राख्छन्।

आमाको काखमा टाँसिएर बसेको म। आजदेखि तँ हाम्री छोरी भइस्।‘- आमाले मलाई काखमा राखेर स्नेह्पूर्वक भनी।

यसरी त्यो दिन मेरो अर्को जन्म हुन्छ। म लक्ष्मी गुरुङ्गबाट लक्ष्मी राई भइसकेको हुन्छु।

 ooo

घण्टी हरायो,घण्टी हरायो.......

हो! एकदिन हाम्रो स्कूलको घण्टी बज्दैन। स्कूलको आफिसबाटै हाम्रो बेल चोरी भइसकेको हुन्छ। शङ्काको सुँइ सिधै मेरो बाउतिर नै घुम्छ। सरहरू हतारहतार मेरो पुरानो घरतिर कुद्छन् । गाउँलेहरू पनि घरको आँगनमा भेला भइसकेका थिएछन्। धन्न, घण्टीको खुट्टा नलागिहालेको अवस्था। मेरो बाउको सिरानीमनिबाट त्यो उद्दार हुन्छ।

हामीले कुट्नु पनि के कुट्नु, छोइपासोजस्तो मान्छेलाई। पुलिसमा नै दिनपर्छ।‘-कसैले कराउँछ।

हो! हो! हो!’-समर्थन बड़्छ।

बाउ कुनामा काम्दै बसिरहेको थियो। अपराधबोधको कुनै झलक थिएन। तर,धेरै डराएको अनुहार। रक्सीले खाइसकेको त्यो शरीर।

पुलिसको डर। मायालाग्दो त्यो कम्पन। सबै मिलाएर उ धेरै मायालाग्दो थियो। जीवनमा पहिलोचोटी उसको साह्रै माया लाग्छ। जे भने पनि म उसको आफ्नै छोरी थिएँ!

भोलिपल्ट हल्ला हुन्छ-विष्णे गाउँमा छैन।

000

समयको हरेक तितामिठा आभास बोकेर जिन्दगी गुज्रने क्रम नरोकिने रहेछ। दशौँ श्रेणीको परीक्षा पास गरेर दाजुहरू भटाभट पल्टन लाग्छन्। म पनि दाजुहरूकै पछिपछि परीक्षाको तयारीमा लाग्छु। अब म मेरो संसार नै अर्कै भइसकेको थियो। व्यावहारिकताले ग्वाम्म छोपेपछि भावनाहरू आफै गुम्सिँदारहेछन्। तर, मात्नै नै भए पनि बाउको धुमिल अनुहारले भने बेलाबेलामा मलाई डिस्टर्ब गर्‍‍थ्यो। बाउ हराएको पनि धेरै भइसकेको थियो। कसैले मर्‍‍यो भन्थ्यो। कसैले सिक्किममा त कसैले नेपालतिर देखेको हावादारी सूचनाले मेरो आन्तरिक मनलाई भने कताकता भत्काउँथ्यो। बहिनी सम्झन्छु-बाँचेको भए म जत्रै हुनेथियो।

दाजुहरू दुवैले बिहे गरे। नानीहरू पढ़ाउन सुविधाहेतु बजारमा नै दुवैले घर बनाए। म गाउँमा थिएँ। दाजुहरूलाई ढुक्क थियो। भाउजूहरूले पनि मलाई त्यतिकै माया गर्ने। बेलाबेलामा सबैजना घर आउने। विशेष दशैँतिहारमा घरको रौनक अर्कै हुने। घर धपक्क बल्थ्यो।

पापाले पनि मेरै भविष्य सोचेर समय नआई बिमारीको कारण देखाएर सर्भिसबाट रिटाएर्मेन्ट लिनुभयो। त्यो बेला मैले फाइनल परीक्षा राम्रो अङ्क लिएर पास गरिसकेको थिएँ। पापाले पढ़ाउने स्कूलकै गुरूमा भएँ म। घरको पूर्ण अधिकार मेरो काँधमा चड़्यो।

यो बिच मलाई पनि घरबाट बिहेको प्रेसर आउन थाल्छ। म हाँसेर टारिदिन्थेँ। मेरो र रोबर्टको सम्बन्धलाई मैले घरसित लुकाएर राखेको थिएँ। आफ्ना अस्तित्व-सङ्कट र सम्झौताको बारेमा पुन: घोत्लिन थालिसकेको थिएँ म। बिहेपछि मेरो फेरि जात फेरिन सक्छ। नाम पनि अर्कै हुनसक्छ। फेरि-फेरि म अर्को हुन पटक्क चाहदिनथिएँ अब। रक्सीसित साटिएको मान्छे म!-अनिंदो हुँदा मेरो अन्तर चेतनाले मलाई कुटिरहन्थ्यो। मेरो वास्तविक पहिचानले मलाई चिमोठिरहन्थ्यो। तर,मेरो यो घरपरिवारसितको सामिप्यता र कृतज्ञताको अर्को बलियो पक्ष पनि थियो मसित। रक्साहा बाउले ठिकै गरेकोजस्तो पनि लाग्थ्यो। आफैलाई लाग्थ्यो-कुनै त्यो महफिलमा भेला भएका मदहोश ती शराबीहरूको मुखबाट निस्कने गजलको खुबसुरत एक शेर हुँ म! विगतमा त्यहाँ त्यो रक्सी नहुँदो त म पनि यहाँ आगतमा शायद हुने थिइनँ।

गुरुङ्गकी छोरी म। राई भएँ। मेरो हुनेवाला उसको अर्कै जातसितै धर्मले पनि बिल्कुल फरक म। मेरो परिचय र अस्तित्वको सङ्कट त्यहाँ फेरि प्रबलरूपमा देखापर्ने आशङ्का। के छोरी मान्छे कारखानामा निर्मित त्यो सामानहरू मात्रै हो, जसलाई कम्पनीले जुनै नामको ठप्पा लगाएर बजारमा बेच्न सक्छ? के केटीमान्छेको कुनै फरक अस्तित्व छैन? बेलाबेला यस्तै सङ्कटपूर्ण कुराहरू उठाएर रोबर्टलाई विचलित बनाइरहन्थेँ म।

उ भन्थ्यो-यी नाम,जात र धर्म भनेको मान्छेको त्यो अस्थायी ठेकानाजस्तै मात्रै हो। आज अर्कै भोलि अर्कै। यसमा स्थायी अस्तित्व र पहिचानको कुरा जोड़िन्दैन। तिमीलाई पुरुष नै हुन भनेको छैन त!उ अझ जोड़्थ्यो-म तिमीलाई पानीजस्तो रङ्गबिनाको माया दिन्छु। लक्ष्मी! तिम्रो खातिर दुनियाँको हरेक शक्तिसित लड़्न तयार छु म।

उसको आँखामा आँसु थियो। साँच्चै, रोबर्टले मलाई अन्तरमनबाट चाहन्थ्यो। माया गर्थ्यो।

रोबर्ट र मेरो भेट हुन छोड़ेको थियो। एउटा सरकारी नौकरी पाएर उ टाड़ा पुगेको थियो। पत्रको आदानप्रदान भने यथावत नै थियो। उ प्रेमका मिठामिठा शब्दहरूमा सम्झना, माया र सपनाका मालाहरू उन्थ्यो। मलाई रिझाउँथ्यो। मेरो प्रत्युत्तरमा भने यी सबै कुराहरू गायब रहने। म हाम्रो प्रेमलाई वास्तवमा नै रङ्गहीन बनाउन चाहन्थेँ। उ प्राप्तिको कुरा गर्थ्यो। म त्यागको। यसरी हाम्रो विचार मिल्न छोड़िसकेको थियो। यसैबिचमा, उसको एउटा चिट्ठीले बिहेको प्रस्ताव लिएर आउँछ। म प्रत्युत्तर नै लेख्दिनँ। मेरो नाम लगातार चारवटा चिट्ठीहरू आउँछन्। मेरो अड़िकपनले जीवनमा आइपर्ने अप्ठ्याराहरूको उ बोध गराउँथ्यो। एक्लो जीवन कहालीलाग्दो हुन्छ भनेर सुर्ताउँथ्यो। पत्रहरू आउँथे। पढ़ेर च्यातिदिन्थेँ। म चाहन्थेँ, उसले मलाई भुलोस्। एकदिन फेरि मेरो नाममा उसको पत्र आउँछ। खोलेर हेरेँ। छोटोमा लेखेको यो पत्र अरू पत्रहरूभन्दा फरक थियो। पढ़न थाल्छु-

लक्ष्मी, तिमीले जित्यौ। म हारेँ। जित मुबारक।

हाम्रो प्रेम हार र जितहरूको कुनै अर्थ नभएको सम्झौताको यस्तो ठाउँमा पुगेको हेर्न चाहन्थेँ म, जहाँ तिमी म अनि म तिमी हुन सक्थ्यौँ। तर तिमीले यसलाई युद्धको मैदान बनायौ। जहाँ तिमीले जित्यौ, म हारेँ। घरबाट बिहे गर्ने एकहोरो प्रेसर थाम्न सकिनँ। म अब चाड़ै वैवाहिक जीवनमा बाँधिने छु। पत्रको प्रत्युत्तर त तिमीले लेख्ने होइनौ। लेखिहाले  भने पनि नलेख्नु ल। म यो ठाउँ छोड़ेर अन्यत्र स्थान्तरण हुँदैछु। तिम्रो त्यो स्वाभिमानले तिमीलाई जिन्दगीमा अपार खुशी मिलोस्।

शुभकामना।

परको मान्छे।

रोबर्ट

पत्र पढ़ेर धेरै दिनसम्म यो मनमुटु आफ्नो ठाउँमा रहेन। आफ्नो त्यो प्रेमको याद आइरह्यो। जेसुकै होस्, म पनि एउटा मान्छे हुँ। तर, खुशी यसमा थिएँ कि मैले जिन्दगीमा फेरिफेरि अर्को सम्झौता गर्न परेन। त्योभन्दा अझै ठूलो कुरा, उसले यो एक्लोको लागि दुनियाँको हरेक शक्तिसित लड़िरहन पनि परेन।

 000

एउटा साँझको कुरा हो। पानी परेर भर्खरै थामिएको थियो। म खिड़्कीबाट बाहिर हेर्दैछु। पारी गाउँका घरका धुरीहरूबाट चिसा धुवाँ निस्किरहेको छ मानौँ दिनभर कामबाट आएपछि थाकेको सुस्केरा हो। आकाशमा भरबिनाको वर्षे बादलहरू। कतिबेला बर्सिन पनि सक्छन् यिनीहरू। हेर्दाहेर्दै तलतिरबाट उठेर आएको सेताम्मे कुहिरोको रङ्ग चारैतिर घोटिन्छ। यहाँदेखि त्यहाँजसम्म पनि देख्न गाह्रो हुन्छ। म खिड़्की बन्द गर्छु।

बिष्णे....!’- बीस-एकाइस वर्षपछि यो नाम मेरो कानमा छ्यास्स पर्छ।

पापाले कान कम्ति सुन्नुहुन्छ। पल्लो कोठामा आमाले पापाको लागि मात्रै भन्दै गरेको त्यो आवाज मेरो लागि काफी थियो।

त्यो बिष्णेको लाश ल्याउँदैछ अरे। सिक्किमतिर थिएछ। सुनन फेरि, त्यसले मात्नु छोड़ेको पनि धेरै भइसकेको थियो रे....।‘-आमाले अरू पनि के के भन्दैथिई। म कोठाबाट फुत्त निस्केर भान्साघरतिर लाग्छु।

वास्तवमा, यो खबर अरूको लागि एउटा साधारण जानकारी मात्रै भए पनि त्यसले मेरो मनमा भने ठूलो आँधीबेह्री नै ल्याउँछ। बाउले रक्सी छोड़्ने थिएछ, तर समयमा किन छोड़ेन? यदि यस्तो हुँदो हो त आज मेरी आमा हुन्थी, बहिनी हुन्थी। अरूको जस्तो हाम्रो पनि मिलेको घर हुन्थ्यो। आफ्नो पहिचान र अस्तित्वको भित्री पीड़ा लुकाउँदै म हाँस्दै हिड़्न पर्ने थिएन। तर, यो घरले मलाई नयाँ जीवन दिएको छ। यति बेला रोबर्टले भनेको जस्तो यी नाम, जात र धर्म साँच्चै एउटा अस्थायी परिचय मात्रै लाग्छ। म पुरुष नै भइहाल्नु परेको त थिएन नि!

रातमा खाना खान सङ्गै बस्छौँ। हामी तीनैजनाको सामान्यता सधैँभन्दा धेरै बेसी हुन्छ। यथार्थलाई अभिनयले जित्दै गरेको एउटा असामान्य स्थिति। हामी आपस्तमा केही त लुकाउँदै थियौँ।

रातभर राम्रो निदाउन सक्दिनँ म। शायद आमा-पापा पनि सञ्चोले सुत्न सकेनन् । त्यो अदृश्य आँधी यता पनि थियो, उत्ता पनि। बिहान सधैँभन्दा ढिलो उठ्छु।

सङ्गाल्छु आफैलाई। रातभरि भत्केको मन। अनुहारले कतै पोल खोलिदेलान् कि भनेर सतर्क छु। मेरा व्यग्रता र उदासीलाई म आमा-पापाबाट लुकाउन चाहन्थेँ ताकि उहाँहरूको मन पटक्क नदु:खोस्। तर, अघिदेखि मेरो मानसिक सन्तुलन र अभिनयलाई छेउबाट नियालिरहेकी आमा मेरो छेउ उभिन्छन्। म डराउँछु।

 जे भए पनि तेरो जन्म दिने बाउ हो। जा एकपल्ट मुख हेरेर आइज।‘- भन्दा आमाको आँखामा आँसु देख्छु। पापा पनि आएर मेरो कपाल सुम्सुमाउँदै थिए।

तपाईँहरू नै मेरो आमाबाउ हो। म आज जे छु तपाईँहरूको कारणले नै हो। पापाले मलाई त्यो हिलोबाट टिपेर नल्याएको भए म यो संसारमा हुने पनि थिएन होला। त्यो निष्ठुरी मान्छेको मुख हेर्नु छैन मलाई।‘-भन्दै म त ग्वाँग्वाँ पो रोएछु।

छोरीको यो सबै भाग्यको खेल हो। यस्तो हुनुथियो, भयो। यो नसोच, तँ त्यहाँ जाँदा हामी रिसाउँछौँ। मन दुखाउँछौँ। तँ त हाम्री छोरी होस्।‘-दुईपल्ट प्याट-प्याट हिर्काउँदै भन्छन्।

पापालाई अङ्गालो हालेर म फेरि बेस्सरी रून्छु।

'गुरूमा पनि यसरी रून्छ र!’-स्थिति सहज बनाउन पापाले ठट्टा गर्छन्।

उकालो हेर्छु। हिजसम्म धुमिल र बोझिल लाग्ने ममाथिको त्यो आकाश। आज कसैले फुर्सदमा मन लाएर पुछेको जस्तो। छेउकुना सफा र टलक्क, तिहारमा आमाले मस्काएकी ताँबाको ग्रागो जस्तो। अनि, छेउमा-दिनको घाम र रातको जून जस्तो एक जोड़ी दम्पत्ति।

00000


13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1

No comments:

Post a Comment