(मिङ लिवाङ @ मिन सुब्बाले लेखनको प्रारम्भिक कालमा व्यङ्ग्य लेखेता पनि पछिल्ला दिनहरूमा उहाँको कलम धेरैजसो कथा लेखनमा चलेको छ। उहाँका सातवटा कृति प्रकाशित भइसकेका छन्। उहाँ कोलाजअनलाइनका प्रबन्धक पनि हुनुहुन्छ। उहाँका अरू कथा पढ़नको निम्ति यो लिङ्कमा क्लिक गर्नुहोला- www.minsubba.com
एउटा सुन्दर पहाड़ी गाउँ-कुइरेडाँड़ा-जहाँ सधैँ कुहिरो र घामको लुकामारी चलिरहन्थ्यो। त्यही गाउँको एउटै आँगनमा दुईजना साथीहरू हुर्किए— बिरे र डम्बर। बाल्यकालमा उनीहरूका सपनाहरू ती पहाड़का टाकुराहरू जत्तिकै अग्ला थिए, तर समयको गतिसँगै दुवैको बाटो फरक मोड़ियो।
बिरे अलि महत्वाकांक्षी थिए। उनी देशको सेवा गर्ने र बाहिरी संसार हेर्ने सपना बुन्थे। युवावस्थामा पुग्ने बित्तिकै उनी भारतीय सेनामा भर्ती भए। उनी बिरेबाट बिरबहादुर भए। ३७-वर्षसम्म उनले देशको विभिन्न कुनामा कठिन र गौरवपूर्ण सेवा गरे। ३७-वर्षपछि जब उनी सेवानिवृत भए, उनको मन फेरि आफ्नै पुर्ख्यौली पहाड़मै फर्कियो। उनले आफ्नो पेन्सन र कमाएको पैसाले आफ्नो पुर्ख्यौली जग्गामा एउटा भव्य र आधुनिक होमस्टे बनाए।
तर, वर्षौंसम्म जागिर खाएकाले उनलाई व्यापार र व्यवस्थापनको खासै अनुभव थिएन अनि सेवानिवृतपछि अझै शारीरिक र मानसिक दु:ख-कष्ट गर्ने उनको इच्छा पनि थिएन। त्यसैले उनले त्यो होमस्टे शहरका एकजना ठूला व्यापारीलाई लीजमा सुम्पिदिए। लीजको बदलीमा उनले एकमुष्ठ ठूलो रकम पाए। त्यो व्यापारी टाढ़ो शहरमा बस्थ्यो, त्यसैले उसले बिरेलाई नै मासिक पारिश्रमिक दिएर त्यहाँको हेरचाह गर्ने 'केयरटेकर' बनायो। अचम्मको कुरा के भयो भने, आफ्नै मिहिनेतले बनाएको घरमा उनी मालिक होइन, कर्मचारी जस्तै भए। होमस्टेको आँगन छेउछाउ आफुखुशीले उसले केही गर्नै पाउँदैनथिए। केही गरे, घरमै बसी-बसी सी.सी.टी.भी.-मा हेरेर मालिकले हिसाब-किताब मागिहाल्थ्यो। हिसाब दिन नसके उ रिसले बर्बराउन थाल्थ्यो अनि भन्थ्यो-म लीज कसरी तिर्नु। अझ त्यसमाथि जब त्यो शहरको व्यापारी आफ्ना साथीभाइ वा परिवारसित कहिलेकाहीँ त्यहाँ आउँथे, त्यतिबेला बिरेले उनीहरूको सेवा-चाकरी गर्नुपर्थे।
अर्को तिर, डम्बर गाउँ छोड़ेर कतै गएनन्। उनी त्यही पहाड़को माटोमा भिजिरहे। शुरुमा उनीसँग धेरै पैसा थिएन। मिहिनत गरे, दु:ख गरे र उसले आफ्नो पुरानो घरको एउटा सानो कोठा खाली गरेर साधारण होमस्टे शुरु गरे। शुरुका दिनहरू गाह्रो थिए, तर उनी आफै पाहुनाको स्वागत गर्थे, आफै लोकल खाना पकाउँथे र पाहुनालाई पहाड़ी संस्कृति बुझाउँथे।
बिस्तारै-बिस्तारै उनको आतिथ्य सत्कारको चर्चा फैलियो। पहाड़ी खानपान, संस्कृति र रहनसहनप्रति आगन्तुकहरू आकर्षित हुनथाले। कमाएको पैसा अलि-अलि गर्दै,थप्दै, आज डम्बरको त्यही पुरानो घरमा चारवटा सुन्दर र सुविधायुक्त कोठाहरू छन्। उनी आफ्नो होमस्टेको आफै मालिक हुन्, जसलाई उनी आफै गर्वका साथ चलाउँछन्।
एउटा कड़ाकड़ी चिसो साँझ, दुवै पुराना साथीहरू डम्बरको होमस्टेको आँगनमा आगो ताप्दै बसेका थिए -अलिअलि चऱ्याप चुरुप तान्दै।
बिरेले लामो सुस्केरा हाल्दै भने, "हेर त साथी डम्बर, मैले यति लामो वर्षसम्म देशको सेवा गरेँ, यत्रो ठूलो बङ्गला जस्तो होमस्टे बनाएँ। तर विडम्बना! आज म आफ्नै घरमा अरूको नोकरी गरिरहेको छु। शहरबाट मालिक आउँदा मैले 'हजुर, बाबु' भन्दै चिया पुर्याउनुपर्छ। लीजको पाएको आधाभन्दा बेसी रकम पनि कता गयो कता कामै लागेन।"
डम्बरले मुस्कुराउँदै बिरेको काँधमा हात राखे र भने, "बिरे साथी, तिम्रो त्याग र सेवाको म सधैँ कदर गर्छु। तर व्यापार र स्वतन्त्रता फरक कुरा हुन्। मेरो घर सानो छ, कोठाहरू चारवटा मात्र छन्, तर यहाँ आउने पाहुना मेरा हुन्, कुनै व्यापारीका होइनन्। म यहाँ कसैको नोकर होइन, आफ्नै साम्राज्यको राजा हुँ।"
त्यस रात बिरेले बुझे कि, सफलता भनेको ठूलो सम्पत्ति वा महल मात्र होइन रहेछ, बरु आफ्नो माटोमा आफ्नै शर्तमा बाँच्न पाउनु र आत्मसम्मान पाउनु नै वास्तविक सुख रहेछ र यो लीजको मियाद सकिएपछि उनले आफ्नो होमस्टे फेरि कसैलाई लीजमा नदिने र दु:ख-कष्ट सहेर भए पनि आफै चलाउने निधो गरे। यसो डम्बर लाई हेरेको, उ त बात मार्दा-मार्दै अघि नै भूइँमा लड़ेर ग्वाँर्र-ग्वाँर्र घुर्दै सुतिसकेछ-सन्तुष्टिको गहिरो निन्द्रामा।

No comments:
Post a Comment