15 Oct 2026

नवाङ्कुर



(रिचाबेल राई कालेबुङको सन्त फिलोमिना कन्या उच्च माध्यमिक विद्यालयकी भूतपूर्व विद्यार्थी र वर्तमान कालेबुङको सरकारी महाविद्यालयको नेपाली साहित्यकी विद्यार्थी हुनुहुन्छ। उहाँ प्रकृति, फूल र मानवीय भावनाबाट प्रेरणा लिएर कविता लेख्न रूचाउनुहुन्छ।)

 
रिचाबेल राई

कवि किन लेख्छ?


के ऊसित उत्तरहरू धेरै भएर हो  

ऊ त आफ्नै आवाज खोजिरहेको हुन्छ। 

उसले कागजलाई मन र कलमलाई धड्कन बनाइदिन्छ।

कवि लेख्छ, 

किनकि मौनताको पनि एउटा भाषा हुन्छ। 

कविले फूल मात्र होइन, काँड़ाको पीड़ा पनि लेख्छ।

कविले उज्यालो मात्र देख्दैन, 

अँध्यारोभित्र आशाको सानो ज्योति पनि देख्छ। 

उसले धर्तीको सुस्केरा आकाशको वेदना 

आफ्नै छातीभित्र महसुस गर्छ।


कवि लेख्छ, 

किनकि ऊ प्रेमको भाषाले 

संसारका सबै घाउहरू सुकाउन चाहन्छ। 

प्रेममा डुबेर उसले शब्दहरूलाई सुवास दिन्छ,

जहाँ घृणाका पर्खालहरू भत्किन्छन् 

र टाढ़िएका मनहरू फेरि नजिकिन्छन्।


ऊ समाजको भीड़मा 

पाखा लगाइएकाहरूको पहिचान बन्छ, 

बोल्न नसक्नेहरूको जिब्रो बन्छ।


जब सारा संसार मौन हुन्छ 

र मानिस आफ्नैभित्र एक्लो हुन्छ, 

तब कविता नै उसको पहिलो साथी बन्छ।


कवि लेख्छ, 

किनकि समयले धेरै कुरा बिर्सन्छ,

तर कविताले ती सबैलाई 

आफ्नो काखमा सुरक्षित राख्छ।


कविका शब्दहरू मसीले होइन, 

अनुभवले लेखिएका हुन्छन्। 

हरेक हरफमा चोट, सपना

र फेरि उठ्ने साहस लुकेको हुन्छ।


कवि त एक दिन माटोमा विलीन हुन्छ, 

तर भावनाले भरिएका उसका अक्षरहरू 

युगौँसम्म बाँचिरहन्छन्।


त्यसैले, "कवि किन लेख्छ?" भन्ने प्रश्नको 

शायद कहिल्यै अन्तिम उत्तर भेटिएला।


तर कवि लेख्छ.

मानिसलाई मानिससँग, 

मनलाई मनसँग, 

र जीवनलाई आशासँग 

फेरि एकपटक जोड़्न।


(पुनश्च: लेखनमा रूचि हुने नवपुस्ताको लागि विशेष गरी विद्यार्थीहरूको लागि यो स्तम्भ 'नवाङ्कुर' तयार पारिएको हो। हामी विद्यार्थी र नवयुवाहरूलाई बिना कुनै सङ्कोच लेख्न, आफ्ना विचारहरू साझा गर्न र आफ्नो सिर्जनशीलता व्यक्त गर्न हार्दिक प्रोत्साहन गर्दछौँ। लेखनले नवयुवा र विद्यार्थीहरूमा आत्मविश्वास, कल्पनाशीलता, र आफू अनि आफ्ना वरपरको संसारलाई अझ गहिरोसँग बुझ्न मद्दत गर्दछ भन्ने हाम्रो अड़ान छ। हामी शिक्षकहरूलाई पनि आफ्ना विद्यार्थीहरूलाई लेख्न अभिप्रेरित तथा मार्गदर्शन गर्न र उनीहरूलाई आफ्ना विचारहरू व्यक्त गर्ने अवसर प्रदान गरिदिन अनुरोध गर्दछौँ।) 



15 अक्टुबर 2026, वर्ष:1, वेबाङ्क:4
@2026 collageonline.in. All right reserved


दशैँ र तिहारको हार्दिक शुभकामना


11 comments:

  1. सुन्दर रचना।। निकै सुन्दर अभिव्यक्ति।।
    यस्तै लेखहरू आगामी दिनहरुमा पनि पढ्न पाउँ।।

    उज्ज्वल भविष्यको कामना ।।

    ReplyDelete
  2. Very well written Richabel . Proud of you . You have a bright future ahead 🫶

    ReplyDelete
  3. Such a wonderful lines proud of you🤍

    ReplyDelete
  4. Proud of you sathi🌻

    ReplyDelete
  5. धेरै राम्रो कविता। एक कवि जीवनको भावनात्मक विश्लेषण। उत्तम अनि मन छुने लेख। सधैं यसरी नै कलम चलिरहोस्। नयाँ नयाँ कविताहरू पढ्न पाईरहोस।

    ReplyDelete
  6. "कवि त एक दिन माटोमा विलीन हुन्छ,

    तर भावनाले भरिएका उसका अक्षरहरू

    युगौँसम्म बाँचिरहन्छन्।"

    सुन्दर ढंगले लेखिएको कविता जहाँ तपाईंले हामीलाई बताउन खोज्नुभएको छ कि कविले किन कविता लेख्छन् | 🤩

    ReplyDelete
  7. The way you have written is so rare to see
    And beautiful yet touching lines
    ♥️

    ReplyDelete
  8. अति उत्तम साथी हजुरको कविता "कवि किन लेख्छ?" धेरै उत्कृष्ट भएको छ। हजुरले उक्त कविताको माध्यमबाट भन्न खोज्नु भएको छ कविको कल्पना शक्ति साँच्चै अद्भुत हुन्छ जहाँ सामान्य आँखाले दृश्य मात्र देख्छ, त्यहाँ कवि मनले भावनाको एउटा सिङ्गो संसार सिर्जना गरिदिन्छ। ✍️🌹 ,

    ReplyDelete
  9. आगामी दिनमा पनि यस्तै सुन्दर कवितात्मक अभिव्यक्तिहरु पढ्न पाउँ।। कविलाई लचेप्रै बधाई छ। कलम नरोकियोस्।

    ReplyDelete
  10. शब्धहरूको उचित प्रयोगले यो कवितामा मिठास ल्याएको छ धेरै असल कविता पढ्न मनलाई खुसी लाग्यो !!

    ReplyDelete
  11. राम्रो लाग्यो, कविता।

    ReplyDelete